धरानः धरानमा स्थानीय निर्वाचन हुनुअघि नै धरान–१४ का कृष्णप्रसाद भट्टराईको नाम चर्चामा थियो ।
‘अधूरा सपना पूरा गर्नुछ’ भन्दै धरान–१४ मा वडाध्यक्षमा दोहोरिने भन्दै उनी लागिपरे तर नेपाली कांग्रेसले उनलाई टिकट दिएन । कृष्णप्रसाद त्यही व्यक्ति हुन् जसको टिकट कांग्रेसले खोसेको थियो । त्यो पनि मनोनयन दर्ता गर्ने दिन । मनोनयन दर्ता गर्ने दिन नै उनी राप्रपा नेपालमा प्रवेश गरे । धरान–१४ मा उनी लोकप्रिय, काम गर्ने क्षमता राख्ने व्यक्ति भएकाले त्यतिबेलै पनि उनलाई टिकट फिर्ता लिन ठूलो दबाव थियो । तर उनले टिकट फिर्ता लिएनन् ।
उनी बिना समूह राप्रपा (हलो) बाट वडाध्यक्षका लागि मात्रै चुनाव लडे तर जनताले पत्याइदिए । जनताले पत्याइदिएपछि वडाध्यक्षमा चुनाव जितेर छाडे । उनले २१ सय ४० मत खसेकोमा उनले ९०५ मत ल्याएर विजयी बनेका छन् । धरानमा इतिहासमै पहिलोपटक राप्रपाले वडाध्यक्ष जितेको स्थानीयबासीले जनाएका छन् ।
धरानस्थित निर्वाचन कार्यालयका अनुसार उनले ९०५ मत ल्याउँदा नेपाली कांग्रेसका श्याम श्रेष्ठ (रुख) ले भने २९८ मत मात्रै ल्याए । जहाँ कांग्रेसको गढ मानिएको धरान–१४ मा मेयर पदका लागि ४४३ मत मात्रै आयो । उनलाई पछ्याइरहेका नेकपा एमाले (सूर्य) का उत्तम आले मगर ६५४ मत ल्याएका थिए । यता खुल्ला वडा सदस्यमा नेपाली कांग्रेसका कमल भट्टराई ७२१, कांग्रेसकै राम तामाङले ७३१ मत ल्याए । यस्तै, दलित महिला सदस्यमा नेकपा एमालेकी दुर्गामाया विक ७३४ र खुल्ला महिला सदस्यमा झरना सुनुवार ७१२ मत ल्याएर विजयी बनिन् ।
वडाध्यक्षमा निर्वाचित भट्टराई २०७४ मा नेपाली कांग्रेसबाट चुनाव लडेर वडाध्यक्ष बनेका थिए । निकै राम्रो काम गरेको भन्दै प्रशंसा समेत पाएका उनले यसपटक पनि चुनाव जितेका हुन् । विजयी बनेपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै आफूले घोषणापत्रमा लेखिएका कुराहरु अक्षरस पालना गर्ने र अधूरा सपना पूरा गर्न लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तै, धरान–६ को वडाअध्यक्षमा कांग्रेसबाट बागी दिएर स्वतन्त्र उम्मेदवार बनेका भुपेन्द्र भट्टराई यसअघि नै निर्वाचित भइसकेका छन् ।
भट्टराईले १८२० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकुमार राईले राईले १३२८ मत प्राप्त गरे । विजयी भट्टराई २०७४ मा नेपाली कांग्रेसबाट अध्यक्षमा उठेका थिए । त्यसबेला उनी एमालेका भुवनसिंह बस्नेतसँग पराजित भएका थिए । यसपाली पार्टीले निकट नदिएपछि उनी स्वतन्त्र उठेका थिए ।














