Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयरले विदा हुने बेलामा बोलाए पत्रकार

हाम्रो कोशी आवाज
बैशाख २६ २०७९, सोमबार
धरानका मेयरले विदा हुने बेलामा बोलाए पत्रकार

धरानः धरानका मेयर तिलक राईको कार्यकाल सकिन अब केहीदिनमात्रै बाँकी छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले निर्वाचित मेयर धरान उपमहानगरपालिका आउँदैछन् ।
विदा हुने बेलामा उनले धरान उपमहानगरपालिकाको बैठक कक्षमा पत्रकार सम्मेलन राखेका छन् । उनको कार्यकालमा भएका महत्वपूर्ण कामहरुकाबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले ०७६ मङ्सीर १६ मा आफू मेयरमा निर्वाचित भएर आएदेखि हालसम्म गरेका कामको फेहरिस्त सुनाएका थिए । पत्रकार सम्मेलनमा विकास, निर्माणदेखि खानेपानीको विषयसम्म उनले सुनाएका थिए ।
उनले आफूले यतिका वर्षसम्म आफू नै सन्तुष्ट हुने समेत काम गर्न नसकेको दुखेसो पोखे । समय कम भएको र अढाइ वर्षे कार्यकालमा आफूले केही गर्न नसकेको उनले बताए । ‘यतिका वर्षसम्म मैले धेरै काम गरें तर मैले जति काम गरें, त्यसमा म आफैं सन्तुष्ट छैन’, उनले भने, ‘त्यही भएर म भन्छु, यतिका वर्ष मैले केही गर्न सकिनँ जस्तो लाग्छ ।’
उनले विशेषतः आफूले नेतृत्व सम्हालेलगत्तै कोरोना कहर आएको र भनेजति, सोंचेजति केही गर्न नसकेको समेत बताए । ‘कोरोना महामारीले धेरैजसो ध्यान त्यही खर्च भयो’, उनले भने, ‘त्यही भएर पनि मलाई सोचेजस्तो नलागेको हो ।’
उनले कतिपय काम गर्न खोज्दा खोज्दै हुन नसकेको समेत बताए । आफूले पूर्ण कार्यकाल नपाएको र प्रतिपक्षीको केही अवरोधका कारण पनि केही गर्न नसकेको दुखेसो पोखे । ‘२० जनाको कार्यपालिकामा म सहित ६ जना थियौं’, उनले भने, ‘खानेपानीलगायतका विषयमा कार्यपालिका बैठक अवरोधदेखि अन्य काम पनि हुन खोजे तर पनि मैले अभिभावकको हिसाबले सबैलाई शान्त पार्ने कोसिस गरेको थिएँ ।’
उनले धराने जनताले चाहे फेरि पनि मेयरमा उठेर पूर्ण कार्यकाल चलाउने इच्छा व्यक्त गरे । ‘मेरो कार्यकालमा गरिएका कामहरु जानकारी दिएलगत्तै अन्तिममा लेखेको छु धराने जनताले चाहे फेरि पनि आउन सक्छु’, उनले भने ।
उनले प्रतिकुल परिस्थितिमा समेत आफ्नो नेतृत्व नगरको समृद्धि र विकासको लागि कामहरु गर्न सफल भएको जानकारी दिए । जटिलतामा रहेका योजनाहरुलाई शुरु गरेर सम्पन्न गर्ने चरणमा रहेको समेत जानकारी दिए । उनले बसपार्कलगायतका केही कामहरु अघि बढिसकेको समेत बताए ।
‘राम्रा कामहरुलाई निरन्तरता दिने र धरानको सम्भावना रहेका योजनाहरुलाई अगाडि बढाउने कार्यहरु गरयौं । प्रतिकुल परिस्थितिको बाबजुद पनि मेरो नेतृत्वले नगरको विकास र समृद्धिलाई बन्धक हुन दिएनौं । सबै खाले राजनैतिक चुनौतीलाई संयमताकाबीच व्यवस्थापन गरी धरानलाई निकास दिने पहल कदमीको नेतृत्व गर्ने अवसर प्राप्त भयो ।’ उनले भने । उनले धरानको शिक्षा, स्वास्थ्य र विकास निर्माणमा धेरै काम हुन सकेको बताए ।
यस्तै, खानेपानीको विषयमा पानीको उत्पादनमा समस्या र वितरणमा पनि समस्या देखिएकोले योजना पूर्णरुपमा सम्पन्न नभएको अवस्था रहेको बताए । आयोजना असफल नरहेको र अपूरो रहेको उनले बताए । ‘असफल आयोजना त भनिहाल्न मिल्दैन किनभने अहिले पनि प्रक्रियामै छ’, उनले भने, ‘यो आयोजना अपूरोचाहिँ हो ।’
खानेपानीबारे उनको सुझाव
१. विज्ञ र कार्यदलले दिएको सुझाव अनुसार नेपाल सरकारले आयोजना पूर्ण गर्नेगरी बजेट व्यवस्था गरी बाँकी काम सम्पन्न गर्नुपर्ने, सभागृहमा ट्याङ्की थप गर्नुपर्ने, पिण्डेश्वर थप ट्याङ्की निर्माण गर्नुपर्ने ।
२. जनसंख्यासँगै पानीको खपत निरन्तर बढिरहेको हुँदा समयसमयमा मुहानको संरक्षण र थप नयाँ आयोजना निर्माण गरी पानी आपूर्तिको सुनिश्चितता गर्नुपर्ने ।
३. त्यसका लागि थप वेलहरु थप्नुपर्ने साथै अध्ययन अनुसार सप्तकोशीबाट केही वर्षमा नै योजना कार्यान्वयनमा ल्याउनुपर्ने साथै ठूला योजनाको रुपमा धरान लेउती सुरुबमार्गसँगै खानेपानी आपूर्तिको अध्ययन गर्नुपर्ने ।
४. सरकारसँगको निरन्तरको छलफल र सम्पर्क र पत्राचारको आाधारमा एकीकृत खानेपानी आयोजना साविक पञ्चकन्या गाविस हालको वडाहरु ४,५,६ र साविक विष्णुपादुका हालको वडा नं. २० पटनाली समेतलाई आपूर्ति हुनेगरी अध्ययनको लागि केही ठूला सहरसँगै धरान उपमहानगरपालिका समेतको छनौट भएको ।
५. नगरबासीहरुको तर्फबाट समेत यो आयोजनामा अपनत्व हुनेगरी समानुपातिक वितरण उपभोगका लागि एकअर्कामा सहयोगको भावना जरुरी भइसकेको छ । पुरानो र नयाँ पाईप लाईन व्यवस्थापन, इन्टरकनेक्सनमा समस्या छ । कतै पानी आउने, कतै नआउने दुई घर पर आउने अर्कोकोमा नआउने परिस्थिति छ । यस्तो परिस्थितिलाई सामान्यकरण गर्न खानेपानीका कर्मचारी प्राविधिकहरुलाई स्वतन्त्रपूर्वक काम गर्न दिनुपर्छ । अनाधिकृत धारा हटाउने काममा समेत नगरबासी उपभोक्ताहरुले सहयोग र सहजिकरण गरिदिन अनिवार्य छ । फाइल तस्वीरः हाम्रो कोशी आवाज

प्रकाशित मिति: बैशाख २६ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend