धरानः विगतमा निर्वाचनमा होमिएका दलहरुले जनताका सामू धेरै वाचा गरेपनि जितेर गएपछि सबै बाचा बिर्सिने गरेको बृतान्त सुनाउँदै लोकतान्त्रिक गठबन्धनले उपमहानगरपालिकाको नेतृत्व सम्हालेमा यस्ता कुराहरुको सुधार गर्न गठबन्धनका उम्मेदवारहरुहरुलाई सर्वसाधारणले आग्रह गरेका छन् ।
दलहरुले निर्वाचनताका यो गर्छु, त्यो् गर्छु भनेर धरानबासीलाई आश्वासन दिने तर आफ्नो कार्यकाल पूरा हुन्जेलसम्म त्यस्ता प्रतिबद्धतालाई चटक्कै बिर्सेर विवादित काममा लाग्ने गरेको उनीहरुको भनाइ छ ।
उनीहरुले धरानको खानेपानी समस्याको विषयलाई कोट्याउँदै यो एजेन्डा सधै सबै दलको एजेन्डामा रहेपनि अहिलेसम्म समाधान गर्न नसकेको सर्वसाधारणको भनाइ थियो । धरान–१६ मा घरदैलोमा पुगेका लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु समक्ष सर्वसाधारणले थोरै प्रतिबद्धता धेरै काम गर्न सुझाव दिएका थिए ।
खानेपानीको समस्यामा गठबन्धनले नगरपालिकाको बजेट कटाएर भएपनि समाधान गर्छौ भन्ने कुरा प्रतिबद्धता गरेकोप्रति सर्वसाधारणले आफूहरु आशावादी बनेको बताएका थिए । उनीहरुले वर्षौदेखिको समस्या अब भने समाधान हुने आशा पलाएको बताएका थिए ।
लोकतान्त्रिक बाम गठबन्धनका मेयरका उम्मेदवार किशोर राईले लोकतान्त्रिक वाम गठबन्धनले प्रतिबद्धता गरेका कुरालाई प्राथमिकतामा राखेर समाधान गर्दै जाने बताए । उनले भने, ‘हामीले धरानको सबैभन्दा ठूलो समस्या भनेको खानेपानी समस्या हो, यसलाई प्राथिमकतामा राखेर समाधानतर्फ लाग्छौं, त्यसपछि प्राथमिकताका आधारमा सडक, बीपी प्रतिष्ठानमा भएको भ्रष्टाचारलगायतका धेरै समस्यामा हामी केन्द्रित रहन्छौं ।’
लोकतान्त्रिक वाम गठबन्धनका उपमेयरका उम्मेदवार अइन्द्रविक्रम बेघाले प्रतिबद्धतामा उल्लेख गरेका कुरालाई कार्यान्वयन गर्दै धरानका जनतालाई न्याय दिने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने,‘ जति पनि जनप्रतिनिधि आए धरानेहरुले परिवर्तनको आभाष भएको पाएनन्, अब यो आभाष लोकतान्त्रिक वाम गठबन्धनले गरेको कामबाट सर्वसाधारणले पाउनेछन् ।’
उता नेकपा एमालेबाट मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदी, उपमेयर पदम इश्वोलगायतले पनि घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छन् । महिलालाई मेयरको उम्मेदवार बनाएकोमा एमालेप्रति खुशी हुँदै मतदाताले जीतको शुभकामना दिएका छन् । धरान–१५ महादेव चोककी विमला राईले महिला उम्मेदवारले मात्रै धरानको विकास गर्ने बताइन् ।
युवा र महिला उम्मेदवारबाट मात्र धरानको विकास सम्भव भएको स्थानीय युवा तेजकुमार लिम्बूले बताए । भण्डारीले धरान उपमहानगरवासीको अपेक्षा, आशा र भरोशालाई डगमगाउन नदिने बताइन् । धराने जनताको हक अधिकार र विकासका खातिर आफू राजनीतिक लडाइमा होमिएको बताउदैं नगरवासीको हितका लागि कहि कतै सम्झौता नगर्ने बताइन् । उनले एमालेको नेतृत्वको सरकार भएका बेला राष्ट्रिय गौरवका योजनाहरु धरानमा ल्याएको पनि स्मरण गराइन् ।
सेउती करिडोर, फोहोर प्रशोधन केन्द्र, बसपार्क निर्माण, पानबारीमा औधोगिक ग्राम, स्थानीय तहमा स्वास्थ्य केन्दहरु जस्ता योजनाहरु नेकपा एमाले नेतृत्वको सरकारले धरानमा दिएको तर केही योजनाहरुको बजेट हालको सरकारले रोकेको समेत बताइन् ।
उपमेयरका उम्मेदवार पदमले समृद्धिको योजना ल्याउने, जेष्ठ नागरिकलाई भत्ताको योजना ल्याउने, सडक, स्वास्थ्य शिक्षामा महत्वकाक्षा योजनाहरु ल्याउने नेकपा एमालेलाई निसंकोच मतदान गरेर विकासको काममा सबै एक जुट हुन आग्रह गरे ।













