धरानः लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुले आफू निर्वाचित भएर आएको खण्डमा जनताले अनुभूति गर्ने खालको काम गरेर देखाउने बताएका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनतर्फबाट नेपाली कांग्रेसका तर्फबाट धरान उपमहानगरपालिकाको मेयर प्रतिष्पर्धी किशोर राई र उपमेयरका प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले धरान ११ मा घरदैलो कार्यक्रममा यस्तो प्रतिबद्धता जनाएका हुन् ।
उनीहरुले धरानमा रहेको खानेपानी अभावलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका थिए । खानेपानीमा धरानको समग्र विकास जोडिएकोले पहिलो प्राथमिकता खानेपानीलाई दिने उनीहरुले प्रतिबद्धता जनाएका थिए । मेयरका उम्मेदवार राईले भने, ‘धरानको हरेक विकासमा खानेपानी जोडिएको हुन्छ, खानेपानी विना धरानको विकास हुनै सक्दैन, त्यसैले हामी नेतृत्वमा पुगेको खण्डमा धरानको अन्य विकासको रकम कटौती गरेर भएपनि खानेपानी समस्या समाधानतर्फ केन्द्रित हुन्छौं ।’
उनले यसका अलावा अन्य विकासका कुराहरुलाई प्राथमिकतामा आधारमा पूरा गर्दै जाने प्रतिबद्धता जनाएका छन् । यसैगरी उपमेयरका प्रतिष्पर्धा बेघाले गठबन्धन नेतृत्वमा पुग्दा कसैको एक्लौटी वर्चश्व नहुने भएकोले छलफल र बहसपछि मात्र विकास निर्माणका कार्यहरु अगाडि बढ्ने बताए । उनले भने, ‘हाम्रो एजेण्डा नै पहिलो खानेपानी समस्या समाधानको हो, हामी जितेर गएपछि पहिलो निर्णय नै खानेपानी समस्या समाधान हुनेछ ।’

धरान–११ को टोल टोलमा पुगेका उनीहरुको कुरालाई त्यहाँका सर्वसाधारणले चासोको रुपमा सुनेका थिए । विगतमा नेकपा एमालेले भोट माग्दा वडाको यही प्रतिबद्धता जनाए पनि पूरा नगरेको गुनासो गरेका सर्वसाधारणले गठबन्धनका उम्मेदवारहरुले गरेको प्रतिबद्धतामा भने विश्वास गरेका थिए । सर्वसाधारणले विगतमा एमालेले झुटो आश्वासन बाडेर मत मत मागेर विजयी भएपनि वडाको विकासमा ठोस काम गर्न नसकेको बताएका थिए । तर गठबन्धनका उम्मेदवारकातर्फबाट मेयरका प्रत्यासी बनेका राई र उपमेयर बेघाप्रति भने भरोसा भएको बताएका थिए ।

राईले धरानलाई खेलकुदको सहर भनेर चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको सबैको सामु छर्लङ भएको बताउँदै उनीहरुले युवा जोश र जाँगर भएका राईप्रति धरान ११ का सर्वसाधारणप्रति ठूलो भरोसा भएका बताएका थिए । उनीहरुले उपमेयर बेघा शालिन, प्रष्ट, इमान्दार, कर्तव्यनिष्ट उम्मेदवार भएका कारण गठबन्धनका मेयर तथा उपमेयर नेतृत्वमा पुगे उपमहानगरपालिकाभित्रको अराजकताको समेत अन्त्य हुने विश्वास सर्वसाधारणले गरेका थिए ।