धरानः धरानमा यसअघि वडाध्यक्ष हुँदा ‘केही काम गरेर देखाएका भनिएका’ र चर्चामा समेत रहेका वडाध्यक्षहरु पनि अहिले भोट माग्न व्यस्त छन् । २०७४ सालमा चुनाव जितेर वडाध्यक्ष भएका उनीहरु दोहोरिन खोज्दैछन् ।
धरान–१८ का निवर्तमान वडाध्यक्ष प्रविन राई अहिले चुनावी अभियानमै छन् । वडाको विकास निर्माणदेखि सामाजिक कार्यमा सक्रिय राई अहिलेको स्थानीय तहको निर्वाचनमा समेत चर्चामा छन्, भनौं उनी लोकप्रिय छन् ।
आफू घरदैलोमा पुग्दा अधिकांश मतदाताले बधाई तथा शुभकामना दिइसकेको उनले जानकारी दिए । ‘अहिलेसम्म १८ नम्बर वडाको हितमै लागिरहेको छु, सामाजिक कार्यमा पनि त्यतिकै लागेको हुनाले यसपटक पनि जनताले दोहोरयाएर यस वडाको मुहार फेर्न दिनुहुनेछ भन्ने आशा लिएको छु ।’ उनले भने ।
धरान–१३ मा लोकप्रिय जनप्रतिनिधिको छवि बनाएका वडाध्यक्षका उम्मेदवार नेत्र काफ्लेसँगै मंगलबार वडावासी छमछमी नाचे ।
‘केही काम गरेर देखाउने’ नेताको छवि बनाएका उनी मतदातामाझ भोट माग्दै घरदैलो अभियानमा छन् । उम्मेदवार काफ्लेले अधूरा रहेका योजना पूरा गर्ने घोषणा गरे । धरान–१३ को विकास र समृद्धिका लागि दिलोज्यान दिने उम्मेदवार काफ्लेले उद्घोष गरे । धरान–१३ ले विकास देख्न नसकेको अवस्थामा नेत्र काफ्लेले वडाको विकास गरेको धरान–१३ निवासी सुष्मा राईले बताइन् । धरान–१३ का निवर्तमान वडाध्यक्ष काफ्ले स्थानीय तहको निर्वाचनमा पुनः वडाध्यको उम्मेदवार उठेपछि मतदाता रुष्ट नरहेको उनले बताइन् । काफ्लेलाई जिताउन वडावासी आफैं भोट माग्दै, नाच्दै गाउँदै घरदैलो अभियानमा सहभागी भएका छन् ।
यस्तै, धरान उपमहानगरपालिका वडा नम्बर १७ मा पनि उम्मेदवारहरू मतदाताका घर–घरमा पुगिरहेका छन् । यहाँ मुख्यतः नेकपा (माओवादी केन्द्र), काङ्ग्रेस र एमालेका उम्मेदवारहरू बढी सक्रिय छन् । माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार सूर्यबहादुर (मनोज) भट्टराई भने आफ्नो जीतप्रति विश्वस्त भएर घरदैलो कार्यक्रममा सहभागी भएका छन् ।
मङ्गलबारसम्ममा वडाध्यक्ष भट्टराईसहितको टोली धेरै घर घरदैलो अभियान लिएर पुगिसकेको छ । बाजागाजासहित टोली पुग्दा मतदाताहरूले उत्साहका साथ स्वागत गर्ने गरेका छन् । मतदाताहरूको यही साथ र समर्थनबाट उनी निश्चिन्त बनेको उनले बताए । वडाध्यक्ष हुँदा गरेका विकास निर्माणका कार्य र नागरिकका सुख–दुःखमा साथ रहेकै कारण आपूm र आफ्नो टिमलाई मतदाताहरूले अपार समर्थनका साथ जिताउनेमा उनी ढुक्क छन् । ‘यसअघिका अधूरा विकास, निर्माणदेखि अन्य कुराहरु पूरा गर्न पनि आफू लागिपरेको हुँ ।’ उनले भने । उनी निवर्तमान वडाध्यक्ष पनि हुन् ।
अघिल्लो स्थानीय निर्वाचनमा धरानका २० वटा वडामध्ये माओवादी केन्द्रले वडाध्यक्षमा जितेको यही एकमात्र वडा हो । त्यसैले यस वडामा माओवादी केन्द्रको प्रभाव राम्रै रहेको भट्टराई बताउँछन् ।
७३ वर्षीय मोहन खड्काले मनोज भट्टराई ज्यादै लोकप्रिय र आँखामा राख्दा पनि नबिझाउने विकासप्रेमी भएको बताए । ‘उहाँले पटनालीका सबै बाटोघाटो फराकिलो पार्नुभयो’, खड्काले भने, ‘सर्दूमा पुल बन्नुमा पनि उहाँको ठूलो योगदान छ ।’ त्यसैले विकासप्रेमी नेता भट्टराईलाई जिताउने आफ्नो इच्छा रहेको उनले सुनाए ।
यस वडामा एमालेबाट कल्पना शेर्पा र काङ्ग्रेसबाट नरसिंह राई वडाध्यक्षका उम्मेदवार छन् । एमाले र काङ्ग्रेस परिणाम उल्टाउने दाउमा छन् । उनीहरू पनि घरदैलो अभियानमा सक्रिय छन् ।
१२ नं वडाका टंक राईको समूह पनि अहिले घरदैलोमै व्यस्त छ । निर्वाचित हुने बित्तिकै उनले सामाजिक कार्यमा तीब्रता दिए । उनले बाटो, ड्रेन, मठ मन्दिर, पुलमा रहेको समस्याहरुलाइ समाधान गर्ने कार्यमा लागेका थिए । उनले १२ वडालाई नमूना वडाको रुपमा चिनाउने प्रतिबद्धताका साथ फेरि पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनले ५ वर्षे कार्यकालमा बाटो पिच हुन बाँकी रहेका भित्री सडकहरुलाई पिच गरिसकेका छन् । पिच गरिसकेका धेरै बाटोहरुको उद्घाटन गरि सकेका छन् भने निर्वाचनले गर्दा २ वटा बाटोको उद्घाटन हुन बाकी रहेको उनी बताउँछन् । उनी १२ वडामा निर्वाचित भए पछि सामाजिक कार्यमा तिव्रता दिदै आफ्नो कार्यकाल पूरा गरेका उनी जनताको मागले फेरि वडाअध्यक्षको उमेदवारमा लड्दै छन् । उनी भन्छन्, ‘मेरो चाहाना भन्दा पनि जनताको चाहना अनुसार पार्टीले मलाई फेरि यो अवसर दिएको छ ।’
उनकै पहलमा १२ वडा कार्यालयको आफ्नै भवन निर्माण गर्ने बताएका छन् । उनले भने, ‘डिपिआर तयार भइसकेको र निर्वाचन पश्चात सो कार्यमा लाग्नेछु ।’
धरानमा यी चार वडाध्यक्ष दोहोरिने सम्भावना रहेको प्रा.डा. टंक न्यौपाने बताउँछन् ।
तस्वीरः हाम्रो कोशी आवाज









