Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा गठबन्धनको चुनावी रौनक

हाम्रो कोशी आवाज
बैशाख १२ २०७९, सोमबार
धरानमा गठबन्धनको चुनावी रौनक

धरानः धरानमा वैशाख ३० गते हुने निर्वाचनका लागि सोमबार ठूला दलले उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम थियो । कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीका मेयर, उपमेयर साथै वडाध्यक्षहरुको उम्मेद्वारी दर्ता भएको छ ।
धरानस्थित सिंहदेवी चोकबाट शुरु भएको माससहितको रयाली धरानस्थित पब्लिक हाइस्कुलको मैदानमा आइपुगेको थियो । रयालीअघि नेपाली कांग्रेसबाट मेयरको टिकट पाएलगत्तै सिंहदेवीचोक पुगेका किशोर राई र उपमेयरको टिकट पाएका माओवादी केन्द्रका नेता अइन्द्रविक्रम बेघा एउटै मालामा उनिएका थिए । उनीहरुले एउटै मालामा उनिँदा र रयाली निकाल्दा केहीबेर रमिता समेत भएको थियो । यस्तै, अझ रोचक त के थियो भने कांग्रेसका कार्यकर्ताले माओवादीको र माओवादीका कार्यकर्ताले कांग्रेसको झन्डा समेत बोकेका थिए । त्यसपछि उनीहरु माससहित तामझामका साथ उम्मेद्वारी दर्ता गर्न पब्लिक हाइस्कुलको मैदानमा पुगेका थिए । उनीहरुले अन्य दलको भन्दा मास पनि बढी ल्याएका थिए ।
किशोर–अइन्द्र हाइहाइ, गठबन्धन एकता जिन्दावादजस्ता नारा लगाउँदै उनीहरु रयालीसहित हिँडेका थिए । कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै मेयरका उम्मेद्वार किशोर राईले धरानको विकासका लागि गठबन्धन गरिएको र पाँच वर्षभित्रमा केही न केही विकास गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै उपमेयरका उम्मेद्वार अइन्द्रविक्रम बेघाले धरानको विकास, समृद्धि साथै संविधानको रक्षा र मुलुकको रक्षाका लागि आफ्नो उम्मेद्वारी आएको बताए ।
कांग्रेसका केन्द्रीय नेता मिन विश्वकर्माले धराने जनताका लागि माथिल्लो तहमा पनि पहुँच राख्न सक्ने नेताहरु गठबन्धनबाट उम्मेद्वार बनेकोले यसपटक जिताएर देखाउन आग्रह गरे । उनले भने, ‘धरानको विकास, निर्माणलाई अघि बढाउने हो भने अहिले केन्द्रीय तहका नेताहरुसँग सिधै पहुँच राख्न सक्ने मेयर र उपमेयरका उम्मेद्वार आउनुभएको छ, उहाँहरुलाई जिताइदिनुहोस्, हामी धरानको विकास, समृद्धिलाई नढाँटीकन देखाइदिन्छौं ।’ यसअघि कांग्रेस एकढिक्का भएर धरानमा चुनाव लडेको र कांग्रेसले नै जितेको हुनाले यसपटक पनि एकढिक्का भएर चुनावमा मत हाल्न उनले आग्रह समेत गरे । तस्वीरहरुः हाम्रो कोशी आवाज, लक्ष्मण थापा

प्रकाशित मिति: बैशाख १२ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend