धरानः धरान उपमहानगरपालिकाको मेयरमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् ।
२०७४ सालको निर्वाचनमा ४२२ मत मात्रै ल्याएका उनले यसपटक २० हजार मत ल्याउन सफल भएका छन् । शुरुवातदेखि नै धराने जनताको क्रेज यसपटक साम्पाङप्रति थियो । अन्ततः लौरो चुनाव चिहन लिएर आएका उनलाई धरानेले जनताले जिताइ छाडे ।
सधैंजसो सामाजिक, भ्रष्टाचार, खानेपानी आदि मुद्दा लिएर आएका उनलाई धराने जनताले यसपटक पत्याएका हुन् । गठबन्धन र नेकपा एमालेलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार राई फराकिलो मतान्तरसहित धरानको मेयरमा निर्वाचित भएका हुन् ।
राईले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७ सय ६२ मतले पराजित गरेका छन् । हर्कले २० हजार ८ सय २१ मत प्राप्त गर्दा किशोरले १६ हजार ५९ मत पाए । नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत प्राप्त गरेकी छिन् ।
यस्तै, उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट टिकट पाएका उनले धराने जनताको लोकप्रिय मत पाउँदै विजयी बनेका छन् । उनले २० हजार ५ सय १० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका पदमप्रसाद लिम्बूले १७ हजार ६ सय ६ मत पाएका छन् ।
यसैबीच गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार किशोर राईले साम्पाङलाई डायरी उपहार प्रदान गर्दै बधाई दिएका छन् । उनले धरानको विकासमा सक्रिय भएर लाग्न सुझाव पनि दिए । तस्वीरहरुः लक्ष्मण थापा






















