Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानलगायत सुनसरीमै गठबन्धनमा सकस

हाम्रो कोशी आवाज
बैशाख ४ २०७९, आइतबार
धरानलगायत सुनसरीमै गठबन्धनमा सकस

धरानः स्थानीय तह निर्वाचन नजिक आइसकेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन आउन अब २५ दिन मात्र बाँकी छ । सुनसरीमा २ उपमहानगरपालिका, ४ नगरपालिका र ६ गाउँपालिका रहेका छन् ।
सुनसरीमा पाँच दलीय सत्ता गठबन्धनले वडातहसम्मै चुनावी तालमेल गर्ने निर्णय गर्दै कार्यदल समेत गरेको अवस्था छ । तर स्थानीय तह निर्वाचनका लागि भागबण्डा मिलाउन बसेको कार्यदलको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
सत्ता गठबन्धनका सहयात्री दलले महत्वाकाङ्क्षी माग अघि सारेपछि धरानलगायत सुनसरीमै चुनावी तालमेलको विषय पेचिलो बनेको छ । नेकपा माओवादी केन्द्रले धेरैजसो स्थानीय तहमा मेयर, उपमेयर माग्न थालेपछि चुनावी तालमेल पेचिलो बनेको हो ।
चुनावी तालमेल गर्ने मुख्य एजेण्डासहित बसेको बैठक बिनानिष्कर्ष टुङ्गीएको नेपाली काङ्ग्रेस, सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय सभापति सुजेन्द्र तामाङले जानकारी दिए । उनले यस हिसाबले हेर्दा कांग्रेसले नै गठबन्धन र तालमेल नगर्ने सम्भावना रहेको जानकारी दिए ।
उनका अनुसार सुनसरीमा माओवादी केन्द्रले धेरै स्थानीय तहमा प्रमुख, उपप्रमुखसहित प्रमुख तथा अध्यक्ष मागेपछि गठबन्धन दल भित्र तालमेलको विषय सङ्कटमा धकेलिएको छ ।
उनका अनुसार नेकपा माओवादीले धरान उपमहानगरपालिकाकै मात्रै कुरा गर्ने हो भने मेयरसहित ३, ४, ५, ११, १५, १७, १९ र २० मागेको उनले जानकारी दिए । उनका अनुसार नेकपा एकीकृत समाजवादीले ४, ५, ६, ११, १५ र १६, राष्ट्रिय जनमोर्चाले ४ र ५ तथा जनता समाजवादी पार्टीले उपप्रमुखसहित ११, १५ र १९ वडामा नेतृत्व दावी गरेपछि चुनावी गठबन्धन हुन नसक्ने भएको हो ।
‘जुनअनुसार गठबन्धनको मोडालिटी बनेको छ, त्यहीअनुसार जाने हो भने गठबन्धन सम्भावना छ, त्यो भन्दा बाहिर गएर साङ्गठनिक क्षमता भुलेर, अस्वभाविकरुपमा बढी दावी गर्नुभयो त मिल्ने अवस्था देखिँदैन ।’ उनले भने ।
उनले विशेषतः धरानमा गठबन्धन हुनैनसक्ने तर्क गरे । ‘धरान मेरो क्षेत्रअन्तर्गत पर्ने हुनाले म आफू गठबन्धन नहुने पक्षमै छु, यहाँ त झन् मतभारभन्दा बढी माओवादीले दावी गरेको छ’, उनले भने, ‘त्यही भएर गठबन्धन सम्भव देखिएन ।’
धरानमा काङ्ग्रेस एक्लै भिडेपनि जित्ने अवस्था रहेको भन्दै उनले भने, ‘काङ्ग्रेसको धरानमा राम्रो सङ्गठन भएको पार्टी हो, १४ औं महाधिवेशनपछि पार्टी सुध्रिएको पनि छ, जनलहर पनि त्यतिकै छ ।’
गठबन्धनका लागि काङ्ग्रेस नेतृत्व हुनसक्नेसम्म लचिलो भएको तर माओवादीलगायत अन्य दलले बखेडा झिकेर भागमात्रै बढी खोज्ने गरेको उनको भनाइ छ । ‘तालमेलका हामी सहमतिनजिक थियौं तर हुनै नसक्ने छाँट देखिएको छ ।’ उनले थपे ।
उनका अनुसार धरानमा काङ्ग्रेसले अवस्था र आवश्यकता हरेर मेयरसहित केही वडामा दावी गरेको छ । उपमेयर र ४ वटा वडा माओवादीलाई, जनता समाजवादी पार्टीलाई दुईवटा वडा र अन्य दललाई पनि केही वडा दिनेमा एक खालको सहमति बनेपनि माओवादी नै मिल्न नसकेको उनले बताए ।
माथिल्लो निकायको संयन्त्रले वैशाख ३ गतेभित्र तालमेलबारेको रिपोर्ट पठाइसक्नुपर्ने थियो तर यहाँ केही सहमति नबनेको र सोहीअनुसारको जानकारीसहितको रिपोर्ट पठाइएको उनले जानकारी दिए । ‘जे भएको हो, सो कुराबारे माथिल्लो निकाय पठाएका छौं, माथिल्लो निकायले नै निर्णय गरेर पठाउँदा चित्तबुझ्दो भए तालमेल हुने नत्र काङ्ग्रेस एक्लै भएपनि चुनाव लड्ने तयारीमा रहेको छ ।’ उनले भने ।

प्रकाशित मिति: बैशाख ४ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend