धरानः आसन्न स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकामा लोकतान्त्रिक बाम गठबन्धनको चुनावी अभियान जारी छ ।
मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट किशोर राई उठेका छन् भने उपमेयर पदमा माओवादी केन्द्रका तर्फबाट अइन्द्रविक्रम बेघा उठेका छन् । दुवैजना उम्मेद्वारप्रति धरानमा जनताको विश्वास बढ्दै गएको उनीहरुले बताएका छन् ।
शुक्रबार धरान–१७ स्थित पटनालीका बासिन्दाले लोकतान्त्रिक गठबन्धनलाई यसपटक भोट लगाउने प्रतिबद्धता जनाएका छन् । एमालेको सरकारले धरानलाई यत्रो वर्ष थिलथिलो बनाएको गठबन्धनका उम्मेद्वारसमक्ष उनीहरुले स्मरण पनि गराएका थिए ।
उनीहरुले गठबन्धनका मेयर र उपमेयरका प्रत्यासीलाई पटनालीको विकासको लागि महत्वपूर्ण भूमिका खेल्न पनि आग्रह गरे । कांग्रेस नगर सभापति श्याम पोखरेलले एमालेसँग रुष्ट भएर मतदाताहरुले यसपटक लोकतान्त्रिक बाम गठबन्धनको पक्षमा मत लगाउँछौं भनेर आवाज उठाइरहेको बताए । ‘अहिले एमाले आफूले गरेका पहिलेका गल्तिहरुमा सच्याउँदा सच्याउँदै उसको दिन बितिरहेको छ भने हामीले गरेका राम्रा कामहरुको प्रचार प्रसार गर्दै अब आगामी दिनमा बाँकी रहेका कामहरुलाई अगाडि बढाउने गरी यो लोकतान्त्रिक बाम गठबन्धन लागेको छ’, उनले भने ।
घरदैलो कार्यक्रममा मेयरका उम्मेद्वार किशोर राईले पटनाली मात्र नभई धरानको विकास र समृद्धिको लागि लोकतान्त्रिक बाम गठबन्धनलाई विजयी गराउन मतदाता समक्ष अनुरोध गरे । साथै, उनले मतदातासँग मत माग्दै धरानमा भ्रष्टाचारमुक्त, जनताले अपेक्षा गरेअनुसारको सुनिश्चितता, विभिन्न समस्याहरुको बारेमा धरानलाई दीर्घकालीनरुपमा अगाडि बढाउनका लागि पनि लोकतान्त्रिक बाम गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।