धरानः निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न उम्मेदवारहरूलाई आग्रह गरेको छ । राजनीतिक दलका उम्मेदवारहरू तथा स्वतन्त्र उम्मेदवारहरूले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो ।
आइतबार निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडीदेखि (कार्तिक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने बताए । आयुक्त भण्डारीले उम्मेदवारहरूले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधानलाई पनि पालना गर्न सचेत गराए ।
घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै उनले त्यस्ता कार्य नगर्न आग्रह गरे । घरदैलोमा तामझाम र बाजागाजा गर्नु पनि आचारसंहिता विपरीत हुने उनको भनाइ छ । आचारसंहिताको परिधिभित्र बसेर कानुनी सजाय नपाउने गरी घरदैलो गर्न उनले उम्मेदवारहरूलाई आग्रह गरे ।
उनले उम्मेदवारहरूले आफू राम्रो र अरू नराम्रो भनी प्रचारप्रसार गर्न नपाइने उल्लेख गरे । आयुक्त भण्डारीले प्रचारप्रसारको क्रममा आचारसंहिता उल्लङ्घन भएमा आयोगले उम्मेदवारको मनोनयन पत्र खारेजसम्म गर्न सक्ने बताए ।
‘फलानो नराम्रो आफू राम्रो भनेर उहाँहरू प्रचारप्रसारमा जानुभएको छ । आफू राम्रो । अर्काको दलको र स्वतन्त्र उम्मेदवार नराम्रो भन्न पाइँदैन । आफू राम्रो मात्रै भनेर जानुस् न । म यो नीति तथा कार्यक्रम गरेर जान्छु । म यो विकास निर्माणको काम गर्छु भनेर आफ्नो घोषणापत्रमा जे उल्लेख गर्ने हो । त्यो सबै स्पष्ट देखिने गरी जानुस् । मेरो घोषणापत्र ठिक, अर्काको बेठिक भन्न पाइँदैन,’ आयुक्त भण्डारीले भने, ‘कानुनको परिधिभित्र बसेर निर्वाचन प्रचारप्रसार गरिदिनुपर्यो । यदि निर्वाचन प्रचारप्रसार गर्दा खेरी यो आचारसंहितालाई उल्लङ्घन गरिदिनु भयो भनेदेखि आयोगले कठोरतापूर्वक उहाँहरूलाई कारबाही गर्नुपर्छ । उहाँहरूको मनोनयन पत्र खारेज पनि हुनसक्छ ।’