हामीले दैनिक जीवनमा भान्सामा प्रयोग गर्दै आइरहेको एलपी ग्यासको पनि एक्स्पायर मिति तोकिएको हुन्छ । यो मितिबारे ज्ञान नहुँदा पनि विष्फोटका घटना भइरहेका हुन्छन् । कतिपयले यसबारे ख्याल गरिरहेका हुँदैनन् ।
यसको मिति सकिएपछि निम्त्याउने खतरा पनि उत्तिकै भयावाह भएकाले सिलिण्डरको मिति पत्ता कसरी लगाउने भन्नेबारे सचेतना सबैमा हुनुपर्छ ।
सिलिण्डरको माथिको गोलो ह्याण्डललाई तलको भाँडोसँग जोड्ने ३ वटा सीधा चेप्टो डण्डी हुन्छ। त्यही डण्डीमा यसको अन्तिम मितीलाई पेन्ट गरिएको हुन्छ।
त्यो डण्डीमा अङ्ग्रेजी अक्षर A देखि D सम्मका कुनै अक्षरसँग दुई वटा अङ्क लेखिएको हुन्छ। हरेक तीन महिनालाई एउटा क्याटागोरीमा राखेर छुट्याइएको छ । त्यसैबाट अन्तिम मिती थाहा पाउन सकिन्छ। ती अक्षरले एक्सपाइर हुने महिनालाई सङ्केत गर्छन् ।
A – जनवरी देखि मार्च
B – अप्रील देखि जून
C – जुलाई देखि सेप्टेम्बर
D – अक्टोबर देखि डिसेम्बरजनवरी देखि डिसेम्बर सम्म । त्यस्तै अक्षरपछि लेखिएको अङ्कले एक्सपाइर हुने वर्षलाई सङ्केत गर्छ।
उदाहरणको लागि, तपाईंको सिलिण्डरमा ‘A १८’ लेखिएको छ। यसमा, A ले जनवरी देखि मार्च महिनालाई सङ्केत गर्दछ। अनि १८ ले सन् २०१८ को वर्षलाई जनाउँदछ। मतलब, तपाईंको सिलिण्डर सन् २०१८ को जनवरी देखि मार्च महिनासम्ममा एक्सपाइर हुन्छ।
यसबारे समयमै सचेत होऔं र अर्को पटक सिलिण्डर खरिद गर्दा या घरमा रहेको सिलिण्डरको अन्तिम मिति हेर्ने प्रयास गर्नुहोला ।
सिलिण्डर कसरी सुरक्षित गराउने ?
आयल निगमका अधिकारीहरुले दिएको टिप्सअनुसार भान्सामा ग्यासको जोखिम कम गर्ने उपाय यस्ता छन् :–
डिलरबाट ल्याउँदा वा लैजाँदा सिलिण्डर कुनै पनि अवस्थामा नगुडाउने ।
डिलरले घरसम्म ल्याइदिएको ग्यास चुहावटयुक्त छ कि छैन, परीक्षण गर्ने ।
भान्सामा सिलिण्डर सधैँ ठाडो बनाएर राख्ने ।
कुनै पनि अवस्थामा ग्यासलाई सुताएर वा कोल्टे पारेर वा घोप्ट्याएर प्रयोग नगर्ने ।
ग्यास चुल्होका लागि चाहिने रेगुलेटर, पाइप, चुल्हो, रबरहरु नेपाल सरकारले गुणस्तर प्रमाण पत्र जारी गरेको कम्पनीको मात्रै प्रयोग गर्ने ।
ग्यास चुल्होसँग सम्बन्धित उपकरणहरु सकेसम्म हरेक दुई वर्षमा फेर्ने । सिलिण्डरबाट चुल्होसम्म पु¥याउने पाइप अनिवार्य फेर्ने ।
खाना पकाइसकेपछि रेगुलेटर अनिवार्यरुपमा बन्द गर्ने ।
खाना पकाउँदा कोठाको झ्याल ढोका खुल्ला राख्ने, खाना पकाउन बस्दा सुतीको कपडा लगाएर बस्ने ।
दुर्घटना पहिचान र सतर्कता
सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाँही ग्यास चुहावट हुन सक्ने जोखिम रहन्छ । यस्तो अवस्थामा उपभोक्ताले तत्कालै अपनाउन सक्ने उपाय यस्ता छन् :–
ग्यासको सिलिण्डर भएको ठाउँमा एलपी ग्यासको तीखो गन्ध आयो भने ग्यास लिक भएको बुझ्नुपर्छ ।
ग्यासको तिखो गन्ध थाहा पाउनेबित्तिक्कै आगोका झिल्का निस्कने जस्तै–चुल्हो, लाइटर, सलाई, बिजुलीका प्लग, धुप जस्ता कुनै पनि उपकरण चलाउनु हुँदैन ।
ग्यास लिक भएको थाहा पाउने बितिक्कै पहिले रेगुलेटर र पछि चुल्होको निभ बन्द गर्नुपर्छ ।
ग्यास लिक भएको सिलिण्डर रेगुलेटरबाट छुटाएपछि सिलिण्डरमा हुने सुरक्षा क्याप लगाएर कोठा बाहिर राख्ने ।
ग्यासको अनावश्यक भण्डारण नगर्ने ।