Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जो पूर्व-पश्चिम राजमार्गमा उल्टो हिँड्दै

हाम्रो कोशी आवाज
माघ २४ २०७९, मंगलबार
जो पूर्व-पश्चिम राजमार्गमा उल्टो हिँड्दै

दमक: मेचीदेखि महाकालीसम्मको उल्टो यात्रामा निस्किएका बाँके, कोहलपुर नगरपालिका–७ का ४८ वर्षीय उल्टो पैदलयात्री रुपना थारू दिउँसो दमक आइपुगेका छन् । श्रीमती सम्झनाको सहयोगबाट थारूले गत माघ २१ गते पूर्वी नाका कांकडभिट्टाबाट महाकालीसम्मको एक हजारभन्दा बढी किलोमिटर उल्टो पदयात्रामा निस्किएका हुन् । दुई दिनमा उनले करिब ५२ किलोमिटर यात्रा पूरा गरेका छन् ।
सामान्य खेतीपाती गरी आएका थारू दम्पती दैनिक २०-२५ किलोमिटर पैदल हिँड्ने अटोठका साथ यात्रामा निस्किएका हुन् । दमकमा भेटिएका पदयात्री थारूले विश्वशान्तिको कामना गर्दै आफूले दुई महिनाभित्रमा महाकाली पुगेर पदयात्रा समापन गर्ने लक्ष्य लिएको बताए । पूर्वपश्चिम राजमार्गमा उल्टो हिँडेर आफ्नो लक्ष्य पूरा गर्ने आत्मविश्वासमा छन् रुपना । उनी भन्छन्, “उल्टो हिँडेर लक्ष्यमा पुग्न आफैँमा कठिन हो, तर पनि दुखी भने बिल्कुल छैन ।”
पदयात्रा सुरक्षित बनाउन आफैँ होसियारी अपनाउँछन् उनी । दिनभरि हिँडे पनि साँझ पर्नासाथ बाँस बस्ने बन्दोबस्ती गर्छन् थारू दम्पती । साँझ परेपछि राजमार्गमा सहजै हिँड्न सकिँदैन श्रीमानलाई बाटो देखाउँदै सुल्टो हिँडेर सहयोग गर्दै आएकी छन् सम्झना । उनको यात्रालाई सहजीकरण गरि आएको श्रीमती सम्झनाको भनाइ छ ।
पदयात्री थारूका अनुसार पदयात्रा हिँड्दा धेरै कठिनाइ हुन्छ । बाटोमा जङ्गलसमेत भएका हुँदा त्यस्ता ठाउँमा सुरक्षाको बन्दोबस्ती भए सहज हुने उनी बताउँछन् । नगरपालिकाले दिएको सिफारिस कागजपत्र देखाउँदै उनले दुई दिनमा राजमार्ग आसपासका ट्र«फिक प्रहरीले भने सहयोग पुर्याएको अनुभव सुनाउँछन् । यसरी नै सहयोग पाए पक्कै पनि मेरो यात्रा सहज हुने उनको आत्मविश्वास छ ।
यात्राका क्रममा बाटो आसपासका प्रहरी कार्यालयले खानेबस्ने बन्दोबस्ती गरिआएको बताउँदै पदयात्री रुपना भन्छन्, “बाटोमा हिँड्दै गरेको बेला स्थानीयबाट समेत उत्तिकै सहयोग, सद्भाव पाएको छु, यस्तै सहयोग पाए आभारी हुने थिए ।”
पदयात्रा हरेक मानिसको आ–आफ्नो रहर भए पनि यस कार्य भने फरक भएको उनको बुझाइ छ । मेरो उद्देश्य सारा पृथ्वीजगत्को कल्याणको छ, मनभरि यही कामना लिएर यात्रारत भएको उनले सुनाए । यात्रा काठमाडौँ पुग्ने र त्यसपछि महाकाली फर्किने तय गरेको समेत उनी बताउँछन् । उल्टो हिँडेर पशुपतिनाथ मन्दिरको पहिलोपटक दर्शन गर्ने इच्छा भएको भन्दै उनले त्यसलगत्तै महाकालीसम्मको आफ्नो गन्तव्यमा लाग्ने योजना बताए ।
आफूले यात्राका क्रममा देखेका भोगेका र विश्वशान्तिका सद्कर्मका बारेमा सामान्य भलाकुसारीसँगै अनुभव आदानप्रदान गरि आएका छन् । यो यात्राले आफ्नो जीवनलाई सतकर्ममा हिँड्न प्रेरणा दिने ठान्छन् उनी । उनले भने, “पूर्वमेचीदेखि पश्चिममा महाकालीसम्म फैलिएको मेरो देशलाई विश्वभर चिनाउन उल्टो पदयात्राले विश्वभर चिनाउने आशा लिएको छु ।”

प्रकाशित मिति: माघ २४ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend