Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अन्तिममा आएर जसले लिए उम्मेदवारी फिर्ता

हाम्रो कोशी आवाज
बैशाख २० २०७९, मंगलबार
धरानमा अन्तिममा आएर जसले लिए उम्मेदवारी फिर्ता

गत वैशाख १२ गते धरानस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि थकाइ मार्दै जसपाका अध्यक्ष ताजुब श्रीमतीका साथमा । तस्वीरः हाम्रो कोशी आवाज (सम्पादक गरिएको तस्वीर) 

धरानः आगामी वैशाख ३० धरानको मेयर पदका लागि उम्मेदवारी दिएका ताजुब लिम्बू र उपमेयर बिनाकुमारी राईले उम्मेदवारी फिर्ता लिएका छन् ।
अब जसपाको सम्पूर्ण शक्ति गठबन्धनका मेयर र उपमेयरका उम्मेदवारलाई जिताउन लागिपर्ने उद्घोषका साथ लागिपरेको र उम्मेदवारी फिर्ता लिएको धरानका अध्यक्ष ताजुब लिम्बूले बताए । मङ्गलबार बिहान पत्रकार सम्मेलनमार्फत् गठबन्धनका मेयर किशोर राई र उपमेयर अइन्द्रविक्रम बेघालाई समर्थन गर्ने जसपाले निर्णय लिएको उनले जानकारी दिए । ‘अब जसपाको सम्पूर्ण शक्ति मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्नेछ’, जसपाका अध्यक्ष तथा मेयरमा उम्मेदवार दिएका लिम्बूले भने ।
मेयर उपमेयरसहित १५ वटा वडामा उम्मेद्वारी दर्ता गराएको जसपासँग नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको सहमति भएको हो ।
यसैबीच लोकतान्त्रिक वाम गठबन्धनमा रहेको चार दलीय गठबन्धनबीच ७ बुँदे सहमति समेत भएको छ । सहमतिको पहिलो बुँदामा नगर प्रमुखमा कांग्रेसका किशोर राई र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघालाई सघाउने सहमति छ ।
यस्तै, धरानको वडा नं ४ मा नेकपा एकीकृत समाजवादीलाई सघाउने, सबै दलले आफ्नो उम्मेद्वारी नदिएको वडाहरुमा गठबन्धनका उम्मेद्वारहरुलाई सघाउने, सबै दलले गठबन्धन भएको वडाहरुमा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति छ । यसैगरी, गठबन्धन दलका उम्मेद्वारले जितेको वडा र नगरमा गठबन्धन दलको राजनीतिक संयन्त्र निर्माण गरी साझा नीति तथा कार्यक्रम बनाउने र वडा तथा नगरमा बन्ने विभिन्न बिषयगत समिति, उपसमितिहरुमा सम्मानजनक सहभागिता गराएर वडा तथा नगर सञ्चालन गर्ने सहमति भएको छ । जनता समाजवादी पार्टीले नगर प्रमुख र उपप्रमुख पदमा दिएको उम्मेद्वारलाई निष्कृय पार्ने साथै वडाहरुभमा दिएको उम्मेद्वारीहरुलाई पनि सबै दलले सम्भव भएसम्म समझदारीमा ल्याउन पहल गर्नेलगायत सहमति भएको छ ।
विज्ञप्तिमा चार दलीय गठबन्धनका नेकपा एकीकृत समाजवादीका धरान नगर अध्यक्ष रेवतीरमण राई, जनता समाजवादी पार्टीका धरान नगर अध्यक्ष लिम्बू, नेकपा माओवादी केन्द्र धरान नगर इन्चार्ज फोक्वाहाङ सुब्बा चोत्लुङ, अन्तर पार्टी समन्वय उपसमितिकाका उपसंयोजक तिलक राई, नेपाली कांग्रेसका धरान नगर सभापति श्याम पोख्रेल, नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले हस्ताक्षर गरेका छन् ।
यसअघि नेकपा एकीकृत समाजवादीले पनि मेयर पदका लागि उम्मेदवारी दर्ता गरेको थियो । नेकपा एसका अध्यक्ष रेवतीरमणले मेयर पदमा र अमृता सुनारले उम्मेदवारी दिएका थिए । उनीहरुले उम्मेदवारी मनोनयन फिर्ता लिने अवधिभित्रै मेयर र उपमेयरको उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई नै सघाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति: बैशाख २० २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend