Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मन्त्री तुम्वाहाम्फेले भनिन्-

हाम्रो कोशी आवाज
जेष्ठ ७ २०७९, शनिबार
धरानमा मन्त्री तुम्वाहाम्फेले भनिन्-

धरानः प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्वाहाम्फे (राई) ले काठमाडौं र धरानका जनता सचेत बनेकोमा धन्यवाद दिएकी छिन् ।
धरान–१६ स्थित युएन, नवोदय कलेज १० वर्ष पूरा गरेको अवसरमा आयोजित ‘दशक महोत्सव’ कार्यक्रमको उद्घाटन अवसरमा उनले सो कुरा बताएकी हुन् । धरान–१५ चुम्लुङ हिममा आयोजित कार्यक्रमको प्रमुख अतिथि रहेकी मन्त्री तुम्वाहाम्फेले भनिन्, ‘काठमाडौं र धराने जनता कति सचेत रहेछन् भन्ने मलाई पनि लाग्यो, जनता भएपछि यस्तै हुनुपर्छ, काम गर्नेलाई मत दिनुपर्छ, अन्यलाई त्यतिकै छोडिदिँदा हुन्छ, मलाई पन औधी खुशी लागेको छ, जनतालाई धेरै धेरै धन्यवाद ।’
राजनीतिक दलप्रति जनताको वितृष्णा आएको हुनाले यस्तो हविगत भएको उनको टिप्पणी थियो । ‘राम्रो काम गर्ने, जनताको सेवक हुनेलाई रोज्नु अहिलेको आवश्यकता हो’, उनले भनिन्, ‘तर काम नै गर्न नसक्ने र नखोज्नेलाई उम्मेदवारी साथै मत दिएर के गर्नु, त्यही भएर अब काठमाडौं र धरानका जनता फेरिएका हुन् ?’
उनले हर्क साम्पाङको घोषणापत्र, नीति साथै विचार सुन्दा धरानस्थित बीपी प्रतिष्ठान पनि सुध्रिने बताइन् । ‘उनको विचार बुझ्दा बीपी प्रतिष्ठान पनि सुधार्ने भन्ने कुरा गरेको पाएँ’, उनले भनिन्, ‘उनी लागेपनि सुध्रिन्छ पनि होला जस्तो मलाई पनि विश्वास लागेको छ ।’
उनले काठमाडौं र धरानको जनताले नयाँ नेतृत्व चाहेको बताइन् । काठमाडौं र धरानको पाठ सिकेर अब नेताले पनि सबक सिक्नुपर्ने उनको धारणा थियो । ‘लौरोमा जनताले त्यतिकै भोट दिएका होइनन्, नयाँ विचार, नयाँ चिज, नयाँ अनुहार, नयाँ नेतृत्वकै लागि भोट दिएका हुन्,’ उनले भनिन्, ‘जनताको सेवक भएर काम गरिएन भने जनताले पाखा लगाउनु रहेछन् भनेर अब नेताले सोच्ने दिन आए ।’
उनले विद्यार्थीलाई नयाँ नयाँ काम गर्न सुझाइन् । ‘विद्यार्थीहरु खाली बाहिर जाने बाहिर जाने भनिरहन्छन्’, उनले भनिन्, ‘अब बाहिर जाने होइन, अब यही नेपालमा केही नयाँ काम गरेर देखाउनुहोस्, यही सेवा गर्नुहोस्, यही रोजगारी मिल्छ ।’
उनले होटल म्यानेजमेण्ट पढ्ने विद्यार्थीले अब पूर्वमा पर्यटक भित्र्याउनका लागि नयाँ काम गरेर देखाउन पनि सुझाइन् । उनले पर्यटकका लागि आफ्नै संस्कार, संस्कृति देखाएर कमाउन सकिने बताइन् । उनले प्रदेश १ संस्कार, संस्कृतिको धनी प्रदेश भएको बताइन् । पूर्वमा रहेका राई, लिम्बू, गुरुङ, तामाङ, शेर्पा, तामाङ, थारुलगायत आधा दर्जन बढी समुदायको संस्कार संस्कृति र खानेकुराबाटै कमाउन सकिने र पर्यटक तान्न सकिने उनको भनाइ थियो । ‘अब प्रदेश १ मा यी सबै समुदायका संस्कार, संस्कृति र खानेकुरा बेचेर पैसा कमाउनुपर्छ, यसको लागि यस्तै प्रकारका होटलहरु सञ्चालन गरिनुपर्छ’, उनले भनिन्, ‘यस्तो काम होटल म्यानेजमेण्ट पढ्ने विद्यार्थीले गर्न सक्छन्, यसको लागि आजैदेखि सोचिहालौं ।’
कलेजले मनाएको दशक महोत्सवका अवसरमा उनले प्रदेश टप र धरान टप गर्नेलगायत अन्य उत्कृष्ट विद्यार्थीलाई सम्मान र पुरस्कृत समेत गरेकी थिइन् । क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले कलेज १० वर्ष पूरा भएको उपलक्ष्यमा दशक महोत्सव भव्यरुपमा मनाइएको बताए ।

प्रकाशित मिति: जेष्ठ ७ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend