धरानः जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानमा बुधबार नयाँ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेत आइपुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट धरान आएका प्रहरी निरीक्षक बस्नेतले शुक्रबार कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरे।धरान पनि ब्यस्त सहर भएकाले ट्राफिक ब्यवस्थापन र दुर्घटना न्युनीकरण गर्नका लागि सहयोग गर्न सरोकारवाला सबैसँग प्रहरी निरीक्षक बस्नेतले आग्रह गरे ।
ट्राफिक प्रहरीले मात्र चुस्तरुपमा ट्राफिक ब्यवस्थापन गर्न मुस्किल हुने हुँदा नगरपालिका, सञ्चारकर्मी, यातायात ब्यवसायीलगायत सरोकारवाला सबैसँग समन्वय गरेर अघि बढ्ने प्रहरी निरीक्षक बस्नेतले बताए । उनले भने, ‘म भर्खर आएको नयाँ छु, थप कुराहरु बुझेर अघि बढ्छु ।’
पत्रकार भेटघाटमा पत्रकारहरुले भानुचोकको अस्तब्यस्त सवारी ब्यवस्थापन गर्न, भानुचोकबाट पश्चिमतर्फ रहेको तरकारी बजार (सब्जी मण्डी) भित्र टेम्पो, सफारी, मोटरसाइकल, स्कुटीजस्ता सवारी साधन प्रवेशमा रोक लगाएर बजार सहज बनाउन, भित्री सडकमा बाटो ढाक्ने गरी निर्माण सामग्री नराख्ने वातावरण बनाउन, विवाहजस्ता सांस्कृतिक कार्यमा पुरै सडक ढाक्ने गरी टेण्ट नलगाउनुपर्नेलगायतका सुझावहरु दिएका थिए । उनले सुझावलाई सहजरुपमा लिँदै यस्तो पाइए कारवाही अघि बढाउने बताए ।
यसअघि यहाँ कार्यरत् ट्राफिक प्रहरी प्रमुख भुवनबाबु खड्का जिल्ला प्रहरी कार्यालय संखुवासभामा सरुवा भएर गएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरान मातहतमा रहेका १२ वटा पोष्टहरुमा ७९ जना प्रहरीहरु कार्यरत् रहेको सो कार्यलयले जनाएको छ । धरान ट्राफिक प्रहरीमा भने २३ जना ट्राफिक प्रहरीहरु कार्यरत छन् ।