धरानः धरान उप महानगरपालिका वडा न.४ का वडाअध्यक्ष मानबहादुर राई नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
गत चुनावमा एमालेबाट विजयी भएका राई शनिबार नेकपा (एस)मा प्रवेश गरेका हुन् । उनलाई नेकपा (एस)का केन्द्रीय सदस्य जीवन राईले पाटी प्रवेश गराएका हुन् । राईले वडाअध्यक्ष पदबाट समेत शुक्रबार राजीनामा दिएका थिए ।
आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि धरान उपमहानगरपालिकामा चार दलीय गठबन्धनबिच सहमति हुँदा धरानमा ४ नम्बर वडा समाजवादीको भागमा परेको थियो । उनी अब एकीकृत समाजवादीबाट वडा नं ४ मा अध्यक्ष उठ्ने जनाइएको छ ।
यसैबीच गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) आफ्नै ताकतले चुनाव लड्ने भएको छ । जसपाले १० र १९ दुई वटा वडाअध्यक्ष भाग पाउने सहमति बनेपनि सदस्यमा भागबण्डा नमिलेपछि बाहिरिएको जनता समाजवादी पार्टीका धरानका अध्यक्ष ताजुब लिम्बूले जानकारी दिए ।
जसपा बाहिरिएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनमा छन् । जसपा गठबन्धनबाट बाहिरिए पछि बाँकी ती दलले वडा सदस्यसम्मको सिट बाँडफाड गरेको छ । धरानमा अब नेपाली कांग्रेसको भागमा मेयर र १५ वटा वडा, माओवादी केन्द्रको भागमा उपमेयर र ४ वटा वडा साथै नेकपा एकीकृत समाजवादीले एउटा वडा पाएको छ ।
