धरानः अग्रज पत्रकार भवानी बराल लेख्छन्- जनताले लौरो लगाएको यो नौलो नौतुन कुरा भने होइन । उहिले पञ्चायतकालमा थर्के ढकाल (धरान) आदि पात्र उभ्याएर पञ्चायतलाई लौरो लगाएको घटना ताजै छ । धरान नगर त लौरो लगाउने मामिलामा धेरै अगाडि नै हो ।
पञ्चायत लौरो लागेर बौरिन नसक्ने अवस्थामा पुगेको थियो । यस्ता लौरो खाएको केही बर्खमै पञ्चायतको इहलिला समाप्त भयो । त्यसैको निरन्तरता ‘थर्के लौरो’ अहिले धरानको ‘हर्के लौरो’ हो । काठमाडौंमा नानीमैया दाहाल (काठमाण्डौ), पुहातु चौधरी (झापा) आदि । बालेन लौरो नानीमैया लौरोको निरन्तरता हुनसक्छ । त्यतिबेला ढोडको तक्मा वा लौरो काम लाग्दैन भन्ने चलन थियो । यसरी नै सन्ठीको लौरो पनि काम लाग्दैन । ‘बाँदरको पुच्छर लौरो न हतियार’ भन्ने त उखान नै छ । यस्तो लौरोको उपयोगिता हुन्न । सिमली, घंगरु, कठबाँस, बाँस, बेत आदिको बलियो लौरो मात्र काम लाग्छ ।
को हुन् हर्क ?
धरानमा हर्क चिनिएकै नाम हो । विभिन्न सामाजिक अभियान चलाउँदै आएका उनी अब धरान उपमहानगरपालिकाको मेयर बनिछाडेका छन् । खानेपानी आन्दोलन, भ्रष्टाचारविरुद्धको आन्दोलन अभियन्ता हर्क सर्दु जलाधार बचाउ आन्दोलनका अभियन्ताका रुपमा उनी परिचित नै छन् ।
खानेपानीको हाहाकारलाई हर्कले सप्तकोसीबाट पानी ल्याएर धरानवासीलाई खुवाउने प्रतिबद्धता जनाएका थिए । त्यसलगत्तै गठबन्धनका दलहरुले पनि सप्तकोशीबाटै पानी ल्याउने घोषणापत्र जारी गरेका थिए तर पनि धराने जनताले पत्याइदिएनन् । खानेपानीको चरम अभाव भोगेका धराने जनताले हर्कको लौरोलाई मन पराइदिएका छन् ।
साधारण व्यक्तित्व र आम जनताका समस्या बुझेका हर्कले आफूले गर्न सक्ने आश्वासन बाँडेर चुनाव जितेका छन् ।
धरानको खानेपानी सुधार्छु, दीर्घकालीनरुपमा सप्तकोशीबाट पानी ल्याउँछु, पाँच वर्षभित्र नल्याएआफू धरान नै नबस्ने घोषणा गरेका थिए । उनले बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा सुधार्छु भन्दै उनले भोट मागेका थिए ।
धनकुटे रोड किनारका सयौं परिवारलाई उठीबास लगाउने भएपछि आन्दोलन गर्न बनेको संघर्ष समितिमा सहसंयोजक बनेर जनता उरालेका उनले उनी २०७६ को धरानको मेयरको उपनिर्वाचनमा पनि उठेका थिए । त्यसबेला उनले केवल ४२२ मत पाएका थिए ।
खोटाङको खार्तम्छामा २०३९ सालमा जन्मिएका हर्क साम्पाङले महेन्द्र बहुमुखी क्याम्पसबाट उनले राजनीति र समाजशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन् । पूर्व ब्रिटिश लाहुरेका छोरा हर्कले रोजगारीको लागि ६ वर्षसम्म इराक र अफगानिस्तानमा पनि बिताएको पाइएको छ । साहित्यमा रुचि भएका उनी आंफै गीत लेख्छन्, गाउँछन् । उनले यसअघि छुट्टै एउटा पार्टी पनि खोलेका थिए तर सफल नभएपछि उनी स्वतन्त्र बन्दै सामाजिक कार्यमा निरन्तर लागिरहे ।