धरानः धरानका नवनिर्वाचित जनप्रतिनिधीहरु सपथ खाएका छन् ।
धरान–१२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुलाई सपथ खुवाउँदै प्रमाणपत्र प्रदान गरिएको थियो ।
बैशाख ३० गते सम्पन्न निर्वाचनबाट निवार्चित उपमेयर र वडाका जनप्रतिनिधिहरुलाई नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ) ले सपथ खुवाएका थिए । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मेयर राईले उपप्रमुख अइन्द्रविक्रम बेघा र २० वटाका वडाअध्यक्ष, सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए । निवार्चितहरुलाई निर्वाचन अधिकृत पुष्करराज नेपालले प्रमाणपत्र वितरण गरेका थिए ।
नवनिर्वाचित मेयर राईले भने जिल्ला निर्वाचन अधिकृतसमेत रहेका सुनसरी जिल्ला १ नम्बर न्यायाधिश कैलाश सुवेदीले सपथ ग्रहण गराएका थिए । यसैबीच मेयर राईले भोलि पदभार ग्रहण गर्ने कार्यक्रम छ । विशेषतः जन्मदिनको अवसर पारेर आफूले भोलिका लागि पदभार ग्रहण कार्यक्रम राखिएको उनले जानकारी दिए । सपथ ग्रहण कार्यक्रममा बोल्दै मेयर राईले यहाँ कुनैपनि पार्टी नहारेको बताए । ‘स्वतन्त्रले जितेकै कारण आज सबै पार्टीले जितेको महसुस भएको छ’, उनले भने, ‘यहाँ कोहीपनि हारेको छैन ।’
तस्वीरहरुः लक्ष्मण थापा




































