धरानः वैशाखे पूर्णे अर्थात् उभौली चाडको रौनक किराती समुदाय बाहुल्य क्षेत्रहरूमा अझै छँदैछ ।
उभौलीलाई राईहरुले साकेला उभौली, लिम्बूहरूले यक्वा तङनाम, याक्खाहरूले युच्याङ र सुनुवार जातिले फोल ष्याँदर भनी मनाउने गरेका छन् । राईहरूले भने बैशाखे पूर्णेको दिनदेखि कम्तीमा १५ दिनसम्म चोक चोकमा साकेला नाच्ने गरेका छन् ।
यसैबीच शनिबार भानुचोकमा नाचियो साकेला । विशेषतः किरात समुदायको महान् चाड साकेला उभौली ५०८२ का अवसरमा भानुचोकमा साकेला उभौली पर्व मनाइएको छ । यस वर्षपनि ‘१ नम्बर प्रदेश किरात प्रदेश’ नाराका साथ शनिबार भानुचोकमा उभौली पर्वको अवसरमा कार्यक्रम राखिएको थियो ।
साकेला नाच कार्यक्रममा धरान–२ मा नेकपा एमालेबाट वडाध्यक्षमा विजयी रमेश राईलाई शिरमा फेटा लगाएर सम्मान समेत गरिएको थियो । कार्यक्रममा प्रदेश १ का सभामुख सभामुख प्रदीपकुमार भण्डारी प्रमुख अतिथि थिए ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका निवर्तमान मेयर एवं किरायाका केन्द्रीय सल्लाहकार तिलक राई समेतको उपस्थिति थियोे । कार्यक्रममा बोल्दै किरात राई यायोक्खा जिल्ला कार्य समितिका अध्यक्ष राजेन्द्र राईले प्रदेश १ किरात प्रदेश हुनुपर्नेमा आफूहरुको आवाज अहिलेसम्म रहेको बताए ।
यसैबीच धरानका चोकचोकमा अहिले साकेला नाच देखाउन थालिएको छ ।
साकेला उभौली सृष्टिकालदेखि प्रकृति र मानव उत्पत्तिको कथा बोकेको किरात समुदायमा मुन्धुमको महत्वपूर्ण स्थान रहेको छ । मुन्धुम शब्दको अर्थ ‘मु’ भनेको आगो र ‘दुम’ भनेको हिँड्नु हो । यसको किरात समुदायमा मुन्धुमको अर्थ उज्यालोतिर लाग्नु भन्ने हुन्छ । यस अर्थले सम्पूर्ण किरात समुदाय उज्यालोतिर अर्थात् राम्रो मार्गतिर जाने हुन्छ ।
मौलिक साँस्कृतिक पहिरनमा युवायुवती, केटाकेटी र वृद्धवृद्धाहरू साकेला नाच्न लालायित हुन्छन् । ढोल र झ्याम्टा गुञ्जिन थालेपछि अब खेतीपाती गर्ने समय शुरु भएको संकेत पनि भएको हो । तस्वीरहरुः लक्ष्मण थापा











