धरानः यतिबेला राजनीतिक दलहरु चुनाव केन्द्रित बन्दैछन् । अहिले अधिकांश दलले उम्मेद्वारी दर्ता गरिसकेका छन् । तर, चुनावप्रति जनताको त्यति उत्साह भएको देखिँदैन । विगतमा दलहरुले दिएका आश्वासन अझै पूरा हुन सकेका छैनन् । त्यसो भएकोले पनि जनता उत्साहित छैनन् । राजनीतिक दलहरु र तिनका नेताहरु जब चुनाव आउँछ तब मात्र जनताको घर आँगनमा पुग्छन् । चुनाव सकिएपछि फर्केर पनि जाँदैनन् ।
अहिलेसम्म राजनीतिक दलहरुले आ–आफ्ना धारणा जनतासामु सार्वजनिक गर्न सकेका छैनन् । दलसँग फरक एजेन्डा अहिले छैन । चुनावी एजेन्डा खै ? घोषणापत्रमा के लेख्ने भन्ने कुरामा दलहरु अलमलिएका छन् । राम्रो नीति कार्यक्रम नभएपछि जनताले हराउलान भन्ने चिन्ता सबै दलमा छ । तर, सबै दल जनतामा जाने भनिरहेका छन् । जनतालाई विश्वास दिलाउने भरपर्दो एजेन्डा अझैसम्म फेला पार्न सकिरहेका छैनन् ।
दलहरुले स्थानीय क्षेत्रमा चुनावी चहलपहल बढाउने कोसिस गरिरहेका छन् । आ–आफ्नो पक्षमा चुनावी माहोल सिर्जना गर्न दलका नेताहरुको दौडधुपचाहिँ छ तर जनतामा केही उत्साह छाएको छैन । ‘जो आएपनि हामीलाई के मतलव ?’ धरान–१२ स्थित घर निर्माण कार्यमा खटिएकी सुस्मिता राईले भनिन्, ‘गर्ने केही होइनन् ।’ उनले पानी खुवाउँछु भनेर लागिरहेकाहरुले अहिलेसम्म पानी नखुवाएको गुनासो गरिन् ।

धरान–११ का ओमनाथ रिमाल शिक्षक हुन् । उनले आफ्नो टोल, छिमेकी टोललगायत चारपाँच वटा टोलमै पानी नआएर हाहाकार मच्चिएको बताउँदै भने, ‘यस्तै हो भने यसपटक राजनीतिक दललाई जनतालाई भोट हाल्दैनन् ।’ उनले अहिलेसम्म धरानको खानेपानीबारे दीर्घकालीन समाधान खोज्ने कोही ननिस्किएको बताए ।
उनले यसपटकको स्थानीय चुनावमा दलहरुको एजेन्डा नै नभएको बताउँछन् । उनी थप्छन्, ‘विचार र योजनाबिना जनताबीच गएर मात्र हुँदैन । राजनीतिक दलका नेताहरु अहिले घोषणापत्रबिना नै चुनावमा होमिएको जस्तो देखिएको छ, साँच्चै भन्ने हो भने यसपटक दलहरु के चुनावी एजेन्डा लिएर जनतामाझ जालान् ?’
यसपटक जनतासँग धेरै प्रश्नहरु रहेको धरान–१७ का सुरेन्द्र राई बताउँछन् । ‘राजनीतिक दलहरु विचारविहीन छन् । यसपटक जनताले नेताहरुलाई धेरै प्रश्न सोध्नेवाला छन् । जनताको जवाफ दिने आँट गरेर मात्र नेताहरु घर घर पुग्नुपर्ने अवस्था छ, नत्र समस्या पर्छ ।’ विगतका आश्वासन पूरा नहुँदा जनताले नेताको खुलेर आलोचना गर्न थालिसकेका छन् । ‘यसपटक त स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङलाई मेरो मत’, धरान–१३ का कृष्ण लावती भन्छन्, ‘अरुबाट हुनेवाला केही छैन ।’
राजनीतिक पार्टीहरु जनताप्रति इमानदार बन्न नसक्दा जनतामा निराश छ । नेताहरुमा चेत पलाउन नसकेको र दलका नेता एकअर्कालाई गालीगलौज गर्ने, हिलो छ्याप्ने र उछित्तो काढ्नेबाहेक अन्य केही काम हुन नसकेको जनाउँदै राजेन्द्र वान्तवा राई भन्छन्, ‘जनताको मर्म र जनताको हितअनुरुप काम गर्न नसक्नेले के गर्ला र गर्छ भन्ने आशा पनि छैन ।’ धरानमा जति पनि उम्मेद्वारी दिएका नेता छन् भिजन, मिसन नै नभएको देख्छन् । ‘उम्मेद्वारी दिने नेताहरुको नाम लिष्ट हेरें तर पनि खासै गतिलो नेता आएजस्तो लागेन, त्यही पनि उनीहरुको एजेन्डा के हुन्छ ?’ उनले प्रश्न गरे ।
‘यसअघिका जनप्रतिनिधिले पानी मात्रै भएपनि खुवाउन सकेको भए हुन्थ्यो’, धरान–८ का पूर्ण राई भन्छन्, ‘धेरै जनता यसैमा रिसाएका छन् र जनप्रतिनिधिले केही गर्न नसकेको जस्तो देखिएको हो ।’
अहिलेका उम्मेदवारले धरानको विकास, निर्माणका लागि आएको बताउँदै आएका छन् । ‘नेताले उम्मेदवारी दिनेवित्तिकै यस्तो गर्छौं, उस्तो गर्छौं भन्छन् तर केही गरेको पाइएको छैन’, धरान–१६ का हिमा लिम्बू भन्छिन्, ‘धरानको विकास, निर्माणका लागि आएका उम्मेदवारले यसपटक के एजेन्डा लिएर चुनाव लड्छन् होला हेर्न बाँकी छ ।’ उनले धरानका नेताहरुले यसपटक एजेन्डा नै पस्किन नसक्ने बताइन् । ‘धरानको मुख्य समस्याका रुपमा रहेको खानेपानी खुवाउँछौं भनेर खोके तर अहिलेसम्म खुवाउन सकेका छैनन्’, उनले भनिन्, ‘सडक निर्माण मात्रै विकास हो भने मेरो भन्नु केही छैन ।’
धरानका मिलनकुमार राई गफ गर्नेलाई सुनौं, काम गर्नेलाई चुनौं भन्ने कुरालाई यसपटक अघि सारिएको बताए । फेसबुकमा लेख्छन्– चुनाव जितेपछि सिंह हुनेलाई चोट, जनताको भावनालाई सम्मान गर्नेलाई मात्र म र र मेरो परिवारको तर्फबाट अमूल्य भोट ।
धराने जनता आक्रोशित हुनु स्वभाविक
सप्राध्यापक तथा राजनीतिक विश्लेषक राजेन्द्र शर्मा धरानमा दलहरुले पटक पटक मौका पाएको तर इमान्दारिता देखाउन नसक्दा अहिले जनतामा निराशा छाउनु र आक्रोशित बन्नु स्वभाविक भएको बताउँछन् । सचेत नागरिकले राजनीतिक दल भरोसा गर्न लायक छैनन् भनिरहेको अवस्था रहेको बताउँदै उनले भने, ‘धरानले मिसनको राख्यो–स्वास्थ्य, शिक्षा, पर्यटन र पूर्वाधारयुक्त व्यापारिक सहर भनेर तर अहिलेसम्म मिसनअनुसारको काम धरानले गर्न सकेन, ठूला आयोजनाको बेहाल छ, बसपार्कको कुरा ०५१ सालदेखि नै उठेको हो तर पूरा हुन सकेन, खानेपानी आयोजना अहिलेसम्म पूरा हुन सकेन । कोशी राजमार्ग बाइपास जान्छ कि सहरबाटै जान्छ भन्ने निख्र्यौल नै हुन सकेन, धरानलाई कुनै पनि राजमार्गले छुनु पर्दथ्यो त्यो हुन सकेन, राष्ट्रिय आयोजना पनि सञ्चालन हुन सकेनन्, यसले धराने दलमा दीघर्कालीन योजना नै रहेनछन् भन्ने देखियो, भ्रष्टाचारलाई नियन्त्रण गर्न सकेनन्, अहिले पनि धराने जनताले भ्रष्टाचारको आशंका व्यक्त गरिरहेका छन् । त्यसलाई पनि चिर्न सकेका छैनन् ।’
उनका अनुसार अहिले जतिपनि स्वतन्त्रलाई भोट दिन्छौं भनेर जनता कुर्लिरहेका छन्, आक्रोश व्यक्त गरिरहेका छन् यसैको परिणाम हो । ‘धरानको सन्दर्भमा भन्ने हो भने अहिलेको निर्वाचनको अवस्था तरल खाल छ, नेतामा विश्वास घटेको छ, जति घटेपनि पुराना मतदाताको स्टक राजनीतिक दलसँगै छ, स्वतन्त्रसँग छैन, त्यही भएर पनि जित्ने भनेका तिनै दलले हुन्, एजेन्डाविहीन दलहरुको काम छैन, साँच्चै भन्ने हो भने अहिले उठेका जति पनि उम्मेदर छन् तिनको केही एजेन्डा छैनन्, पूरा गर्न सक्ने एजेन्डा लिएर अघि बढ्नुमात्रै बेस हुन्छ ।’