धरानः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरानको विकासको जिम्मा आफूले लिने बताएका छन् ।
धरानस्थित भानुचोकमा आयोजित नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनले धरानको विकासको जिम्मा लिने बताएका हुन् । ‘विकासका निम्ति योजना पठाएपछि र विकासका निम्ति बजेट पठाएपछि यहाँ सदुपयोग गरेर ठीक ढङ्गले प्रयोग गर्ने जनप्रतिनिधिपनि चाहिन्छ नि’, उनले भाषणमा भने, ‘त्यसकारण मेरो आग्रह छ, मञ्जु भण्डारीलाई भोट दिनुहोस्, पदम लिम्बूलाई भोट दिनुहोस्, भोट दिने तपाईको जिम्मा, जिताउने उहाँको काम धरान उपमहानगरपालिकाको विकास मेरो जिम्मा ।’
उनले मतदातालाई ढुक्क रहन आग्रह गरे । ‘केपी ओलीले धरानको विकासको जिम्मा लिन्छु भन्छ, देशैभर विकासको जिम्मा लिने ओली र एमालेले धरान उपमहानगरपालिकाको विकासको जिम्मा लिँदैन होला, लिन्छ ?’ उनले भने ।
उनले यहाँको पर्यटन, खानेपानीको विषयमा आफू जानकार रहेको बताउँदै भने, ‘यी सब कुरा मलाई थाहा छ, त्यसकारण यसपटक भोट दिनुहोस् ।’
उनले धरानमा पटक पटक एमालेले जितेको तर उपनिर्वाचनमा हारेको भन्दै आश्चार्य समेत जनाए । ‘जनताले एमाले नजिताऔं भनेर सोच्दैनन् तर २०७६ को उपनिर्वाचन कसरी हारयो’, उनले भने, ‘त्यो उनीहरुले नै जानुन् ।’
उनले यहाँ जुनसुकै जातिलाई उठाएपनि एमालेले जित्दै आएको बताए । ‘यहाँ कहिले कुन्ता शर्मा उठायौं, कहिले मनोज मेन्याङ्बो उठायौं, कहिले कृष्णकुमार राई उठायौं, जो उठायो एमालेले जित्यो,’ ओलीले भने, ‘अलिकति उपनिर्वाचनमा कसरी कसरी तौल मिलेन, एमाले आफैले भित्रबाट बुद्धि पुगेन कि म जान्दिनँ ।’
उनले धरानमा २० वटै वडा एमालेले जित्ने ठोकुवा गरे । ‘पहिला कतिवटा वडा जितेको रे’, उनले भने, ‘१४ वटामात्रै जितेको ? अब हेर्नुहोस् ६ वटा थपेर २० वटै वडा जित्छ ।’
तस्वीरहरुः लक्ष्मण थापा, शेखरनाथ जोगी

















