Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘भ्यालेन्टाइन डे’ मा दिइने गुलाबको फूल समेत भारतकै भर

हाम्रो कोशी आवाज
माघ २६ २०७९, बिहिबार
‘भ्यालेन्टाइन डे’ मा दिइने गुलाबको फूल समेत भारतकै भर

धरानः हरेक वर्ष फेब्रुअरी १४ मा ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस मनाइन्छ । यस दिन आफूले मन पराएका आफ्नो प्रेमी/प्रेमिकालाई गुलाबको फूल दिएर माया साटासाट गर्ने गरिन्छ ।
पश्चिमा मुलुकबाट सुरु भएको भ्यालेन्टाइन डे नेपाली समाजले पनि सहज रूपमा लिइसकेको छ । पछिल्ला केही वर्ष यता नेपालमा युवा पुस्ताहरूले भ्यालेन्टाइन डे पनि चाडपर्व झैँ मनाउन गरेका छन् । भ्यालेन्टाइन डेको दिन गुलाफ, कार्ड लगायत उपहारहरू आदानप्रदान गरी मनाउने चलन छ ।
यो दिन प्रेमको प्रतीकको रूपमा रातो गुलाफको आदानप्रदान गरी प्रेम दर्साउने गरिन्छ । त्यसैले भ्यालेन्टाइन डेमा सबैभन्दा बढी गुलाबको फुल बिक्री हुन्छ । जसले गर्दा नेपाली बजारमा पनि त्यस बेला गुलाबको फुलको बिक्री धेरै हुने गर्छ ।
तर, नेपालीहरूले गुलाफ साटेर एक अर्कालाई माया गर्छु भन्ने अनुभूति दिलाउन पनि विदेशी फूलको सहारा लिनुपर्ने बाध्यता छ । नेपाली जोडीहरूले साटासाट गर्ने धेरैजसो गुलाब भारतबाट आयात हुने गरेको छ । आन्तरिक उत्पादन कमजोर रहेकोले नेपालीले भारतीय उत्पादनमा नै निर्भर हुनु परिरहेको छ ।
यस वर्षको प्रेम दिवस पनि भारतबाट आयात भएको गुलाबको फूलले मनाउनु पर्ने बाध्यता रहेको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष मीन बहादुर तामाङ बताउँछन् । नेपालमा गुलाब उत्पादन भने घट्दो रहेको बताउँदै उनले भने, ‘कोरोना महामारीपछि यस क्षेत्रमा बढेको लगानी छैन । जसले गर्दा नेपालमा गुलाबको उत्पादन घट्दो छ । बजारको माग धान्न गुलाबको फूल भारतबाट आयात गर्नु पर्ने बाध्यता छ ।’
गुलाबको नेपाली उत्पादन घट्दो छ तर, बजारमा गुलाबको माग बढ्दो रहेको छ । यस वर्ष माग भएको गुलाबमा नेपाली उत्पादन ७ प्रतिशत मात्रै रहेको छ भने बाँकी ९३ प्रतिशत भारतबाट आयात गर्नु पर्ने भएको छ । जबकि गत वर्ष मागको १० प्रतिशत आन्तरिक उत्पादनले धानेको थियो ।
प्रणय दिवसका अवसरमा सात दिनसम्म गुलाबको माग धेरै हुने गर्छ । यसमा पनि सबैभन्दा बढी जसो रातो गुलाबको माग हुन्छ । आयातित गुलाबको नै भए पनि व्यापार राम्रो हुनेमा व्यापारीहरू ढुक्क छन् ।
‘प्रेम दिवसका लागि दुई लाख ६० हजार स्टिम गुलाबको फूल भारतबाट आयात गरिने भएको छ । जसको मूल्य करिब एक करोड ६० लाख बराबरको हुने देखिन्छ’, अध्यक्ष तामाङले भने ।
त्यस्तै, उनले फूलको बजार मागको ६० प्रतिशत काठमाडौं उपत्यकाभित्र र बाँकी ४० प्रतिशत बाहिरी मुख्य सहरहरूमा खपत भएको जानकारी दिए । साथै उनले गुलाबको फूलको गुणस्तर अनुसार प्रति स्टिम ८० रुपैयाँदेखि एक सय २० रुपैयाँको हाराहारीमा बिक्री वितरण हुने समेत बताए । गत वर्ष प्रति स्टिम ८० रुपैयाँदेखि एक सय रुपैयाँसम्ममा बिक्री वितरण भएको थियो ।
कोरोना महामारी अगाडी नेपाली बजारमा मागको ८० प्रतिशत आन्तरिक उत्पादनले धान्ने गरेको थियो । तर, यस वर्ष भने आन्तरिक उत्पादन ७ प्रतिशत मात्रै रहेको छ । आयातित फूलसँग प्रतिस्पर्धा गर्न समस्या रहेका कारण नेपाली फूल उत्पादन बढ्न सकेको छैन । यस क्षेत्रमा लगानी बढ्न नसकेका कारण आयातित फूलको भरमा बजारको माग धान्नु पर्ने बाध्यता रहेको अध्यक्ष तामाङले स्वीकारे गरे ।
उनले भने, ‘गुलाबको माग नेपाली बजारमा बढ्दो छ । तर, उत्पादन बढ्न सकेको छैन । हामीले यस क्षेत्रमा लगानी मात्रै होइन प्रविधिमा समेत लगानी गरेका छैनौँ । बाह्रै महिना फूल फुलाउन सक्दैनौँ । चिसो मौसममा गुलाब कम फुल्छ । यसले गर्दा आयातको भर पर्नु पर्ने बाध्यता हामीलाई छ ।’
उनका अनुसार फ्लोरिकल्चरको क्षेत्रमा लगानीमैत्री नीति नै छैन । प्रविधिमा लगानी गरेर उत्पादन गर्ने हो भने पनि भारतबाट आयात भएका फूलसँग प्रतिस्पर्धा गर्न समस्या हुन्छ । भारतको उत्पादनले नेपालमा सहजै बजार पाउँछ । त्यसमा पनि सस्तोमा बिक्री हुने गर्छ । यहाँ प्रविधिमा लगानी गर्‍यो भने मूल्यमा केही वृद्धि हुन जान्छ । जसले गर्दा नेपाली उत्पादनले बजार पाउन सक्दैन ।
बजार नपाउने भएपछि उत्पादन गरेर जोखिम मात्रै बढ्ने भएकाले व्यवसायीहरूले फूल उत्पादनमा लगानी गर्न डराउने गरेको उनको भनाई छ । भारतीय फूल आयातमा कडाइ गर्नका लागि नेपाली व्यवसायीहरूले विभिन्न मन्त्रालय धाउँदा समेत सुनुवाइ हुन नसकेको उनले गुनासो गरे । भारतबाट आयात हुने फूललाई भन्सार दर बढाइदिने हो भने पनि नेपाली व्यवसायीले लगानी गरेर उत्पादन बढाउँछन् भन्दा समेत सम्बन्धी निकायले नसुनेको उनले बताए ।
हुन पनि भन्सारमा कडाइ गर्ने बित्तिकै नेपालमा भारतीय फूलको प्रवेश कम हुन्छ भन्न सकिने अवस्था छैन । किनभने नेपाल र भारत बिच खुल्ला सिमाना रहेका कारण पनि भन्सार दर बढाउने बित्तिकै अवैध मार्गबाट फूल भित्रिने देखिन्छ । अवैध मार्गबाट आएका फूलहरू झन् सस्तोमा बिक्री हुने देखिन्छ । यसले गर्दा न नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्छ न सरकारले भन्सार पाउँछ । सरकारले अवैध मार्गबाट आयात हुने फूललाई रोक्नु पर्ने र वैध मार्गबाट आउने आयातित फूलको भन्सार दर बढाइदिनु पर्ने उनले माग गरे ।

प्रकाशित मिति: माघ २६ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend