Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा गठबन्धनः एउटै चुनाव चिह्नमै कसरत

हाम्रो कोशी आवाज
बैशाख २ २०७९, शुक्रबार
धरानमा गठबन्धनः एउटै चुनाव चिह्नमै कसरत

धरानः धरानमा स्थानीय तहको निर्वाचनमा गठबन्धनले तालमेल गर्ने भएसँगै एउटै चुनाव चिह्नबाट चुनाव लड्ने तयारी थालेका छन् ।
एउटै चुनाव चिह्नबाट उम्मेदवारी दिने र त्यसैबाट चुनाव लड्ने तयारीमा रहेका दलहरुको भागबण्डाका विषयमै कुराकानी मिल्न सकेको छैन ।
नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले एउटै चुनाव चिह्नबाट चुनाव लड्ने बताएपनि यो विषय भने नटुङगिएको नेपाली कांग्रेसका धरान नगर सभापति श्याम पोख्रेलले जानकारी दिए । ‘एउटै चुनाव चिह्नबाट चुनाव लड्ने विषयमा सबैले एकखाले जनाउ दिइसकेका छन् तर यो विषयबारे निर्णय भइसकेको छैन’, उनले भने, ‘केहीदिनपछि छलफल गरेर यो विषय टुङ्ग्याउँछौं ।’
एउटै चुनाव चिह्नबाट निर्वाचनका जानका लागि कानुनी जटिलता रहेको र त्यस विषयमा समेत छलफल चलिरहेको उनले जानकारी दिए । ‘यसको कतिपय कानुनी जटिलता पनि देखिन्छ कि भन्ने हो’, उनले भने, ‘त्यतिबेला के गर्न सकिन्छ भनेर नै छलफल चलिरहेको छ ।’
मेयर, उपमेयर, वडाध्यक्ष जुन पार्टीको हुन्छन् सोही आधारमा चुनाव चिह्न रहने उनले जानकारी दिए । ‘कांग्रेसको वडाध्यक्ष कोही उठे कांग्रेसकै चुनाव चिह्न, माओवादीका कोही वडाध्यक्ष उठे उनीहरुकै चुनाव चिह्न र अन्य दलले वडाध्यक्ष उठाए सोही आधारमा चुनाव चिह्न रहनेछ ।’ उनी भन्छन् ।
यसअघि नै काङ्ग्रेसहितको अन्य दलले ६०–४० को आधारमा वडा तहमा चुनाव लड्ने जनाएका छन् । ‘विशेषतः वडामा ६०–४० का आधारमा भागबण्डा गर्ने विषयमा लगभग सहमति भइसकेको छ’, उनी भन्छन् ।
धरानमा कांग्रेसले मेयरसहित १० वटा वडाभन्दा बढी दावी गर्दै आएको छ भने जनता समाजवादीले तीन वडा, माओवादीले ५ वडा दावी गर्दै आएको छ । धरानमा कांग्रेसबाट तिलक राई, किशोर राई, उमेश थापा, माओवादीबाट किरणकुमार राई, अइन्द्रविक्रम बेघा साथै उपमेयरमा गंगा पौडेल बराल, चेतना श्रेयङको दावी छ । यस्तै, जनता समाजवादीले पनि उपमेयरमा दावी गर्दै आएको छ ।
२०७४ मा मेयर जितेका तारा सुब्बाको निधन भएपछि उपनिर्वाचन हुँदा कांग्रेसका तिलक राई निर्वाचित भएका थिए । मेयर पदमा निर्वाचित भएका तिलकले २६ हजार ७ सय ९ मत ल्याए भने तत्कालीन नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याए ।
मेयरमा निर्वाचित तिलक राई २०७४ सालको चुनावमा एमालेका तारा सुब्बासँग ४ हजार ८ सय ७३ मतले पराजित भएका थिए । अघिल्लो चुनावमा १६ हजार १ सय २ मत पाएका तिलकले उपनिर्वाचनमा बाजी मारे ।
अघिल्लो स्थानीय निर्वाचनमा उपमहानगरका २० वडामध्ये १४ वडा एमालेले जितको थियो भने ५ वटामा कांग्रेस र एकमा माओवादी केन्द्र विजयी भएको थियो ।
नेकपा एमालेबाट उपमेयर मञ्जु भण्डारी सुवेदी, विजय राई, मोतीराज सुनुवार, प्रकाश राई, पूर्व मेयर मनोज मेन्याङ्बोलगायत आकांक्षी छन् ।

प्रकाशित मिति: बैशाख २ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend