पाठ सिक्यौं, भ्रष्टाचार गरेको प्रमाणित भए उपमेयर बेघाले खोजेर कारवाही गरे हुन्छ
धरानः धरान उपमहानगरपालिकाको मेयरकी प्रत्याशी मञ्जु भण्डारी सुवेदीले अहिलेको निर्वाचन परिणामले पाठ सिकेको बताएकी छिन् ।
नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । उनले अति राजनीतिकरण हुँदा त्यसको जनताले कसरी प्रतिकार गर्छन् भन्ने कुराको पाठ आफूले बुझेको उनले बताइन् । उनले धरानमा खानेपानीको विषयमा अति राजनीतिकरण भएको र त्यसको प्रतिकार जनताले गरेको पनि बताइन् ।
‘धराने जनताले जुन ढङ्गले जनप्रतिनिधिको छनौट गर्नुभएको छ, त्यसले के देखाइरहेको छ भने हामीले कुनैपनि जनताका मुद्दालाई अति राजनीतिकरण गर्दा यो हालत भएको हो, राजनीतिक दललाई एउटा पाठ पनि भएको छ,’ उनले थपिन्, ‘खानेपानीमा अति राजनीतिकरण भयो, समयमा आयोजना सम्पन्न भएन, ढिलै सम्पन्न भएपनि पानी आपूर्तिमा समस्या भयो, जुन हिसाबले जनताले अपेक्षा गरेका थिए, त्यसको विपरीत हुन जाँदा यस्तो परिणाम आयो ।’
उनले आफ्नो कार्यकालमा उपमहानगरबाट पाउने सुविधाभन्दा एक रुपैयाँ पनि नलिएको तर मिडियाहरुले उचालेर भ्रम फैलाएको दावी गरिन् । भनिन्, ‘मैले हिसाबकिताब गडबढ गरेको पाइए उपमेयरका उम्मेदवार अइन्द्रविक्रम बेघाले कारवाही गर्नुहोस् ।’