धरानः किरात राईहरुको महान चाड साकेला पर्व उभौली यस वर्षपनि धुमधामसाथ मनाइने भएको छ ।
किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीले शनिबार धरानमा आयोजित पत्रकार सम्मेलनमा सुनसरीमा १५ दिनसम्म मनाइने चाडको तिथिमिति साथै प्राकासस्तरीय साकेला शिली प्रदर्शनी कार्यक्रम सार्वजनिक गरेको छ ।
जिल्ला अध्यक्ष राजेन्द्र राईका अनुसार १५ दिनसम्म चल्ने यो पर्वको पहिलोदिन जेठ २ गते बुधबार धरान–१४ विजयपुरमा रहेको बुद्धिकर्ण राईको दरबार क्षेत्र विजयपुर गढीमा धरान लगायत सुनसरीका विभिन्न स्थानबाट आएका किरातीहरुले पूजाआजा गरी ढोल झ्याम्टासहित नाचगान गर्नेछन् ।
जेठ १३ गतेसम्म सुनसरीका इटहरी, पकली, विष्णुपादुका, दुहवी, पाँचकन्या, हाँसपोसा, बराहक्षेत्र, शान्तिनगर, बक्लौरी, इनरुवा, प्रकाशपुर आदि ठाउँमा साकेला शिली प्रदर्शनी कार्यक्रम आयोजना गरिने उनले बताए । यस्तै, जेठ १४ गते धरानस्थित साकेला पार्कमा वडा कार्य समितिस्तरीय प्रतियोगितात्मक साकेला शिली प्रदर्शनी कार्यक्रम राखिएको जनाइएको छ ।
किरात राईहरुको पहिचान र अस्तित्वलाई सदा बचाई राख्न किरात राईहरुको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले २०४५ सालमा स्थापना भएको किरायाले आफ्नो पहिचान र सांस्कृति अयभानको रुपमा राजनीतिक अभियान पनि थालेको उनले जानकारी दिए ।
किरात राई यायोक्खाका सचिव नविन राईले आफ्नो पुर्खादेखि चलिआएको सांस्कृतिक पर्वलाई निरन्तरता दिँदै भावीपुस्तासम्म यसको जर्गेना गर्नकै लागि यो पर्व सामूहिकरुपमा मनाउन थालिएको बताए । यो चाड नेपालमा किरातीहरुको वाहुल्यता भएको स्थानमा धुमधाम मनाउनुका साथै किराती विदेशमा समेत मनाउने गरिएको छ ।
लगाइएका बाली सप्रिऊन्, वर्षभरि पुग्ने अन्न फलाऊन्, चौपाया, पशुपंक्षी र मानव जीवनको सुस्वास्थ्य र दीर्घजीवन होस्, प्राकृतिक प्रकोप नहोस् लगायत कामनाका लागि किरात राई समुदायले सदियौँदेखि साकेला उभौली मनाउँदै आएका छन् । आदिवासी किरात राईहरुले वर्षमा दुईपल्ट प्रकृतिको पूजा र पितृपुर्खाहरुलाई सम्झने क्रममा तीन चूल्हा पुज्ने संस्कारअन्तर्गत साकेला उभौली मनाउने गर्दछन् । उभौली प्रत्येक वर्ष बैशाख पूर्णिमादेखि सुरु हुन्छ ।
यो किरात राईहरुको जातीय पहिचान, ऐतिहासिकता र मौलिकता झल्काउने चाड हो । प्रत्येक उभौलीको अवसरमा अन्तर प्रारम्भिक कार्यसमिति साकेला सिली प्रतियोगिता आयोजना हुँदै आएको छ । यसअनुसार प्रत्येक माताहत समितिहरुलाई तयारीका लागि सर्कुलर गरिसकिएको सचिव राईले जानकारी दिए । प्रतियोगितामा सामूहिक नृत्यमा एकरुपता, सहभागी संख्या, सिलीको उचित प्रयोग, मौलिक भेषभुषा र सामाग्रीको प्रयोग आदिका आधारमा मूल्याङ्कन हुने गर्छ ।
साकेला चाडको महत्वपूर्ण पक्षको रुपमा रहेको साकेला नृत्यलाई उचित संरक्षण, सम्वद्र्धन र व्यवस्थापनका लागि प्रतियोगिता सुरु भएको उपाध्यक्ष रमेश राई बताउँछन् ।
अझ साकेला सिलीमा भएका विविधताहरुलाई लोप हुनबाट जोगाउन र स्वस्थ प्रतिस्पर्धामार्फत मौलिक संस्कृतिप्रति किरात राईहरुको थप लगाव स्थापित गर्न प्रतियोगिता आवश्यक रहेको उनको भनाइ छ । यस वर्ष पनि प्रदेश १ को नाम किरात प्रदेश हुनुपर्दछ भन्ने किरात राईहरुको मागलाई विशिष्टरुपमा उठाइने जनाइएको छ । ‘आफ्नो गुमेको राज्य, पहिचान र इतिहासलाई साक्षी राखी अब बन्ने नयाँ सङ्घीय नेपालमा किरात स्वायत्त राज्य जित्ने लडाइमा किरात राई यायोक्खा होमिएको छ ।’ अध्यक्ष राई भन्छन् । ‘साकेला नाच सदियौंदेखि चलिआएको संस्कार हो । अहिले राज्य प्राप्तिको आन्दोलनको एक सहायक गतिविधि वा सङ्केतका रुपमा लिइएको छ ।’ उनले थपे ।
