धरानः नेपाली कांग्रेसका धरान उपमहानगर सभापति श्याम पोखरेलले नेकपा एमालेले चुनावअघि नै पराजित मानसिकता प्रदर्शन गर्न थालेको बताएका छन् । सामाजिक सञ्जार दुरुपयोग गरेर भ्रामक, चरित्रहत्या गर्ने प्रयासले एमालेहरुले पराजित मानसिकता प्रदर्शन गर्न थालेको उनले आरोप लगाएका हुन ।
एक टेलिभिजन कार्यक्रमका लागि धरानमा मेयरका उम्मेदवारहरुसँगको कुराकानीमा सुनियोजितरुपमा युवा संघका कार्यकताले गठबन्धनका मेयरको उम्मेदवार किशोर राईसँग अनावश्यक प्रश्न गरेको बताउँदै उनले भने, ‘गठबन्धनका मेयरका उम्मेदवार किशोर राईले दिएले जवाफको सबै भाग काटेर सानो अंश मात्र राखी जनतामा भ्रम छर्न मेयर तिलक राई समेतको चरित्रहन्या गर्न खोजिएको देखियो ।’ यस्तो प्रचार एमालेको पराजित मानसिकताको उदाहरण भएको उनले बताए ।
पाँच दलीय गठबन्धनको चुनावी प्रचार समिति गठनका लागि बुधबार होटल सेछमा बसेको संयुक्त बैठकमा उनले सो कुरा बताएका हुन् । सभापति पोखरेलले स्व. मेयर तारा सुब्बाको निधनपछि कार्यवाहक मेयर मञ्जु भण्डारीबाट भएका कामहरु जगजाहेर भएको अवस्थामा त्यसलाई ढाकछोप गरी ओझेलमा पार्न एमालले गलत हतकण्डा अपनाउन थालेको उनको भनाइ थियो ।
उनले भने, ‘उपनिर्वाचनमा नेपाली कांग्रेसले ऐतिहासिक विजय हासिल गर्दै मेयर तिलक राईको कार्यकालमा भएको उपलब्धिहरुबाट अत्तालिएको एमालेको हतकण्डाले चुनावअघि नै पराजित भएको संकेत दिएको छ ।’
बैठकमा नेकपा मओवादी केन्द्रका युवा नेता अशोक राईले एमालेको प्रतिगामी प्रवृत्तिविरुद्ध पाँच दलिय गठबन्धन भएको बताउँदै चुनावको परिणामले यस्को दह्रो जवाफ दिने बताए ।
बैठकले सभापति पोखरेल संयोजक, प्रेस सेन्टरका केन्द्रीय सदस्य केशव घिमिरे, सहसंयोजक रहेको ३६ सदस्यीय गठबन्धन चुनावी प्रचार समिति गठन गरेको छ । समितिलाई जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका पदाधिकारी, सदस्य थप गरी पूर्णता दिने निर्णय गरिएको छ । प्रचार समिति अन्तर्गत विभिन्न विधाका प्रचार माध्यमका उपसमितिहरु गठन गर्ने निर्णय पनि गरिएको छ ।