Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जसले अन्तिम समयमा आएर उम्मेदवारी दिए

हाम्रो कोशी आवाज
बैशाख १२ २०७९, सोमबार
धरानमा जसले अन्तिम समयमा आएर उम्मेदवारी दिए

धरानः धरानमा यसअघि अर्थात् २०७४ को स्थानीय तहको चुनावमा जितेका तीनजना वडाध्यक्षले समेत उम्मेद्वारी दिएका छन् ।
धरान-१ का वडाध्यक्ष रोशन अधिकारी, धरान-१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, धरान-९ का वडाध्यक्ष रत्नबहादुर कटुवालले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सोमबार उम्मेद्वारी दर्ता गराएका हुन् ।
२०७४ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाध्यक्ष जित्ने अधिकारी र भट्टराईले राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो चिह्न लिएर आएको बताएका छन् । उनीहरुले धरान-१ र १४ बाट वडाध्यक्षकै लागि उम्मेद्वारी दिएको बताएका छन् । यस्तै, धरान-९ का वडाध्यक्ष स्वतन्त्रबाट मेयर पदका लागि उम्मेद्वारी दिएको बताएका छन् ।
धरान-१४ का वडाध्यक्ष भट्टराईले आफ्नो कार्यकालमा राम्रै काम गरेको तर पार्टीले खासै वास्ता नगरेकोले यता आएको बताएका छन् । काङ्ग्रेसले उनीसहित अन्यलाई वडाध्यक्षका लागि सिफारिस गरेको थियो । तर, अर्कैलाई वडाध्यक्षको टिकट दिएपछि उनले राप्रपाबाट उम्मेद्वारी दिएको बताएका छन् । उनले आफू हिन्दू राष्ट्रको मुद्दा बोकेर अघि बढ्ने बताए ।
नेपाली कांग्रेसले धरान-१४ बाट स्थानीयस्तरमा भिजेका श्याम श्रेष्ठलाई उम्मेद्वारका रुपमा अघि सारिसकेको छ । उनी त्यहाँ जनता र कार्यकर्तामाझ चिनिएका र भिजेकै नेताका रुपमा चिनिन्छन् ।
यस्तै, धरान-१ का वडाध्यक्ष बनेका अधिकारीले पार्टीले वास्तै नगरेपछि आफूले हलो चिह्न लिएर आएको बताए ।
यस्तै, ‘जहाँ मञ्जु भण्डारी त्यही मेरो उम्मेदवारी’ भन्ने अभिव्यक्ति दिने धरान-९ का वडाध्यक्ष रत्नबहादुर कटुवालले पनि मेयर पदका लागि उम्मेद्वारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले स्वतन्त्रबाट आफ्नो उम्मेदवारी दर्ता गराइसकेको बताए । उनी २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट जितेर वडाध्यक्ष बनेका थिए ।
नेकपा एमालेबाट मेयरमा उम्मेदवार पूर्व धरान उपमहानगर उपप्रमुख मञ्जु भण्डारीले धरान र धराने जनताको लागि कहिल्यै पनि काम नगरेको र १ वर्ष सम्म कार्यवाहक मेयर हुँदा समेत धराने जनताको समस्यालाई सम्बोधन नगरेको उनले आरोप लगाएका छन् ।
उता कांग्रेसका केन्द्रीय नेता मीन विश्वकर्माले भने कांग्रेसमा उम्मेद्वारी दिनेलाई फर्काएरै छाड्ने दावी गरेका छन् । उनले पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा भने, ‘यसपटक हामी राष्ट्रिय स्वाधिनताका लागि, संविधानको रक्षाको लागि र मुलुकको समृद्धिका लागि बृहत्तर लोकतान्त्रिक गठबन्धन बनाएर अघि बढेका छौं, यसबेला धेरै सम्भावना बोकेका नेता, कार्यकर्ता हामीसँग रुष्ट भएका छन् तर धैर्यता चाहिन्थ्यो त्यो हुन सकेन, हामी चाँडै सम्झाएर, फर्काउँछौं ।’

प्रकाशित मिति: बैशाख १२ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend