Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा चुनावी भिडन्तः गठबन्धन भर्सेस एमाले

हाम्रो कोशी आवाज
बैशाख २२ २०७९, बिहिबार
धरानमा चुनावी भिडन्तः गठबन्धन भर्सेस एमाले

धरानः धरान उपमहानगरपालिका स्थानीय तहको निर्वाचनका लागि रौनक थपिएको छ । चुनावी माहौल तात्तिएपछि धराने सर्वसाधारणमा पनि चुनावी सरगर्मी तथा चासो बढेको छ ।
कतिले सामाजिक सञ्जालमा यसपटक स्वतन्त्र उम्मेद्वार बनेकालाई भोट हाल्छौं भनेर विद्रोही मानसिकता देखाउँदै दगुरिरहेका छन् ।
०७४ को स्थानीय तह निर्वाचनमा धरानमा ७९ हजार २८२ मतदाता थिए । दुई वर्षपछिको ७६ मा भएको उपनिर्वाचनमा ९२ हजार ८५३ मतदाता पुगे । अहिले फेरि २०७९ सम्मको निर्वाचनमा आउँदा मतदाताको संख्या १ लाख ३२४ पुग्यो । मतदाताको संख्यामा आएको परिवर्तन जस्तै राजनीतिक समीकरणको परिवर्तित स्थिति धरानमा छ । कम्युनिस्ट पार्टीको निरन्तरको सुनिश्चित क्षेत्रलाई तिलक राईले ब्रेक लगाएपछि राजनीतिक रूपमा धरानको स्थिति बदलिएको छ । राष्ट्रिय राजनीतिक गठजोडले स्थानीय निर्वाचन कस्तो होला ? यतिबेला यसकै चर्चा धरानमा छ ।
धरानमा गठबन्धनका तर्फबाट मेयरमा किशोर राई र उपमेयरमा अइन्द्रविक्रम बेघा मत माग्दै हिँडिरहेका छन् । यस्तै, नेकपा एमालेका तर्फबाट मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदम इश्वो लिम्बू चुनावी मैदानमा छन् । मेयरमै स्वतन्त्र उम्मेदवारको रूपमा हर्कराज साम्पाङ चुनावी मैदानमा उत्रेका छन् भने धरानको मेयरमा अर्का स्वतन्त्र उम्मेदवार रत्न कटवाल धारा चुनाव चिहन लिएर चुनावी मैदानमा छन् । राप्रपा (हलो) का नरेश शाक्य पनि मेयरमै उम्मेदवार छन् । यस्तै, अन्य पनि धेरै छन् । गठबन्धनलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीलगायतको साथ छ ।

नेकपा एमालेका उम्मेदवार ०७६ मा भत्केको एमालेको विरासत फर्काउने ध्याउन्नमा छ भने धरानमा खानेपानीमा प्रशस्त रहेको तर प्राविधिक समस्या रहेको देखाउँदै पानी खुवाउने भन्दै मत मागिरहेका छन् । यस्तै, धरानलाई साँच्चै समृद्ध बनाउनका लागि ठूला मेघा प्रोजेक्ट, खेलकुदको हब बनाउने, निर्माणाधीन बसपार्क, सप्तरङ्गीपार्कलाई प्रदेश नं १ कै गन्तव्य, शिवजट्टाको सौन्दर्यकरण त्यसको विकास र विस्तार, विष्णुपादुका, कोकाखोलामा ड्याम र त्यहाँ बोटिङलगायतको प्रोजेक्टमा ध्यान दिँदै मत मागिरहेको उनीहरु बताउँछन् । यस्तै, धरानमा केवलकार सञ्चालनदेखि ठूला प्रोजेक्टहरुलाई पीपीपी सीपको मोडलमा विभिन्न क्षेत्रको लगानीमा काम गर्ने योजना बनाएको उनीहरु बताउँछन् ।
उता गठबन्धनले नेपाली काङ्ग्रेसका तिलक राई मेयर हुँदा अधिकांश वडामा एमालेले जितेको र त्यतिबेला आफ्नो बहुमत नहुँदा केही गर्न नसकेको भन्दै मत मागिरहेको छ । ‘धेरै वर्ष एमालेले काम गर्न खोज्यो तर पनि धरानको विकास हुन सकेन’, मेयरका उम्मेदवार किशोर भन्छन्, ‘लगभग अढाइ वर्ष कांग्रेसले जितेर पुग्दा केही गर्न सकेनन् भन्नुहुँदैन ।’ उनले अब आफूहरुले जितेर पुगिसकेपछि केही गर्छौं भन्दै मत मागिरहेको बताए । ‘अरुलाई हेरियो पटक पटक गठबन्धनलाई हेरौं यसपटक’ भन्दै मत मागिरहेका छौं, राईले भने, ‘जनतालाई वितृष्णा ल्याउने काम दलहरूले गरेकै कारण अहिले मतदाताले विद्रोही स्वभाव देखाएका छन्, त्यो स्वभाविक पनि हो, अहिले विद्रोही स्वभाव देखाएर हुँदैन, एकपटक गठबन्धनलाई मत हालेर हेर्नुहोस् सबै मिलेर धरानको विकास गर्न सकेनौं भने त्यतिबेला भन्ने हो ।’
गठबन्धनबाट उपमेयरका उम्मेदवार अइन्द्रविक्रम बेघाले यथास्थितिको पक्षमा होइन, परिवर्तनको पक्षमा मत हाल्न आग्रह गरिरहेको बताए । यस्तै, स्वतन्त्र उम्मेद्वार हर्कले धराने जनताले परिवर्तन चाहेको र त्यो परिवर्तन स्वतन्त्र उम्मेद्वारबाट मात्रै सम्भव हुने भन्दै लागिपरेको बताए । उनले यसअघिको उपनिर्वाचनमा उठाएको जस्तै मुद्दा लिएर अघि बढेका छन् । उनले उपनिर्वाचनमा खानेपानी व्यवस्थापन, बीपी प्रतिष्ठानको व्यवस्थापनलगायतको मुद्दा लिएरै चुनावमा होमिएका थिए ।
यस्तै, राप्रपाबाट मेयरको उम्मेदवारी दिएका नरेशले ठूला दलले खासै धरानको विकास, निर्माणमा ध्यान नदिएको भन्दै मत मागिरहेको बताए । उनले आफ्नो सक्दो भिजनलाई धरानको विकासमै प्रयोग गर्ने बताए । उता संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अमरबहादुर इजम ठूला दललाई पटक पटक भोट दिएको र यसपटक आफूहरुले ठूला पार्टीका प्रतिनिधिले होइन धरान (विजयपुर) ले जित्नुपर्छ भन्दै मत मागिरहेको बताउँछन् ।

भाइरस छिर्ला कि नर्छिला ?
यसपटकको चुनावमा ठूला दलमै समस्या रहेको मतदाताले देखिरहेका छन् । विशेषतः ठूला दल भनिएका पार्टीहरुमा धेरैजसो गुटउपगुट प्रष्ट देखिएको मतदाताहरु नै बताउँछन् । ‘हैट यसपटक त आँकलन गर्नै गाह्रो भो, ठूला पार्टी जति सबैमा गुटउपगुट जस्तो देखिएको छ’, धरान–८ की मतदाता कला राई भन्छिन्, ‘स्थानीय चुनाव भनेकै सक्षमलाई नै हेरेर मत दिने हो ।’
टिकट कसले पाउने भन्नेमै कांग्रेसका नेताहरु अल्मलिएका थिए । कांग्रेसमा असन्तुष्टि बढ्दै जाँदा धरान–१ र १४ का वडाध्यक्ष कांग्रेस छाडेरै राप्रपाबाट उम्मेदवार बने । ‘तरपनि कांग्रेससहितको गठबन्धनले जित्नुपर्छ भनेरै लागिरहेको पाइएको छ’, विचारमा फरक हो, पार्टीमा होइन, नेतृत्व चुक्दैन’ नेता प्रेमप्रसाद पराजुली भन्छन्, ‘असन्तुष्ट भन्ने कुरा हरेक ठाउँमा हुन्छ, कांग्रेसमा त्यस्तो छैन, साँच्चै भन्ने हो भने कांग्रेसमा उपनिर्वाचनमा पनि भाइरस छिरेन र यसपटक पनि छिर्दैन ।’ उनले गुट नै जस्तो देखिएको बेला उपनिर्वाचनमा कांग्रेस एक भएको बताउँदै भने, ‘त्यही गुन तिर्न पनि यसपटक पनि कांग्रेसले मत हाल्नुपर्छ र हाल्छन् ।’
उनी जस्तै रिसाएपनि मतदाताको मन कहिल्यै चेन्ज नहुने तर्क समेत राख्छन् । ‘यसअघिका धेरै चुनावमा भाइरसले नै सिध्याएका हुन्, अहिले कांग्रेसमा भाइरस छैनन्, भाइरसले पनि कांग्रेसलाई जिताउनुपर्छ, कांग्रेस एक देखिए मात्रै चुनावमा सहजता हुने रहेछ भन्ने पक्षमै छन्,’ उनले थपे, ‘कांग्रेस भनेको एकछापे हो, रिसाउँछन्, कराउँछन्, गुनासो पोख्छन्, भोटै हाल्दिनँ पनि भन्छन् तर भोट भने आफ्नैलाई हाल्छन् ।’
उता एमालेका धरान नगर अध्यक्ष हर्कजङ एभेङ चुनाव जित्नेमा आफूहरु विश्वस्त रहेको बताए । उनले एमालेमा १० बुँदे पक्षधर भनिएकाहरुलाई पनि टिकट दिएकोले एमालेमा भाइरस नछिर्ने बताउँछन् । ‘यसपटक सबैलाई मिलाएर टिकट दिइएको पाइएको छ, त्यसैले पनि एमालेमा भाइरस छिर्दैन ।’ उनले भने । माओवादी केन्द्रका उम्मेदवार बेघाले धरानमा माओवादीका नेता, कार्यकर्ता एकजुट रहेको बताए ।
चुनावी अङ्कगणित
यसपटकको निर्वाचनमा धरानमा मतदाता थपिएका छन् । यसअघि धरानमा ८९ हजार ५ सय ४९ मतदाताको नामावली सार्वजनिक भएको थियो । यस्तै, उपनिर्वाचनमा करिब ९३ हजार पाँचसय मतदाता रहेका थिए भने अहिले एक लाख ३ सय २४ मतदाता छन् ।
कम्युनिष्टले जितेपछि धरानलाई लालकिल्ला नै हो भन्ने गरिन्छ । २०४६ को परिवर्तनपछि सबै निर्वाचन कम्युनिष्टले जित्दै आएको छ । स्थानीय चुनाव २०७४ मा कुल खसेको ५३ हजार ५ सय ४७ मतमध्येमा एमालेका विजयी स्व. सुब्बाले २० हजार ९ सय ७५ मत, पराजित कांग्रेसका उम्मेद्वार तिलक राईले १६ हजार १ सय २ मत पाएका थिए भने तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेद्वार अइन्द्रविक्रम बेघाले ११ हजार १ सय ८० मत पाएका थिए ।
२०७४ निर्वाचनमा सुब्बासँग झण्डै ५ हजार मतले पराजित तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराए । त्यो पनि करिब ३ हजार मतले । तिलकले २६ हजार ७ सय ९ मत ल्याउँदा नेकपाका प्रकाशले २३ हजार ९ सय १४ मत मात्र पाए ।

यसपटक मत बढेको छ । अहिले गठबन्धनमा धेरै दल रहेको र मत पनि बढी पुगेको हुनाले यस मानेमा पनि गठबन्धन ढुक्क छ । तर अर्कोतर्फ एमाले एक्लै भिडेपनि जनलहर आफ्नै पक्षमा रहेको चुनाव जित्नेमा ढुक्क छ ।
थपिएको नयाँ मतदाता र कांग्रेस, माओवादीलगायत सबै पार्टीको मत मिसाउँदा सहजै चुनाव जित्नेमा गठबन्धन ढुक्क रहेको नेपाली कांग्रेसका सभापति श्याम पोख्रेल बताउँछन् । ‘कांग्रेससहितको गठबन्धनले यसपटक चुनाव जित्नुपर्ने बाध्यता छ, माथिदेखि नै त्यही सर्कुलर छ कि चुनाव जितिएन भने संविधान र लोकतन्त्र नै धरापमा पर्छ’, उनले थपे, ‘नयाँ मतदाता जति धेरैजसो स्वतन्त्रले लैजालान् अर्थात् त्यतै मत हाल्लान् साथै त्यतिबेला कम्युनिष्टको भोट पनि स्वतन्त्रले धेरै काट्लान् तर पनि गठबन्धनमा रहेका दलले धेरैजसो गठबन्धनकै उम्मेदवारलाई मत लगाउँछन् ।’
उनले गठबन्धनका सबै दलका नेता कार्यकर्ताले भित्री दिलदेखि नै मत हाल्ने बताए । ‘गठबन्धन त्यतिकै बनेको होइन’, उनले भने, ‘भित्री दिल अर्थात् मनदेखि नै मत हालेर देशलाई हाँक्नुपर्छ, संविधान र लोकतन्त्रलाई धरापमा पार्न दिनुहुँदैन भनेर पहिलादेखि नै लागेको जगजाहेर नै छ ।’
नेकपा एमालेका धरान अध्यक्ष हर्कजङ एभेङ एमालेले सहजै चुनाव जित्ने बताउँछन् । पुराना मतदाता, २०७४ कै जस्तो जनलहर आदि कारण एमालेको चुनाव जित्ने आधार रहेको उनी बताउँछन् । उपनिर्वाचनमा ढिलो प्रचार, उम्मेदवार कमजोर आदि कारणले एमालेले हारेको उनले बताए । ‘उपनिर्वाचनमा हारेकै हो, राम्ररी प्रचार भएन, भ्रम चिन सकेनौं, यसपटक भ्रम चिरिसकेका छौं’, उनले थपे, स्व. तारा सुब्बाको पालामा १७३ वटा टोल कमिटी थिए, अहिले २ सय २५ टोल कमिटी छन्, ती सबै एक्टिभ भएर लागेका छन्, त्यतिबेला पाँचवटा जनसंगठन एकजुट थिए, अहिले १४ वटा जनसंगठन एक्टिभ छन्, त्यही भएर पनि चुनाव जित्छौं भन्ने हाम्रो आँकलन हो ।’ २०७४ मा १४ वटा भूगोलसहित जितेको एमालेले यसपटक अझै बढाउने उनले दावी गरे ।
यस्तै, स्वतन्त्रका उम्मेदवार हर्कले यसपटक दलहरुले भोट पाउन निकै मुस्किल भएको बताए । उनले यसपटक आफूले ४० हजार मत ल्याउने दावी गरे । ‘म यसपटक जनताको पक्षमा उभिएकोले ४० हजार मत ल्याउँछु ।’ उनले भने ।
लोकप्रियले जित्छः प्रा.डा. न्यौपाने
प्रजातान्त्रिक र वामपन्थी आन्दोलनलाई नजिकबाट बुझेका प्रा.डा. टङ्कप्रसाद न्यौपाने भन्छन्, ‘यसपटक पनि विगतजस्तै प्रजातान्त्रिक र वामपन्थी उम्मेदवारबीच प्रतिस्पर्धा हुन्छ ।’ उनले धरान वामपन्थीको गढ र विरासतका रुपमा अझैपनि रहेको बताउँदै उनले फोन सम्पर्कमा भने, ‘यसपटक लोकप्रिय र जनताको मन जितेका उम्मेदवारले जित्ने पक्कापक्की भइसकेको छ, लोकप्रिय र जनताको मन जितेका साथै भिजेका नेताले नै यसपटक जित्ने छाँटकाँट देखिइसक्यो ।’
यस्ता मतदाता निर्णायक
थप भएको मतदाता र सुकुम्बासी वस्ती आउँदो निर्वाचनमा निर्णायक हुने देखिन्छ । गठबन्धनका नेता प्रेम भन्छन्, ‘यसपटक ५ हजार बढी मतले गठबन्धनले जित्छ ।’ धरानमा सुकुम्बासी वस्तीतर्फ १३ हजार ५ सय घरपरिवारको २४ हजार मत छ । सुकुम्बासीकै जनता पनि कांग्रेस, माओवादी, एमालेमै आवद्ध छन् । नेपाल बसोवास बस्ती समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले यसपटक स्वविवेकले मत हाल्न परिपत्र गरिएको बताउँछन् ।
प्रा.डा. न्यौपाने बजारको होहल्लाले खासै प्रभाव नपार्ने पनि बताउँछन् । उनले सुकुम्बासीको मत निर्णायक हुने बताए । ‘सुकुम्बासी क्षेत्रबाट प्रभाव पर्छ । सुकुम्बासीको मनोविज्ञानले धरानमा काम गर्छ ।’
जित्नेलाई दिने मानसिकता
धरानका अध्यापक डिवी श्रेष्ठ पनि भन्छन्, ‘जनता भनेका निर्णायक हुन् तर उनीहरू जसले जित्छ उसैलाई भोट हालौं भन्ने मानसिकताबाट पनि ग्रस्त छन् । यही भएर जित्ने पार्टीलाई नै धरानमा भोट हालिहाल्छन् ।’

प्रकाशित मिति: बैशाख २२ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend