Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका नवनिर्वाचित मेयर साम्पाङले भने-

हाम्रो कोशी आवाज
जेष्ठ १० २०७९, मंगलबार
धरानका नवनिर्वाचित मेयर साम्पाङले भने-

धरानः धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकामा पदभार ग्रहण गरेका छन् ।
पदभार कार्यक्रममा बोल्दै उनले खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । उनले खानेपानीमा दुई किसिमको समस्या देखेको बताएका छन् । ‘खानेपानीमा अहिले तत्कालै दुई खालको समस्या छ’, उनले भने, ‘यहाँ व्यवस्थापन र उत्पादनसँग सम्बन्धी समस्या, व्यवस्थापनसँग सम्बन्धी समस्या भनेको मर्मत, सम्भार, लिकेज, मेसिन बिग्रिएको समस्या छ भने अर्को कुरा आयुडिपी आयोजनाले जे जति पानी उत्पादन गर्नुपर्दथ्यो, त्यो उत्पादन गर्न नसकेको कारणले अहिले अभाव भएको हो, अब उत्पादन बढाउनतिर लाग्छौं, स्रोत थप्नतिर लाग्छौं, पहिला मर्मत, सम्भार र लिकेजको व्यवस्थापन गर्छौैं, त्यसपछि अन्य कुरा गर्छौं ।’
उनले चुनाव अगाडि गरेका प्रतिबद्धतालाई अक्षरस पालना गर्ने पनि बताए । उनले धरानमा हुने भ्रष्टाचार नियन्त्रण गर्दै अघि बढ्ने पनि बताए । ‘धरानमा यसअघि जतिपनि वडाध्यक्ष निर्वाचित भएका छन् उनीहरु पार्टीका थिए तर अब जितेर आएपछि उनीहरु जनताका भए, त्यसैले उनीहरुले पनि भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्नुपर्छ ।’ उनले भने ।
उनले जनतालाई स्थानीय सरकार भएको प्रत्याभूति गराउने खालको काम गर्ने बचन पनि दिएका छन् । ‘यसअघि सरकार छ कि छैन भन्ने थियो, उनले भने, ‘सरकार छ है भन्ने कुरा जनतालाई थाहा हुनुपरयो । सरकार त छ तर कर मात्र उठाउँछ भन्ने किसिमको महसुस हुनै भएन । त्यसैले जनता छ भन्ने खालको जनतालाई महसुस गराउँछु ।’
उनले जनताको आशा धेरै भएपनि चुनौती रहेको बताउँदै सबै दल, नागरिक समाज, संघसंस्थाले सहयोगी भूमिका खेलिदिनुपर्ने पनि बताए । ‘म पनि सबैलाई मिलाएर लैजान्छु, किनभने म अभिभावकको रुपमा छु । समन्वयकारी भूमिका खेलेर अभिावकत्व ग्रहण गरेको छुँ, अभिभावकत्व पूरा गर्छु ।’ उनले भने ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उनले अत्याधिक मत ल्याएर विजयी बनेका थिए । उनले चुनावताका अपिल तथा प्रतिबद्धतामा जनताको दुःख र पीडाको आवाज बोलेर हिँड्ने बताएका थिए । उनले आफू धरानको नगर प्रमुख बनेका व्याप्त भ्रष्टाचार, बेथिति, अन्याय, अत्याचारको अन्त्य गर्ने दावी गर्दै मत मागेका थिए । उनले घोषणापत्र र प्रतिबद्धतापत्रमा भनेका थिए, ‘तपाईहरुकै चाहना र आवश्यकअनुरुप सुशासन र विकासका नीति तथा योजना बनाएर धरानको सर्वोपरी उन्नति गर्न गराउन चाहन्छु ।’
उनले खानेपानीको तत्काल सुधार, अनाहकमा हजारौं रुपैयाँ बिल लगाउने चलनको अन्त्य, बीपी प्रतिष्ठानको ब्यापक सुधार, सामुदायिक स्कुल र विद्यालयमा सुधार, धरानमा उद्योग खोलेर रोजगारी, सूचनाको अधिकार, प्रशासनिक सेवामा सुधार, शान्ति सुरक्षा, महिला र बालबालिकामा ध्यान, सडक मानव व्यवस्थापन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको व्यवस्थापन, महङ्गी नियन्त्रण, यातायात क्षेत्रमा सुधार, पर्यटन क्षेत्रमा सुधार, वैज्ञानिक कर प्रणालीमा सुधार्नेलगायत २७ बुँदे प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति: जेष्ठ १० २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend