धरानः धरानमा लोकतान्त्रिक बाम गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको छ ।
धरानमा गठबन्धनमा रहेको दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) को तर्फबाट प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो । गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राई र उपमेयरका उम्मेद्वार अइन्द्रबिक्रम बेघासहित कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीका नेताहरुले संयुक्तहरुपमा प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
गठबन्धनले सार्वजनिक गरेको चुनावी प्रतिबद्धता अर्थात् घोषणापत्रमा ‘हाम्रो दृष्टि समुन्नत’ धरान लेखिएको छ । घोषणापत्रमा दीर्घकालीन योजना र रणनीतिक योजनाहरु समेटिएका छन् । घोषणापत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, व्यापारिक पूर्वाधारमा जोड दिँदै बहुसांस्कृतिक आवासीय सुन्दर सहरको रुपमा विकास गरिने जनाइएको छ ।
घोषणापत्रमा उपमहानगरपालिकालाई भ्रष्टाचाररहित र पारदर्शी नमूना नगर बनाइने जनाइएको छ छ । ‘भ्रष्टाचारमा शुन्य सहनशीलता नीति लिइनेछ, कसैले भ्रष्टाचार गरेको आरोप आएको २४ घण्टाभित्र अनुसन्धान गरेर छानविन गर्नुपर्ने देखि २४ घण्टाभित्र निलम्वन गरिने जनाइएको छ । ‘भ्रष्टाचार गरेको प्रमाणित भए २४ घण्टाभित्र निश्काशन गरिनेछ’, घोषणापत्रमा भनिएको छ, ‘यसको लागि उपमेयरको नेतृत्वमा समिति गठन गरिनेछ ।’ घोषणापत्रमा जनप्रतिनिधिले समेत भ्रष्टाचार गरेको प्रमाणित भएमा सोहीअनुसार कारवाही गरिने उल्लेख छ ।
गठबन्धनको घोषणापत्रमा धरानका सबै वडामा निश्चित मापदण्ड र आधारमा बजेट रकट छुट्याइने जनाइएको छ ।
घोषणापत्रमा कोशी र तमोरको पानी ल्याउनेदेखि धरानमा धरान उपमहानगरपालिकालाई महानगरपालिका बनाउने समेटिएको छ । ‘धरान उपमहानगरपालिकालाई महानगर बनाउन पहल गरिनेछ’, घोषणापत्रमा भनिएको छ, ‘खानेपानीको समस्या समाधानका लागि दीर्घकालीन समाधान खोजिनेछ ।
हाल सञ्चालनमा रहेको खानेपानी व्यवस्थापनमा देखिएको प्राविधिकलगायतका समस्याहरुलाई विज्ञहरुको सल्लाहबाट समाधान गर्ने र विभिन्न वैकल्पिक उपायहरु (चतरास्थित कोशी नदी, तमोरलगायत अन्य स्रोत) पहिचान गरी समस्याको दीर्घकालीन समाधान खोजिने घोषणापत्रमा उल्लेख गरिएको छ । घोषणापत्रमा धरानको सबै घर परिवारमा खानेपानीको धारा जडान गर्दै सबै परिवारलाई मासिक ५ हजार लिटर खानेपानी निःशुल्क दिइनेसम्मको योजना अघि सारिएको छ ।
यस्तै, धरानको तीनकुने बसपार्कलाई आधुनिक बनाउँदै छिटो सम्पन्न गर्ने, सप्तरंगी क्षेत्रमा बृहत होल्डिङ क्षेत्र बनाइने, पानमारा, देउराली, विष्णुपादुका, पत्रङ्बारी, भेडेटार, शिवधारा, दानाबारीलगायतका स्थानमा व्यवस्थित बसपार्क साथै पार्किङस्थल निर्माण गरिने जनाइएको छ ।
धरानलाई आवासीय शहर बनाउने, पाँच वर्षभित्र धरानको नयाँ नापी, संयुक्त आवासका परियोजना सञ्चालन, सार्वजनिक जमीनको संरक्षण, नीति तथा अनुसन्धान केन्द्र स्थापना गरी धरानको विकासको मोडालिटी तयार पारिने, धरानका ठूला विकासका आयोजनालाई नगर गौरवको आयोजनाका रुपमा घोषणा गरिने विषय पनि घोषणापत्रमा समेटिएका छन् ।
यस्तै, धरानलाई पूर्व पश्चिम, उत्तर दक्षिणको केन्द्र बनाइने, भाषिक, सांस्कृतिक शहरका रुपमा विकास, भ्रष्टाचाररहित नगरको विकास गरिने, धरानलाई शैक्षिक, स्वास्थ्य, खेलकुद, पर्यटन एवं आवासीय शहरको रुपमा विकास गरिने जनाइएको छ ।
यस्तै, धरान–लेउती सुरुङ मार्ग निर्माणको पहल, जोगवनी–धरान–किमाथाङ्का सडक छिटो सम्पन्न गर्न पहल, धरान–मूलघाट–तमोर करिडोर हुँदै ओलाङचुङ्गोलामा सडक सम्पन्न गर्न पहल, धरान–चतरा–हेटौंडा राजमार्ग छिटो सम्पन्न गर्न पहल, धरान–भेडेटार–रवि सडकको निर्माणका लागि पहल गरिने घोषणापत्रमा उल्लेख छ । धरानको सर्दु र सेउती खोलामा तटबन्धन बनाई वैकल्पिक सडक निर्माण गरिने जनाइएको छ ।
घोषणापत्रमा धरानको गौरवको योजना मानिएको धरान विमानस्थल स्वीकृती प्राप्त भइसकेको र यसको लागि उचित व्यवस्थापन गरी तत्काल निर्माण कार्य अघि बढाउन पहल गरिने समेत जनाइएको छ । नगरका गौरवका आयोजनाहरुको छनौट सार्वजनिक सुनुवाइमार्फत् गरिने जनाइएको छ ।
उज्यालो धरानको विकास, धरानलाई शैक्षिक केन्द्रको रुपमा विकास, मातृभाषा शिक्षामा जोड दिइएको छ भने बहुजातीय पहिचानयुक्त शहर बनाइने समेत जनाइएको छ । आधारभूत स्वास्थ्यलाई निःशुल्क गरिने जनाइएको छ । सुगर, प्रेसर, मधुमेह रोगबाट पीडित र ६५ वर्षमाथिका व्यक्तिलाई निःशुल्क औषधि उपलब्ध गराइने, क्यान्सर, बोनम्यारो, मुटु, पक्षघातजस्ता खतरनाक रोगबाट पीडितलाई तीनलाख रुपैयाँ दिइने घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमा सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेलाई भूमि आयोगसँगको सहकार्यमा लालपुर्जा र घर नम्बर नपाएकालाई तत्कालै घर नम्बर दिइने जनाइएको छ । धरानलाई खेलकुदको शहरका रुपमा विकास गर्नेदेखि धरानमा औद्योगिक क्षेत्रको विकास र विस्तार गरिने जनाइएको छ । कालो बङगुर, लोकल रक्सी, खुकुरी, ढाकाका सामान, अदुवा, बेसार उत्पादनमा जोड दिइने र धराने ब्राण्ड बनाइने समेत घोषणापत्रमा छ ।
घोषणापत्रमा धरानका सडकहरुको मर्मत सम्भारका लागि उपमहानगरपालिकामा छुट्टै इकाई बनाई धमाधम मर्मत सम्भार गरिने जनाइएको छ । तस्वीरहरुः लक्ष्मण थापा




