धरानः धरानबाट प्रकाशित ‘दिब्य रोशनी’ साप्ताहिक पत्रिकाको १८ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
वार्षिकोत्सवका अवसरमा धरानलाई कार्यक्षेत्र बनाइ पत्रकारिता गरिरहेका तीनजना पत्रकार र एकजना सामाजिक अभियन्ता सम्मानित भएका छन् ।
धरान उपमहानगरपालिकाको कर्मचारी एसोसिएसनको भवन धरानमा भएको वार्षिक उत्सव कार्यक्रममा पत्रिकाकी सम्पादक–प्रकाशक मनिता चाम्लिङले आफ्ना दिवंगत बुबा क्वीन गोरखा इञ्जिनियरिङ सार्जन्ट स्व. प्रभुराम राईको नाममा स्थापना गरेको ‘उत्कृष्ट सामाजिक पत्रकारिता सम्मान’ बाट कान्तिपुर दैनिकका प्रदीप मेन्याङ्बो र गोरखापत्र दैनिककी धरान संवाददाता निशा राई सम्मान गरिन् ।
यसैगरी आफ्ना दिवंगत कान्छा दाजु स्व. बाजुन राईको नाममा स्थापना गरेको ‘सिर्जनशील युवा पत्रकारिता सम्मान’ बाट ब्लाष्ट टाइम्स दैनिकका सम्पादक गोपाल दाहाल सम्मानित भएका छन् ।
सम्मानित पत्रकारहरुलाई जनही नगद ५ हजार ५ सय ५ रुपैयाँसहित सम्मानपत्र र खदाले सम्मान गरिएको थियो । कार्यक्रममा ‘उत्कृष्ट सामाजिक अभियन्ता सम्मान’ बाट अपाङ्ग पुनस्थापना गृह धरानका प्रमुख सुनिल खड्का सम्मानित भएका थिए । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि धरानका मेयर तिलक राई तथा नेपाल पत्रकार महासंघ सुनसरीका जनकऋषि राई, पत्रिकाकी सम्पादक मनिता चाम्लिङ लगायतले दोसल्ला र सम्मानपत्र तथा नगदले सम्मान गरेका थिए ।
तस्वीरः लक्ष्मण थापा
