Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूर्वकी एन्जिला तुम्बापोलाई नेपाली राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी

हाम्रो कोशी आवाज
भाद्र २० २०७९, सोमबार
पूर्वकी एन्जिला तुम्बापोलाई नेपाली राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी

धरानः महिला साफ च्याम्पियनका लागि नेपाली राष्ट्रिय टिमको कप्तान एन्जिला तुम्बापो सुब्बाले गर्नेछिन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार प्रि–म्याच कन्फरेन्समा एन्जिलालाई कप्तानीको जिम्मेवारी दिएको जनाएको छ ।
नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा घाइते भएपछि कुमार थापाले एन्जिलालाई कप्तानीको जिम्मेवारी दिएका हुन् । रेनुकाले घरेलु मैदानको साफ गुमाउने छिन् । ‘मलाई कप्तान बनाउनु भएकोमा धन्यवाद । त्यो विश्वासलाई गुम्न दिने छैन,’ प्रि–म्याच कन्फरेन्समा एन्जिलाले भनिन् ।
सन २०१४ मा श्रीलंकामा सम्पन्न भएको एएफसी यु–१४ गल्स रिजनल ट्रफी जित्दा नेपाली गोलपोष्ट एन्जिलाले सम्हालेकी थिइन् । सन २०१४ बाटै राष्ट्रिय टिममा परेकी उनी २ वर्ष बेञ्चमा नै सीमित भइन् । सन २०१६ को सागको सेमीफाइनल खेलमा नेपालकी नियमित गोलरक्षक लिला लाम्गादेको स्थानमा गोलपोष्ट सम्हाल्दै सिनियर टिमबाट डेव्यु गरिन। एन्जिलाले ४ वर्षअघि हिरो कपमा कार्यवहाक कप्तानको जिम्मेवारी निर्वाह गरिसकेकी थिइन् । उनकै कप्तानीमा नेपालले पहिलो पटक भारतलाई महिला फुटबलमा पराजित गरेको थियो। उनी राष्ट्रिय टोलीको दशौ कप्तान समेत हुन्। नेपालकी पहिलो कप्तान हुन्, रमा सिंह । त्यसपछि क्रमश कमला हिराचन, मीरा चौधरी, पेमा लामा, जमुना गुरुङ, चन्द्रा भण्डारी, अनु लामा, निरु थापा, रेनुका नगरकोटीले कप्तानी सम्हालेका छन् ।
उपकप्तानको जिम्मा अमृता जैशीलाई दिइएको छ । नेपाल पुलिस क्लबमा आवद्ध उनी सन् २०१४ बाट नेपाली महिला राष्ट्रिय टोलीबाट खेल्दै आएकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भोलिबाट सुरु हुँदैछ ।
फाइनल खेल असोज ३ गते हुनेछ । प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ। साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
पूर्वमा जन्मिएर नेपालको ‘नम्बर वान’ गोलकिपर बनेकी एन्जिला तुम्बापो सुब्बाको उचाइँ बढ्दो छ । एन्जिला तुम्बापो सुब्बाले नेपाली राष्ट्रिय महिला टिमको गोलपोस्ट सम्हालेको लगभग ६ वर्ष बढी भयो । पाँचथरमा जन्मिएर इलामको सूर्योदय नगरपालिमा हुर्किएकी उनले जीवन सङ्घर्ष भने निकै लामो छ । १२ वर्षको उमेरदेखि खेल्न थालेकी उनले राष्ट्रिय टिममा २०१५ देखि सहभागिता जनाउन थालिन् । सन् २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा श्रीलंकाविरूद्ध खेलमा एन्जिलाले राष्ट्रिय टिममा डेब्यु गरेकी उनले भारतमै भएको साफ महिला च्याम्पियनसिपदेखि उनी निरन्तर नेपाली टिमबाट खेलिरहेकी छिन् ।
सानैदेखि फुटबल खेल्ने भूत चढेको बताउने उनले अहिले नेपालकी नम्बर ‘वान’ गोलकिपर एन्जिला भनिदिँदा खुब खुशी लाग्ने गरेको बताइन् । ‘सानैदेखि नै फुटबलमै भूत चढेको थियो’, उनले भनिन्, ‘अहिले पनि म फुटबलमै निरन्तर छु र सफलता पनि हात पारिरहेको छु ।’ स्थानीय, जिल्ला र क्षेत्रीयस्तरको प्रतियोगितामा उनको टिमले जित्दै चमत्कार गर्न थालिन् । क्षेत्रस्तरीय प्रतियोगिताका लागि जिल्लाबाट छनोट भयो । छनोटमार्फत् उनले इलामको नम्बर एक गोलकिपर भएर खेलिन् । पूर्वाञ्चल विकास क्षेत्रस्तरीय प्रतियोगितामा इलाम पहिलो भयो । २०६८, फागुनमा सुदूरपश्चिममा भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छानियो । ‘१३ वर्षकै उमेरमा राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न पाउनु गौरवको कुरा थियो’, उनले भनिन्, ‘त्यहीँदेखि मेरो करिअरको शुरुवात भएको हो ।’
१३ वर्षीया उनले धनगढीमा भएको खेलमा अझ चमत्कार देखाइन् । त्यतिबेलै उनले एफिएमबाट खेल्ने मौका उनले पाइन् । एपीएफका टिम व्यवस्थापक प्रेम श्रेष्ठले एन्जिलालाई क्लबमा राख्न भनेर लगेका थिए ।
‘कक्षा–७ सम्म सरकारी स्कुल पढेकी एन्जिलाले पढाइ लगभग छोडिसकेकी थिइन्’, सशस्त्र प्रहरीका पूर्व एसएसपी समेत रहेका प्रेम भन्छन्, ‘कक्षा–८ देखि काठमाडौंको स्वयम्भुस्थित अरुणोदय माविमा उनको पठनपाठन अघि बढ्यो र अहिले उनले ‘ब्यालर्स लेवल’ सकिसकेकी छिन् ।’
प्रेम एन्जिलाको टिम व्यवस्थापक मात्र बनेनन्, जीवनको पथ प्रदर्शकसमेत बनेका छन् । धरानमा आइपुगेकी उनले समेत भनिन्, ‘उहाँले फुटबलमात्र सिकाउनुभएन, जीवन बुझाउनुभयो । उहाँको परिवारबाटै हौसला, प्रेरणा पाएँ र सफलता हात पारिरहेकी छु, उहाँलाई म गडफादर मान्छु ।’
२०६९ सालमा काठमाडौं छिरेकी उनले अहिले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरसम्म पनि राम्रो खेल कौशल देखाएर सबैलाई ताली पिट्ने बनाइसकेकी छिन् । उनी १६ वर्षको उमेरमै एफिएमबाट सिनियर गोलकिपर बन्न सफल भएकी थिइन् ।
एपिएफको पहिलो रोजाइको गोलकिपर बनेपछि २०१६ मा भारतमा भएको महिला साफ च्याम्पियनसीपमा भाग लिएकी उनले निरन्तर राष्ट्रिय टिमको गोलपोस्टको जिम्मेवारी निर्वाह गर्दै आइरहेकी छिन् । १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा श्रीलंकाविरूद्ध खेलमा एन्जिलाले राष्ट्रिय टिममा डेब्यू गरेकी उनले भारतमा भएको सो च्याम्पियनसिपदेखि उनी निरन्तर नेपाली टिमबाट खेलिरहेकी छिन् ।

प्रकाशित मिति: भाद्र २० २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend