धरानः धरानमा गठबन्धनको तर्फबाट अन्तिम चुनाव सभा आयोजना भएको छ ।
चुनावीसभामा बोल्ने अधिकांश वक्ताहरुले धरान आएर भाषण गरेर फर्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्माको ओलीमाथि कटाक्षमात्रै गरेनन् गठबन्धनले चुनाव जितिसकेको उद्घोष समेत गरे ।
प्रमुख वक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धरान उपमहानगरपालिकाको चुनाव गठबन्धनले जितिसकेको उद्घोष गरेर फर्किएका छन् । भानुचौकमा मङ्गलबार आयोजित आमसभामा उनले भने, ‘धरानमा गठबन्धनका उम्मेदवारहरूले चुनाव जितिसकेका छन् भनेर मैले घोषणा गर्दा हुने भए घोषणा गरिसक्थें ।’
उनले अब धरानको जिम्मा कसैले लिनु नपर्ने समेत बताए । मन्त्री कार्कीले यसअघि धरानमा नेकपा एमाले अध्यक्ष केपी ओलीले एमालेलाई जिताउनुस्–धरानको विकासको जिम्मा म लिन्छु भनी बताएको भनाइप्रति कटाक्ष गर्दै भने, ‘धरानको विकासको जिम्मा अब किशोर राई र अइन्द्रविक्रम बेघाले लिन्छन् ।’ गठबन्धनबाट मेयर, उपमेयरद्वयले सभामा गरेको प्रतिबद्धतालाई इमानदारितापूर्वक कार्यान्वयन गर्न आग्रह गर्दै धरानको विकास त्यसैबाट सम्भव भएको उनले बताए ।
ओलीको पार्टीले यसपालि स्थानीय तहको चुनावमा राष्ट्रियसभाको चुनावमा भोग्नुपरेको हविगतकै परिणाम भोग्नुपर्ने बताउँदै भने, ‘गठबन्धनले राष्ट्रियसभाको २१ सिटमा २० सिट जितेर एमालेलाई १ सिटमा सीमित गरिदिएको अवस्था जस्तै स्थितिमा पुरयाउन जनता लागेका छन् ।’
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका लेखनाथ न्यौपानेले धरानले दीर्घकालीन कार्यक्रम नहुँदा पञ्चायतकालदेखि नै पछि परेको बताए । उनले धरान उपमहानगरपालिका जस्तो ठाउँमा जनताले ट्याङ्करको पानी किनेर खानुपर्ने बाध्यता लाजमर्दो विषय भएको पनि बताए । उनले गठबन्धनले मात्रै धरानको विकास गर्न सक्ने बताए । उनले यो पटक गठबन्धनका उम्मेदवारलाई नजिताउने हो भने धरानको विकास सम्भव नहुने पनि ठोकुवा गरे । ‘यो पटक जसरी हुन्छ, गठबन्धनलाई जिताउनुहोस्, हामी केन्द्रदेखि लागेर केही गर्नेछौं ।’ उनले भने । प्रदेश १ का पूर्व प्रमुख गोविन्द सुब्बाले केपी ओलीले जनताले दुःख गरेर ल्याएको संविधान नरहने गरी संसद विघटन गरेकोले गठबन्धन संविधान जोगाउनकै लागि देशभर लागिपरेको बताए ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईले एमालेले आफूले मात्रै राम्रा काम गरेको भन्दै जस देखाउने गरेको बताए । ‘अहिले म पत्रपत्रिकालगायत अन्यमा देखिरहेको छु, धेरै काम एमालेले गरेको मात्रै देखाइएको छ’, उनले भने, ‘म मेयर थिएँ मलाई थाहा छ नि कसले काम गरेको भनेर ।’
सभामा गठबन्धनबाट मेयरका उम्मेदवार किशोर राईले धरानको विकासका लागि गठबन्धनको मार्गचित्रसहितको प्रतिबद्धताहरू बुँदागत रूपमा प्रस्तुत गरेका थिए । उपमेयरका उम्मेदवार अइन्द्रविक्रम बेघाले धरानको समृद्धि र विकासका लागि आफूहरुको उम्मेदवारी रहेको बताउँदै गठबन्धनलाई जिताउन आग्रह गरे ।
जनता समाजवादी पार्टीका भीम राईले ओलीले गठबन्धनबारे धेरै कटाक्ष गर्ने गरेको बताए । ‘केपी ओली दिनभरी भाषण सकेर बालकोट पुगेपछि के सम्झिन्छन् होला भनेर म सधैंजसो सोच्ने गर्छु, उनी भन्दा हुन् मेरै बेखुबीका कारणले गठबन्धन त जन्मेको होइन ।’
नेकपा एसका धर्म निरौलाले केपी ओलीले प्रतिगामी राप्रपालाई रोजेको र दर्शनबारे बुझ्ने मौका पाएको बताए । उनले ओली निष्ठाको राजनीति छोडेर ठट्यौली पारामा जनतामा प्रस्तुत भएर गएको र जनतामाझ गरेका बाचा पूरा गर्ने नेताका रुपमा आफूले चिनेको बताए ।
जनता समाजवादीको नगर अध्यक्ष ताजुब लिम्बूले स्वागत भाषण गरेको सभामा कांग्रेसका नगर सभापति श्याम पोखरेलले धरानको चुनावमा गठबन्धनका उम्मेदवारहरूको राजनीतिक परिचय प्रस्तुत गरेका थिए ।
उनले ओली राजनीतिक नेता नभएर हाँस्यव्यङ्ग्य पात्र मात्र भएको आरोप लगाए । उनले ओलीलाई गफाडीको संज्ञा समेत दिए । उनले ३० औै वर्षसम्म एमालेले गर्न नसकेको विकास अब पाँच वर्षमा गठबन्धनले गरेर देखाउने बताए । उनले मेयर तिलक राईले अढाइ वर्ष धरानको नेतृत्व गर्दा धरानले एक तरिकाले विकास बाटो समाएको बताए । धरानका सुकुम्बासीहरुलाई अब गठबन्धनको नेतृत्वले लालपुर्जा वितरण गर्ने उनले जिकिर गरे ।
तस्वीरहरुः लक्ष्मण थापा































