धरानः धरानमा विवादका कारण स्थगित भएको धरानको मतगणना कार्य सुचारु भएको छ ।
पौने ९ बजेदेखि मतगणना कार्य सुचारु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । दलहरुबीच विवादमा रहेको धरान–२० लाई थाँती राखेर अन्य वडाको मतगणना थाल्ने सहमती बनेपछि मतगणना कार्य सुचारु भएको हो ।
धरान–२० को मतगणना जारी रहँदा विष्णुपादुका मतदानस्थलको मतपत्रमा त्यहाँका अधिकृतको हस्ताक्षरबिनाको मतपत्र फेला परेपछि विवाद भएको थियो । त्यहाा धाँदली भएको माओवादी केन्द्रको आरोप छ ।
१८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि माओवादी कार्यकर्ताहरु आन्दोलित बनेको माओवादी केन्द्रका नेता सुदर्शन श्रेष्ठले जानकारी दिए । सो वडामा कांग्रेसका पदमबहादुर लिम्बूले ४ मतान्तरले विजयी भएका थिए । विवाद भएपछि मतपरिणाम सार्वजनिक गरिएको छैन । माओवादी केन्द्रबाट भने विजय तामाङ प्रतिस्पर्धामा थिए । माओवादी केन्द्रले पुनः गणना गर्न माग राखेको थियो ।