धरानः आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धरानमा उम्मेदवारले घरदैलो अभियान शुरु गरेका छन् । राजनीतिक दल र स्वतन्त्ररूपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षलगायतका पदमा उम्मेदवारी दिएसँगै यहाँ भोट माग्न घरदैलो अभियान शुरु भएको छ ।
गठबन्धनका मेयर किशोर राई, उपमेयर अइन्द्रविक्रम बेघासहित वडाध्यक्ष, वडा सदस्यहरु धरान–३ देखि भोट माग्न थालेका छन् । यस्तै, गठबन्धनका उम्मेद्वार भोट माग्दै धरान–१० पनि पुगेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबाट नगर प्रमुखको साझा उम्मेदवार बनेका मेयरका उम्मेद्वार राई र उपमेयरका उम्मेद्वार बेघाले ले पनि भोट मागिरहेका छन् ।

नेपाली कांग्रेस नगर सभापति श्याम पोख्रेलले भने, ‘यहाँ वडा वडामा सम्पर्क कार्यालय स्थापना र चुनावी गतिविधि शुरु भइसकेका छन् ।’ उनले घरदैलो तथा चुनावी कार्यक्रममा केन्द्रीय नेताको पनि उपस्थिति रहने बताए । पार्टीहरु विभिन्न चुनावी एजेण्डा लिएर घरदैलो अभियानका जानुका साथै आवश्यक रणनीति बनाउन दिनहुँजसो पार्टीमा छलफल गरिरहेको उनको भनाइ छ । ‘१६ गतेपछि निर्वाचन प्रचारका ठूला कार्यक्रम सुरु हुन्छन्’, उनले भने, ‘अहिले मतदातासित भेटघाट कार्यक्रम चलिरहेको छ ।’ बिहीबार (आज) धरान–१३ लगायतको वडामा भोट मागिरहेको उनले जानकारी दिए ।
उता नेकपा एमाले धरानबाट उम्मेद्वार बनेका मेयर तथा उपमेयर चुनावी अभियानअन्र्तगत मतदातासँग घरदैलो पुगिसकेका छन् । मेयर तर्फका उम्मेदवार मञ्जु भण्डारी ( सुवेदी ) र उपमेयर पदम इश्वोसहित नेता तथा कार्यकर्ताहरु मतदातासँग घरदैलो अभियानमा रहेको नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजङ एभेङले बताए ।

उनका अनुसार बुधबार धरान उपमहानगर वडा नम्बर ८ र वडा नम्बर ३ मा घरदैलो अभियान सञ्चालन भइरहेको छ । उनीहरुले आफूहरुलाई विजयी गराउन आग्रह गर्दै आगामी दिनमा हरेक वडाको विकासमा विशेष योजनासहित काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
मतदाताहरुले उम्मेदवारसँग हालको खानेपानीको समस्या समाधानको विषयमा माग गरेका छन् । खानेपानीको समस्याको समाधान गर्न आफूहरु प्रतिबद्ध रहको मेयर तर्फका उम्मेद्वार मञ्जु भण्डारी सुवेदीले बताइन् । उनले भनिन्, ‘खानेपानी समस्या धरानको मूल समस्या हो, सो समस्या समाधान गर्नु पहिलो प्राथमिकता हुनेछ ।’
निर्वाचन मुल परिचालन कमिटीका अनुसार वैशाख १५ गते ९, १० र १९, वैशाख १६ गते वडा नम्बर १६, वैशाख १७ गते वडा नम्बर ११, वैशाख १८ गते वडा नम्बर ११ र १८, र्वैशाख १९ गते वडा नम्बर १७, वैशाख २० गते वडा नम्बर १७ र १५ मा मतदातासँग घरदैलो अभियानको कार्यक्रम रहेको छ । त्यसैगरी वैशाख २१ गते वडा नम्बर १५, वैशाख २२ गते २०, वैशाख २३ गते ४ र ५ नम्बर वडामा हुने छ भने वैशाख २४ गते ६ वडा र वैशाख २५ गते भने वडा नम्बर १, २, ३७ र १२ मा घरदैलो अभियान सञ्चालन गरिने छ ।


