Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मेयरका लागि साना दल र स्वतन्त्र गरी पाँच दलको उम्मेद्वारी दर्ता

हाम्रो कोशी आवाज
बैशाख ११ २०७९, आइतबार
धरानमा मेयरका लागि साना दल र स्वतन्त्र गरी पाँच दलको उम्मेद्वारी दर्ता

पब्लिक हाइस्कुलस्थित आयोगको कार्यालयमा उम्मेद्वारी दर्ताका लागि जाँदै सङ्घीय लिम्बुवान मञ्च नेपालका अम्बरबहादुर इजम । तस्वीरः हाम्रो कोशी आवाज

धरानः आगामी वैशाख ३० गने हुने स्थानीय तहको निर्वाचनका लागि धरान उपमहानगरपालिकाको मेयरमा पाँच दलले उम्मेद्वारी दर्ता गरेका छन् ।
धरानको मेयरका लागि मौलिक जरोकिलो पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन, स्वतन्त्र, राष्ट्रिय जनमुक्ति पार्टी र सङ्घीय लिम्बुवान मञ्च नेपालले उम्मेद्वारी दर्ता गरेका छन् । मेयरका लागि ५ जना र उपमेयरका लागि ४ जनाले नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले लगायतका दलहरुले भने भोलि मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।
निर्वाचन आयोगले ११ र १२ वैशाख (आइतबार र सोमबार) का लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको छ । बिहान १० बजेदेखि सोमबार अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारहरुले आफ्नो नाम मनोनयन गर्न पाउनेछन् ।
यसैबीच सङ्घीय लिम्बुवान मञ्च नेपालबाट यसपटक अम्बरबहादुर इजम (लिम्बू), उपमेयरमा सरस्वती सुब्बाले उम्मेद्वारी दिएकी छिन् । स्वतन्त्रबाट मेयरमा हर्क साम्पाङ राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट मेयरमा राजेशकुमार राईको उम्मेद्वारी परेको छ भने मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट दीर्पाकुमारी राई, मौलिक जरोकिलो पार्टीबाट पनि मेयरमा रेणुका विकले उम्मेदवारी दर्ता गरेकी छिन् । यस्तै, जनमुक्तिबाट उपमेयरमा श्यामकुमारी तामाङ, मौलिक जरोकिलो पार्टीबाट हेमकुमार दाहाल, स्वतन्त्रबाट दत्तकुमार लिम्बूले उम्मेद्वारी दिएर फर्किएका छन् ।
यस्तै, यस्तै, सङ्घीय लिम्बुवान मञ्च नेपालबाटै धरान–१ र ३ को लागि वडाध्यक्षमा दिलकुमारी राई (लिम्बू), धरान–५ का लागि राजेन्द्र लिम्बू, धरान–८ का लागि निर्मलकुमार राई, धरान–१० का लागि हस्तकला लिम्बू राई, धरान–११ का लागि सञ्जुहाङ साँवा, धरान–१२ का लागि विनोद राई, धरान–१३ का लागि काजीमान लिम्बू, धरान–१४ का लागि तेजहाङ लिम्बू, धरान–१५ का लागि गोविन्द लिम्बू, धरान–१६ का लागि राजेन्द्र लाबुङ, धरान–१७ का लागि प्रेम मादेन, धरान–१९ का लागि लिलाहाङ लिम्बू, धरान–२० का लागि फूलमाया लाबुङले उम्मेद्वारी दर्ता गरेका छन् ।
आयोगका अनुसार वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: बैशाख ११ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend