Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा नयाँ मेयरका लागि कुर्सी खाली गर्दै विदा भए तिलक राई

हाम्रो कोशी आवाज
जेष्ठ ५ २०७९, बिहिबार
धरानमा नयाँ मेयरका लागि कुर्सी खाली गर्दै विदा भए तिलक राई

धरानः नयाँ निर्वाचित भई आउने नगर प्रमुखका लागि बिहीबारदेखि धरान उपमहानगरपालिका कार्यालयको कुर्सी खाली गरिएको छ ।
मेयर तिलक राईले विदाइ ज्ञापन कार्यक्रम आयोजना गरी मेयरसहितका नयाँ निर्वाचित जनप्रतिनिधिहरु खाली भएको घोषणा गरेका हुन्् । नवनिर्वाचित जनप्रतिनिधिहरुले पद बहाली नगरेसम्म शुक्रबारदेखि उपमहानगरपालिका कार्यालयको दैनिक काम कार्बाही कर्मचारीहरुबाट सञ्चालन हुनेछ ।
चुनावमा प्रत्यासी हुन राजीनामा दिएकाबाहेक वडाध्यक्ष बहाल रहेका ७ जना वडाध्यक्षले पनि बिहीबारदेखि उपमहानगर कार्यपालिकाबाट विदा भएका छन् । निर्वाचन आयोगले २०७४ सालको चुनावमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पदावधि जेठ ५ गते सकिने जानकारी गराएकोले सोहीअनुसार विदाइ ज्ञापन गरिएको बताउँदै मेयर राईले भने ‘हामी बहाल रहेकाहरुले नयाँ नगर प्रमुख, उपप्रमुख र निर्वाचित जनप्रतिनिधिहरुलाई पद बहाल गराई विदा लिने सोचेका थियौं तर नियमले त्यसो गर्न दिएन ।’
मेयर राई भने तत्कालीन नगर प्रमुख तारा सुब्बाको निधन भएको डेढ वर्षपछि उपचुनावबाट निर्वाचित भएका हुन् । उपमहानगरपालिकामा दुई तिहाई भन्दा बढी विपक्षी दलको बहुमत भएपनि सहमति र सहकार्यमा आफ्नो अढाई वर्षे कार्यकालले निर्विवाद पूर्णता पाउनुु नयाँ आउने जनप्रतिनिधिहरुका लागि उदाहरणिय विषय बन्न सक्ने उनले बताए । उनले भने, ‘सहमति सहकार्य नभए धरानको विकास र निर्माणका कार्यहरु अवरुद्ध बन्न सक्ने र धरान पछि पर्ने अवस्था आउन सक्छ ।’
अल्पकालीन कार्यकालका कारण खानेपानी जस्तो धरानको मुख्य योजनालाई पूर्णता दिएर समस्या समाधान गरेर देखाउने अवसर नपाएको बताउँदै उनले भने ‘पाँच वर्षको पूरा अवधि काम गर्न पाएको भए, उपमहानगरपालिकाले अघि बढाएको प्रायः सबै योजनाहरु परिणाममुखी अवस्थामा पुरयाउन सकिन्थ्यो भन्ने अहिले मलाई लागेको छ ।’ दिवंगत तारा सुब्बाको कार्यकालमा कानुनहरु बनाउने केही कामहरु भएको उल्लेख गर्दै मेयर राईले भने, ‘डेढ वर्ष कार्यवाहक नदिई तत्कालै चुनावबाट आउन पाएको भएपनि कमसेकम खानेपानीको काम पूरा गर्न सकिन्थ्यो ।’ सुब्बाको निधनपछि उपप्रमुख मञ्जु भण्डारी डेढवर्ष कार्यवाहक नगर प्रमुख भएकी थिइन् ।
मेयर राईले आफ्नो कार्यकालमा भ्रष्टाचार रोक्ने, विकास निर्माणका योजनाहरु लागत स्टीमेट भन्दा घटीमा सम्पन्न गर्ने, ठेक्का लगाउने काम भएकोले अनियमितताका गन्धसम्म नआएको कुरा सन्तोषको विषय भएको बताए ।
लामो समय विवाद र बजेटको अभाव भई रोकिएको बसपार्कको योजना परिमार्जन गरेर भएपनि कार्यान्वयनमा ल्याइएको बताउँदै एयरपार्टको कुरा भने पटक पटक उठाएर धरानबासीलाई भ्रममा राख्न नहुने उनको भनाइ छ । मेयर राईले भने, ‘सरकारको नीति निर्माण तह यो एयरपोर्टका विपक्षमा छ, त्यसमा बल गर्नु जनतालाई भ्रममा राख्नु मात्र हुनेछ ।’
संघीय गणतन्त्र आएपछि तिन तहको सरकारले घरघरमा सिंहदरबार पु¥याउने भनिएतापनि स्थानिय सरकार, प्रदेश र संघीय सरकार जस्तो अधिकार सम्पन्न नगरिएको आफ्नो अनुभव उनले सुनाए । मेयर राईका अनुसार स्थानिय सरकार भनिएपनि प्रदेश र संघीय जस्तो सरकार बनाउने अधिकार नगरपालिकालाई नहुँदा विकास, निर्माण, नीति निर्माण र कार्यान्वयन गतिशिल बनाउन नसकिएको अवस्था छ । उनले भने, ‘त्यसलाई कार्यान्वयन गर्न मेयरले कार्यपालिका सदस्यहरु मध्येबाट ७ जनाको स्थानिय सरकार बनाउन पाए कामको जिम्मेवारी बाँडफाड भई तिब्रता पाउन सक्थ्यो ।’ आफूले इमान्दार, परिणाममुखी कामगर्ने नगर प्रमुखको रुपमा काम गरेको बताउँदै नगरपालिकाको अनुभव अझैपनि धरानको विकासमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विदाइ ज्ञापन कार्यक्रममा धरान–२ का निवर्तमान वडाध्यक्ष माधव गोविन्द श्रेष्ठ, वडा नं. ११ का बाबुलाल लामा, महिला सदस्य हिरादेवी राई, सल्लाहकार आनन्द आचार्य लगायतले अनुभव सुनाउँदै मेयर तिलक राईको कार्यकाल उदाहरणिय रहेको बताए । सोही अवसरमा उपमहानगरपालिकाबाट धरानको इतिहास र वर्तमान झल्काउने विभिन्न पक्षमा प्रकाश पारिएका खोजमुलक लेखहरुको पुस्तक ‘धरान निरुपण’ मेयर राई र पुस्तकका प्रधान सम्पादक प्रा.डा. टंकप्रसाद न्यौपानेले विमोचन गरेका थिए ।

प्रकाशित मिति: जेष्ठ ५ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend