धरानः धरान उपमहानगरपालिकामा चुनावी रौनक बढेको छ ।
नेपाली कांग्रेस र माओवादीबीचको गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरु चुनावी अभियानमा छन् । अधिकांश दलका उमेदवारहरु भोट माग्न घरदैलोमा व्यस्त छन् ।
यसैबीच गठबन्धनका उम्मेदवारप्रति नै नगरबासीले आश र भरोसा रहेको मतदाताहरुले बताएका छन् ।
बुधबार वडा नं ८ र ९ वडामा उम्मेदवार पुग्दा स्थानीयहरुले भोट दिने र जीतेपछि जनतालाई नर्बिसिन र दुःखमा साथ दिन आग्रह गरे । गठबन्धनबाट मेयरका उम्मेदवार किशोर राई र अइन्द्रविक्रम बेघाले भोट मागिरहँदा स्थानीय धनमाया तामाङले नेताहरु भोट माग्न मात्रै आउन गरेको बताउँदै भनिन्, ‘जितेर गएपछि पनि नहराउनुहोस् । नेताहरूले हरेक चुनावमा आश्वासनमात्रै दिने गर्छन् । गत चुनावमा पनि सबैजसो नेताले खानेपानी समस्या समाधान गर्ने आश्वासन दिए । तर, गर्मी मौसममा पानीको समस्या भने उस्तै छ ।’
त्यतिबेला मेयरका उमेदवार राई र उपमेयरका उम्मेदवार बेघा भावुक समेत बनेका थिए । स्थानीय रविन तामाङले श्रमजीवी र दैनिकी गुजारा गरेर गरिखानेको मत पाएर गएकाहरुले फेरि नसम्झिने गरेको बताउँदै काम गरेर खाने सहज वातावरण बनाइदिन आग्रह गरे ।
‘अहिले पनि नेताहरू भोट माग्न आउन थालेका छन् । फेरि उनीहरूले उही कुरा गरिरेहका छन् । मत दिनुस्, पानीको समस्या समाधान गर्छौं भनिरहेका छन् । यसअघिको चुनावमा पनि नेताहरूले त्यही भनेर मत लिए । तर, समस्या समाधान गरेनन्,’ उनले भनिन्, ‘तर यसपटक जित्नेले यस्ता समस्या समाधान गरिदिएमात्रै पनि हुन्थ्यो ।’