Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मतदाताको गुनासो

हाम्रो कोशी आवाज
बैशाख २७ २०७९, मंगलबार
धरानका मतदाताको गुनासो

धरानः
नेताहरू आउन थाले
चुनाव आएजस्तो छ
सोध्न थाले हालखबर
तपाईंलाई कस्तो छ
नदेखेझैं गर्नेहरू आफैं बोल्न आउँछन्
नमस्कार गर्दै अहिले घरघरै धाउँछन्
जनताको मान बढ्यो
चुनाव आएजस्तो छ
सोध्न थाले हालखबर
तपाईंलाई कस्तो छ
भाषणमा बाटो–बत्ती, जताततै विकास
जनता नै देउता भन्दै जोड्छन् पाताल–आकाश
गाउँमा नि चहलपहल
चुनाव आएजस्तो छ
सोध्न थाले हालखबर
तपाईंलाई कस्तो छ ?
–राजेश विद्रोही, उपप्राध्यापक, धरान
धरानः धरानमा मतदाताहरुले आफूहरुलाई चुनावको बेला मात्र सम्झिने गरेको गुनासो पोखेका छन् ।
धरानका मेयर, उपमेयर र वडाध्यक्षका उम्मेदवार घर घरमा पुगेर घरदैलो अभियान सक्न लागेका छन् । ‘अहिले चाहिनेभन्दा बढी निहुँरिएर ढोग्छन्, अरुबेला नमस्कार गर्दा पनि हात हल्लाउँदै भाग्छन्’, धरान–१५ का दीपेश राईले भने ।
धरान–८ की कला राईले चुनावका बेला दिनहुँजसो नेता घर घर आइपुग्ने गरेको बताउँदै भनिन्, ‘चुनाव ताका भोट माग्न आउँदा खुट्टा ढागौलाझैं गर्छन्’, उनले भनिन्, ‘तर स्वार्थ पूरा भएपछि हराउँछन्, चिनेपनि नचिनेको जस्तो गर्छन् ।’ उनले विशेषतः धरानमा पानीको समस्या ज्युँका त्युँ रहँदा भोट हाल्न पनि अल्छी लागेको आएको बताइन् । ‘भोट त दिनैपर्छ’, उनले भनिन्, ‘तर पानी दिन नसक्दा के भोट हाल्नु है जस्तो लाग्छ ।’
धरान–१७ का प्रकाश लम्जेलले चुनावका बेला मात्रै नेताहरु झुल्किने गरेको बताए । मजदुरी गर्दै परिवार पाल्दै आएका उनले नेताहरुले आश्वासन मात्रै बाँड्ने गरेको बताए । ‘नेताहरुले यसो गरिदिन्छौं, उसो गरिदिन्छौं भनिरहन्छन्’, उनले भने, ‘तर गरेको चाहिँ के होइन, अझ भन्ने हो भने हामी मजदुर त भोट बैंक मात्रै भयौं ।’
धरान–८ का विश्वबहादुर भुजेललाई भेट्न आजकाल दिनहुँ कुनै न कुनै दलका नेता आइरहन्छन् । ‘धेरै नेता आइसके’, उनले भने, ‘खासमा धरानको विकास केही पनि भएको जस्तो देख्दिनँ, त्यही भएर पनि नेता आएपनि वास्ता गर्दिनँ ।’ उनले यसपटक जसले काम गर्ने उसैलाई भोट दिने तरखरमा रहेको सुनाए । ‘यसपटक जसले काम गर्ला जस्तो देखिन्छ, सुनिन्छ, जानिन्छ उसैलाई मत दिने हो ।’
‘भोट माग्न आउँछन्, भोट पाएर जितिसकेपछि आ–आफ्नो दुनो सोझ्याउँछन्, हामीलाई के’, धरान–१२ मा मकै पोलेर बेच्दै गुजारा गर्दै आएकी धरान–३ की मैया कठेतले भनिन् ।

मौका दिनुहोस् भन्दै नेताहरु दगुरेको देख्दा आफूलाई छक्क लाग्ने गरेको धरानका भण्डाल चाम्लिङ राईले भने, ‘धरानमा जे जति हुनुपर्ने हो भइसकेको छैन, यहाँ रोजगारीको आवश्यकता छ, पानीको आवश्यकता छ तर ल्याउँछौं, गर्छौं भन्ने धेरै निस्किए, तर पनि काम हुनसकेको छैन । सरकार पनि ३० वर्ष चलाए फेरि मौका दिनुहोस् भन्दै आउँछन् ।’
उनले जनता झुक्किँदा झुक्किँदा धेरै भएको र आफूले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सो सरह भन्दै आएका राजेन्द्र लिङ्देनको समर्थनमा लागेको बताए । यो उनले आफूहरुको रहर नभई बाध्यता समेत भएको बताए । ‘धरानका राजनीतिक दलहरुदेखि वाक्क लागिसकेको छ, मैले उनको समर्थन गर्नु पनि बाध्यता नै हो ।’ उनले भने ।
अहिले पनि धेरै नेताहरुले धरानका लागि केही गर्छौं भन्दै भिजन ल्याएको तर कार्यान्वयनमा समस्या रहेको टिभी कालिकोटे गुनासो गरे । वर्षौदेखिका जनप्रतिनिधिले मतदातालाई गरेका बाचा पूरा नगरेकाले अहिलेका उम्मेदवारप्रति आफूहरूको भरोसा नभएको उनको भनाइ छ । ‘गरिब र निमुखालाई भोटका लागि मात्र प्रयोग गरिएकोमा निकै दुःख लागिरहेको छ, यसअघिको निर्वाचनमा गरेका बाचा जनप्रतिनिधिले पूरा नगरेकाले यो निर्वाचनमा केही सोच्नुपर्ने बेला आएको छ’, उनले भने ।
लिखित प्रतिबद्धताविना मत नदिने उनको तर्क छ । उनले यसपल्ट फरक तरिकाको र व्यक्तिले काम गर्न सक्छ सक्दैन भनेर छानेर भोट खसाल्ने उनले बताए । ‘यसपल्ट नेताहरु आइसके’, उनले भने, ‘अब त यो चुनावमा पार्टी हेरेरभन्दा पनि व्यक्ति हेरेर मतदान गर्नुपर्ने अवस्था आएको छ, अघिल्लो चुनावले हामीलाई धेरै पाठ सिकाएको छ ।’

प्रकाशित मिति: बैशाख २७ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend