Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जसले गरिन् मानवको जस्तै ‘कुकुर साथी’ को अन्त्येष्टि

हाम्रो कोशी आवाज
साउन ५ २०८३, मंगलबार
धरानमा जसले गरिन् मानवको जस्तै ‘कुकुर साथी’ को अन्त्येष्टि

धरानः मानिसको सबैभन्दा पुरानो साथी हो कुकुर । धेरै मानिसले आफ्नो पुरानो साथीलाई सडकमा धपाइदिन्छन् तर धरानमा ‘कुकुर साथी’ हो भन्ने कुरा भित्री मनदेखि व्यवहारमै पनि उतारिन् सञ्चारकर्मी उमा चाम्लिङ राईले ।
आफ्नो कुकुर मर्दा काजकिरिया गरेर उनले एउटा फरक सन्देश दिन खोजेकी छिन् । केहीदिनअघि उनले फेसबुकमा सानो भिडियो क्लिपसहित लेखिन्– मायाले संसार नथाम्ने रहेछ, मायाले बचाउन पनि नसकिने रहेछ, संसारको नियम, चलन नै यस्तै रहेछ, जन्मेपछि एकदिन सबैलाई छाडेर जानु नै रहेछ, यो धर्तीमा मिल्नु नै रहेछ । ‘मोटु’ तिम्रो आत्माले सधैं शान्ति पाउन तिमी जहाँ छौं, खुशी हुनु अर्को जन्ममा लामो आयु लिएर आउनु, मेरै घरमा जन्म लिनु है । धेरै माया धेरै सम्झ्ना ‘मोटु’ ।
उनले एउटा कुकुरको नाम मोटु राखेकी थिइन् । सुख-दुःखको साथ दिएकोमा ‘मोटु’ प्रति आभार व्यक्त गर्दै उनले यी माथिका भावुक सन्देश पनि दिएकी हुन् । हाल उनले शोक संस्कार पूरा गर्ने चरणमा छिन् ।
सधैंजस्तै सन्चै मोटु केहीदिन अघि ज्वरो आएर थलियो । सन्तानझैं पालनपोषण गरी हुर्काएको मोटु अकस्मात् बिरामी परेपछि उनले घरमै डाक्टर बोलाइन् । डाक्टर आएपछि कुकुरले नसोचेको व्यवहार देखायो । हिँड्न नसक्ने अवस्थामा पुगेको कुकुर डाक्टर आएपछि निकै तङग्रिएझैं भयो, केहीबेर छटपटाएजस्तो गरयो । डाक्टरले सलाइन पानी दिने भनेर उनको घर पुगेर फर्किए तर जब सलाइन पानी बोकेर डाक्टर फेरि आइपुगे कुकुरले रगत छाद्यो र हेर्दाहेर्दै प्राण गयो ।
अनि गरिन् मानवको जस्तै ‘कुकुर साथी’ अन्त्येष्टि
उनले मानवको जस्तै कुकुरको मृत्युपश्चात् अन्तिम संस्कार (दाहसंस्कार वा अन्त्येष्टि) गर्ने निधो गरिन् र सोहीअनुसार नै अन्तिम संस्कार गरिन् । आफैले पालेको कुकुरको मृत्यु भएपछि मानवको जस्तै अन्तिम संस्कार गरेको उनले बताएकी छिन् ।
उनले हिन्दू परम्पराअनुसार कुकुरको अन्त्येष्टि गरिएको बताइन् । ‘घरमा पालेको कुकुर हो, एक वर्षको मात्रै भएको थियो, सारै ज्ञानी थियो, कुकुर, बिरालो मान्छेजस्तै हो, त्यो दिन सारै शोक परें, म कति रोएँ, रोएँ नि, साध्ये छैन’, उनले भनिन्, ‘कुकुरलाई पनि मानवजस्तै हो भन्ने भित्री आत्मादेखि हुनाले मैले कुराको अन्त्येष्टी गर्ने निर्णयमा पुगें र मानिस मर्दा जस्तै गरिने विधि र हिन्दू रितिरिवाज अनुसार अन्त्येष्टी गरेर कुकुरप्रति श्रद्धाञ्जली ब्यक्त गरें ।’
कुकुर मरेपछि उनले केही दाजुभाइको सहयोगमा सर्दु खोलाको किनारा अर्थात् आफ्नो घर धरान–१६ बाट केही पर रहेको झोलुङ्गे पुल पारी जंगलमा लगेर हिन्दू रितीरिवाज अनुसार अन्त्येष्टी गरेको बताइन् । ‘घरका सन्तानझैं नजिक ठान्ने कुकुर मरेपछि घरका सबैजना दुःखीत भएका थिए । एउटा जनावरको मानवझै मृत्यु संस्कार गर्न पाउँदा भने आत्मसन्तुष्टि मिलेको र जनावारलाई पनि सबैले मानवझैं माया र व्यवहार गर्नुपर्छ भन्ने धारणा आफूमा रहेको र त्यही सन्देश छर्न चाहेको हुँ ।’ उनले हाम्रो कोशी आवाजको फोन सम्पर्कमा भनिन् ।

उनले चामल, पैसा, धुप साथै कुकुरले बिस्कुट मन पराउने हुनाले बिस्कुट, कुकुरले ओढेको कपडा, समेत लगेर अन्त्येष्टी गरिएको ठाउँमा लगेर राखिदिँदै अन्तिम बिदाइ गरेको बताइन् । उनले कतिपयले कुकुरलाई राम्रो व्यवहार नगर्ने गरेको पनि उनले बताइन् । ‘मान्छे पनि खालपरीकै हुन्छ नि’, उनले भनिन्, ‘तर मैले भिडियो बनाएर फेसबुकमा राख्नुपनि सन्देश जाओस् भनेरै हो ।’
उनको प्रश्न
उनले यो सँगै अर्को प्रश्न पनि तेस्याएकी छिन् । सडकमा छाड्ने भए कुकुर किन पाल्नु ? नेपालमा कुकुर तिहारको दिन कुकुरहरूको पूजा गर्ने सांस्कृतिक अभ्यास रहँदै आएको छ । तर यो श्रद्धा सधैं दैनिक हेरचाहमा परिणत भएको देखिँदैन । परिणामस्वरूप कुकुरलाई सडकमा धपादिनेसम्मको हर्कत हुने गर्दछ र भइरहेको छ ।
हामीले सामाजिक सञ्जालहरूतिर कुकुरको फोटो अनि यो हराएको कुकुरको मालिक को हो ?’ भनेर लेखेको देखेकै हो । यस्ता पोस्टहरू एकपछि अर्को आइरन्छन् । यी कुकुरहरूका मालिकहरूले ‘मेरो यो कुकुर हरायो’ भनेर पोस्ट राखेकै देखिँदैन, बिरलै एक दुई घटनामा बाहेक । फेरि आफूले फ्यालेको कुकुरको पोस्ट दुःख पाएर हिँडेको कतैबाट यो कुकुर कसको हो भनेर आएको देखियो भने पनि यो कुकुर मेरो हो भनेर मालिकले भन्दैनन्, लिन जाने कुरा त परै रहयो ।
घरपालुवा जनावर पाल्ने व्यक्तिले गैर जिम्मेवार भएर ती जनावरहरूलाई कुनै समय फ्याकिदिनुमा जनावरप्रति मायाको साटो हेपाहा प्रवृत्ति, आर्थिक समस्या हुनु, जिम्मेवार रहेर घरपालुवा जनावरको हेरचार गर्ने बारेमा सचेतनाको अभाव हुनु, कडा कानुन नबन्नु र त्यसको प्रभावकारी अभ्यास नहुनु मूल कारणहरू हुन् ।
धरानको कुरा जोडौं
धरान पनि कुकुर फ्यालुवामा पनि एक नम्बरमै छ भन्दा फरक नपर्ला । मान्छेलाई सानोमा राम्रो देख्ने, लाग्ने, घरमा ल्याएर पाल्ने, पालिसकेपछि अलिकति ठूलो हुँदै गएपछि व्यवस्थित तरिकाले पाल्न नसक्ने, उपचार गर्न नसक्ने र उसलाई त्यतिकै छाडिदिने गर्दा पनि धरानमा सामुदायिक कुकरहरु बढ्दै गएका छन् ।
पशुपंक्षी विकास शाखा धरानका कार्यालय प्रमुख किशोर त्रिखत्रीअनुसार अझै पनि धरानमा ४ देखि ५ हजार कुकुर सामुदायिक छन् अर्थात् सडकमा छाडिएका छन्, तिनीहरू भौतारिरहेका छन् । कार्यालयले वर्षेनी धरान उपमहानगरपालिकाले दिएको केही बजेट र प्रदेश सरकारले दिएको केही बजेटले बन्ध्याकरण शिविरसम्म गर्दै आएको छ । प्रदेश सरकारले बन्ध्याकरणका लागि यस वर्ष पनि ५ लाख रुपैयाँ छुट्याएको उनले जानकारी दिए ।
अहिले सामुदायिक कुकुरले टोकेर धरानमै पनि धेरैजनाको ज्यान गइसकेको छ, कयौं घाइते बनेका छन् । रेविज खोपका लागि कार्यालयमा दैनिक ८-१० जना पुग्ने गरेको कार्यालय प्रमुख त्रिखत्रीको भनाइ छ । अहिले कार्यालयले रेविज खोप लगाउने, बन्ध्याकरणका लागि पैसा बजेटले वर्षेनी बन्ध्याकरण गर्नेबाहेक दिगो व्यवस्थापनका लागि खासै केही नसोचेको उनको भनाइ छ ।
कुकुरको व्यवस्थापन सरकारका लागि चुनौतीपूर्ण बन्दै गएको स्थानीयको भनाइ छ । सडक, चोक र गल्लीमा सामुदायिक कुकुरको संख्या बढ्दा दुर्घटना र कुकुरको टोकाइसमेत बढ्दै गएको अवस्था छ भने मोटरसाइकल चालक कुकुर जोगाउने हुँदा बाइक हुत्तिएर नालीमा लड्ने समेत गरेका छन्, चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य हुँदै आएका छन् ।
धरान उपमहानगरपालिकाले वर्षेनी रेबिजको प्रकोप न्यूनीकरण र छाडा कुकुरको संख्या कम गर्न छाडा कुकुर बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएपनि खासै प्रभावकारी नभएको अधिकांशको तर्क छ । यसअघि धरानमा कुकुर सेल्टर निर्माण गर्ने कुराले खुब चर्चा पायो । हाम्रो कोशी आवाज डटकममै पनि समाचार आयो तर त्यो चर्चा त्यतिकै सेलायो ।
धरान उपमहानगरपालिकामा करिब पाँच वर्षअघि कुकुरसम्बन्धी कार्यविधि पास भएको थियो । बनेको कुकुर व्यवस्थापन समितिले हामलसम्म केही काम गर्न सकेको देखिएको छैन ।
चिकित्सकका अनुसार कुकुरले टोकेपछि जतिसक्दो चाँडै खोप लगाउनुपर्ने हुन्छ । खोप नलगाएको खण्डमा २० देखि ९० दिनसम्म रेबिज रोगको लक्षण देखिने र लक्षण देखिएको सात दिनभित्रमा बिरामीको मृत्यु हुन्छ । रेबिज रोग लागेका मान्छे सुरुमा पानी र हावासँग डराउने र त्यसपछि अचेत अवस्था भई मृत्यु हुने गर्छन् । यस्तो घातक रोगलाई नियन्त्रणमा लिनका लागि स्थानीय सरकारको पहलकदमी दह्रो हुन जरुरी छ । त्यसैले जनस्वास्थ्यमा ख्याल गर्दै सामुदायिक कुकुर नियन्त्रण गर्ने प्रभावकारी कार्यक्रम चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याउनुपर्छ ।

प्रकाशित मिति: साउन ५ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend