Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संघीय र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्ने सरकारको घोषणा

हाम्रो कोशी आवाज
साउन १९ २०७९, बिहिबार
संघीय र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्ने सरकारको घोषणा

धरानः सरकारले प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो।
मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गरेको एक मन्त्रीले पुष्टि गरेका छन्। ‘२०७९ मंसिर ४ गते आइतबार प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय भएको छ’, ती मन्त्रीले भने, ‘एकै चरणमा निर्वाचन सम्पन्न हुनेछ।’
बुधबार सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचन आयोगले दिएको भन्दा २ दिनपछि चुनाव गर्ने सहमति गरेको हो। यसअघि निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सकिने सुझाव सरकारलाई दिएको थियो।
तर, उक्त दिन शुक्रबार पर्ने र शुक्रबारका दिन निर्वाचन गर्दा मुस्लिम समुदायलाई गाह्रो पर्ने भएकाले दुई दिनपछि मिति तय गरिएको नेपाली कांग्रेसका एक पदाधिकारीको भनाइ छ।
‘आयोगले मंसिर २ का लागि निर्वाचन मिति घोषणा गर्न सिफारिस गरेको थियो। त्यो दिन शुक्रबार पर्छ,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘शुक्रबार निर्वाचनको मिति घोषणा गर्दा मुस्लिम समुदायलाई गाह्रो पर्ने भएकाले आइतबार (मंसिर ४) का लागि मिति तोक्ने दलहरुबीचमा सहमति भएको हो।’
निर्वाचनको मिति घोषणासँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार स्वतः कामचलाउमा परिणत भएको छ। सरकारले यसअघि गत वैशाख ३० मा स्थानीय तह निर्वाचन एकै चरणमा सम्पन्न गरेको थियो।

प्रकाशित मिति: साउन १९ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend