धरानः धरान उपमहानगरपालिकाको मेयर पदका लागि पाँच दलबाट धेरै आकांक्षी (दर्जनौं) सिफारिस भएका छन् ।
नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिले मेयरमा दुई महिलासहित ९ र उपमेयरमा एक पुरुषसहित १० जना महिलाको नाम सिफारिस गरेको छ ।
मेयरमा तिलक राई, किशोर राई, उमेश थापा, सुजेन्द्र तामाङ, पर्वत राई, श्यामा रेग्मी, अजय राई, गोविन्द दर्नाल, मीना पुलामीको नाम सिफारिस भएको छ भने उपमेयरमा उर्मिला प्रधान, शिला बज्राचार्य, निलकुमारी थापा गिरी, कुसुम ओली आचार्य, निर्मला शाक्य, मनिता घिमिरे, हिमाल राई, झुमा राई, कोपिला भट्टराई र सन्तोष विकको नाम सिफारिस गरिएको छ ।
अहिले धरानमा गठबन्धन हुने क्रममा छ । तर पनि काङ्ग्रेस एक्लैले उम्मेद्वार सिफारिस गरेको हो । यसअघि माओवादी केन्द्रले धरानमा मेयर, उपमेयर पनि माग गरेपछि गठबन्धन नभई एक्लै चुनाव लड्ने भन्दै काङ्ग्रेस लागेको थियो ।
सुनसरी क्षेत्र १ का सभापति सुजेन्द्र गोले तामाङले तर अहिले गठबन्धन प्रक्रिया लगभग फाइनल चरणमा रहेको बताए । ‘गठबन्धनबीच लगभग सहमति भइसकेको छ’, उनले भने, ‘धरानमा गठबन्धन नै लड्ने हो ।’
मङ्गलबार काङ्ग्रेस र माओवादीबीच सौहाद्रपूर्ण छलफल भएको र निचोडमा पुगिएको उनले जानकारी दिए । उनका अनुसार माओवादीसँग भएको छलफलमा उपमेयर र ५ वटा वडामा समझदारी भएको छ । यसलाई दुवै दल बसेर छलफलबाटै टुङ्ग्याइने उनले जानकारी दिए । माओवादी केन्द्रका जिल्ला सदस्य अइन्द्रविक्रम बेघाले गठबन्धनबीच चुनाव लड्ने लगभग पक्कापक्की भइसकेको र सहमति हुन मात्रै बाँकी रहेको बताए । यस्तै, नेकपा एकीकृत समाजवादी एउटामा वडाध्यक्षमा लगभग सहमति भएको र जनता समाजवादी पार्टीमा पनि छलफल चलिरहेको उनले जानकारी दिए ।
यस्तै, कुमार लिङ्देन नेतृत्वको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च जिल्ला कार्यसमिति सुनसरीको अध्यक्ष अमर इजम धरानको उम्मेद्वारका लागि सिफारिस भएका छन् भने राष्ट्रिय जनमुक्ति पार्टीले सुनसरी जिल्ला इञ्चार्ज राजेश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धरानले मेयर र उपमेयरमा क्रमशः नरेश शाक्य र पूर्णिमाया राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै, नेकपा एमालेको उपमहानगर कमिटीले मेयरको लागि ११ जनाको नाम सिफारिस गरिसकेको छ । सिफारिस हुनेहरूमा हालकी उपमेयर मञ्जु भण्डारी र पूर्व मेयर मनोजकुमार मेन्याङ्वोलाई प्राथमिकतामा राखिएको छ । नेताहरूका अनुसार उनीहरू दुईमध्ये एक जनाले टिकट पाउने सम्भावना धेरै छ । प्रदेश सदस्यहरू विजय राई, प्रकाश राई, मोतीराज सुनुवार, दोर्पध्वज राई, जिल्ला सदस्यहरू मीन सुब्बा, नारायण सुवेदी, राजमणी निरौला र पूर्व जिल्ला समिति सदस्य तीर्थ मास्केको नाम सिफारिस भएको हो ।
एमाले धरान नगर समितिले उपमेयरका लागि पनि ६ जनाको नाम सिफारिस गरेको छ । जसमा प्रदेश समिति सदस्य सुशीला पहाडी, लहरु जिमी, जिल्ला सदस्यहरू पदम इस्वो लिम्बू, इन्द्रकला राई, सविता चाम्लिङ र लीला राई रहेका छन् ।
यसअघि नै हर्क साम्पाङले स्वतन्त्र उम्मेद्वारका रुपमा आफू मेयरमा लड्ने घोषणा गरिसकेका छन् । उनले दलहरुले धरानमा केही गर्न नसकेको बताउँदै आएका छन् ।