धरानः राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूलाई चारैतिरबाट खेद्ने मात्रै काम भएको गुनासो गरेका छन् ।
पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि भएको पत्रकार सम्मेलनमा लामिछानेले विगतदेखि नै आफूलाई चारैतिरबाट घेरा हाल्ने काम भएको गुनासो गर्दै देश विदेश जता जाँदा पनि आफ्नो बाटोमा अवरोध आइरहेको बताए ।
विदेशबाट नेपाल फर्केर देशमा केही गरौँ भनेर सञ्चार कर्ममार्फत आम मानिसका समस्या समाधानको पहल गर्दा पनि विभिन्न आरोप लगाइएको उनले बताए । सञ्चार कर्मपछि राजनीतिमा आउँदा पनि नेपालका सञ्चारमाध्यमले निकै आलोचना र अवरोध गरिरहेको लामिछानेको गुनासो छ । तर उनले हार नमानेको भन्दै जनमतको कदर गर्ने र आशा उत्साहका साथ दिएको एक, एक भोट खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे ।
अहिले गृह मन्त्री नपाएकोले सरकारबाट बाहिरिएकोजस्तो गरेरमात्रै विश्लेषण र समाचार आइरहेको तर अहिले बाहिर देखाइएको विषय र वास्तविकतामा आकाश जमिनबीचको खाडल रहेको उनको भनाइ छ । उस्तै मुद्दामा अरू र आफूमाथि फरक व्यवहार भएको तर अदालतको फैसलाको स्वागत र स्वीकार गर्ने लामिछानेले बताए ।
बैठकले सरकारबाट बाहिरिने निर्णय लिए लगत्तै पत्रकार सम्मेलन गरेका उनले मिडियामाथि निकै आक्रोस पोखे । आफूले गृहमन्त्री सम्हाले लगत्तै चौतर्फी घेराबन्दी गरेको आरोप उनले आरोप लगाए । सम्मेलनमा उनले मिडिया र सम्पादको नामै किटेर तीनहरूको एक एक बदला लिने चेतावनी दिए ।
‘मन्त्री भए लगत्तै मलाई सिध्याउन ठूल्ठूला मिडियाहरू मेरा विरुद्ध लागे । मैले गरेको सानो कानुनी त्रुटिलाई ठूलै अपराध गरेजस्तो व्यवहार देखाए । यसको पछाडि स्वार्थ प्रेरितले काम गरेको छ । म गृहमन्त्रालयमा आए भने आफ्नो अपराध बाहिरिन्छ भन्ने डरले चौतर्फी घेराबन्दी गरे । तपाईंहरूले गृह नपाएर आक्रोस पोख्यो भन्नुहोला । जे सोच्नुहुन्छ सोच्नुस । अब म यीनिहरूका एक एक कर्तुत बाहिर ल्याउँछु’, उनले भने ।