धरान: स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय नेता तथा कार्यकर्ताले प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
धरानमा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवारहरूले घरदैलो प्रचारप्रसारसँगै मतदातासँग भेटघाटलाई तीब्र बनाएका छन् । धरानको मुख्य समस्या हो, खानेपानी । निर्वाचनका बेला धेरैले खानेपानीको समस्या समाधान गर्छु भने पनि वर्षौ बितिसक्दा पनि धरानको मुख्य समस्या समाधान गर्न कसैले सकेको छैन । यसपटकको निर्वाचनमा पनि उम्मेदवारहरूले खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाइरहेका छन् । तर नगरवासी भन्छन्, ‘जुन जोगी आएपनि कानै चिरेको ।’
निर्वाचन नजिकिँदै गर्दा नगरवासीको घरदैलोमा भोट माग्न पुगेका उम्मेदवारहरूले चुनाव जितेपछि जनतालाई बिर्सिने गरेका नगरवासीको गुनासो छ । सोही गुनासो गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार किशोर राई र अइन्द्रविक्रम बेघाले वडा नम्बर १९ का मतदातालाई भेट्ने क्रममा पनि सुनियो ।
नगरवासीको गुनासोलाई मध्यनजर गर्दै नेपाली कांग्रेसका मेयर उम्मेदवार किशोर राईले यस टक नगरवासीलाई गुनासो गर्ने मौका नदिने बताए । ‘मेयर सा’प भएर होइन धराने जनताको सेवक भएर मेयर उपमेयर भएर जनताको पक्षमा काम गर्नेछु’ उनले भने, ‘यसपटक जनताको गुनासो जनप्रतिनिधि आउँछ ।’

मेयरका उम्मेदवार राईले अन्य नेताले जस्तै ठूला ठूला भाषण नगरी जनताको हितमा काम गर्ने बताए । धरानको अवस्था बदल्नका लागि तपाईहरूको आशीर्वाद लिन आएको बताउँदै पानीको व्यवस्थापनमा केही सुधार भएको र अझै थप सुधार तथा नयाँ स्रोतको व्यवस्थापनमा विलम्ब नगरी काम गर्ने बताए ।
उता नेकपा एमालेका मेयरका उम्मेद्वार मञ्जुु भण्डारी र उपमेयर पदम इस्वो शुुक्रबार धरान–१६ को घरदैलो अभियानमा थिए । भोट माग्दै जाने क्रममा मतदाताले मञ्जुको छेउमै गएर भने, ‘धरानमा धेरै कामको सुुरुवात गरेकी छौं, काम गर्ने तरिका पनि सिक्यौ, अब जितेर गएपछि सबै योजना पूरा गर्नु ।’ उनले आफ्नो सुझाव थप्दै भने, ‘बेलाबेला कर्मचारीले दुुःख दिने गरेका छन् त्यतापनि ध्यान दिने गर्नुु ।’

अर्की मतदाताले पनि भनिन्, ‘अब पिच बाटो मात्र होइन हाम्रा छोराछोरीले पैसा कमाउने गरिका योजना ल्याउनुुपर्छ ।’
उनले मतदातासमक्ष पाँच वर्षमा धरानलाई उत्कृष्ट बनाएर देखाउने बताइन् । उपमेयरका उम्मेद्वार पदमले अब धरानलाई भौतिक तथा आर्थिक रुपमा विकास गर्न एमालेले बनाएको नीतिअनुुसार विकास गर्ने बताए । ‘धरानका सुुकुम्बासीलाई नगरबासी बनाउने अभियान हामीले नै सुरु गरेका छौं, अबको पाँच वर्षमा त्यो पूरा गर्छौ’ उनले भने ।
