बि.बि.सि. मास्टर सेफ यु.के.रिम्याच–२०२१ का बिजेता मास्टर सेफ सन्तोष साह सेफ नेपालको टिम सहित सनिबार धरानको यु.एन.नबोदय कलेजमा आए। टिममा उनी सहित मास्टर सेफ साई कुमार शर्मा, सेफ गणेश बहादुर ढकाल, सेफ लक्ष्मण प्रसाद भण्डारी लगायत थिए।
साह सहितको टिमलाई कलेजमा बि.एच.एम.अध्ययनरत बिद्यार्थीहरु, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, अध्यापक राम लिम्बू, नाम्लिङहाङ चेम्जोङ लगायतले खदा लगाएर स्वागत गरे। त्यस लगत्तै कलेजको सेमिनार हलमा बि.एच.एम.का विद्यार्थी र साह बिच अन्तरक्रीया सुरु भयो।सेफ नेपाल टिभी मार्फत “फुड रियालिटी शो“ गर्नका लागि स्थानिय मौलिक खानाका परिकारको खोजी गर्न आफ्नो टिमसहित प्रदेस १ भ्रमणको सिलसिलामा यु.एन. कलेज आएका साहले आफ्नो बिबिसी मास्टर सेफ कम्पिटिसनमा भाग लिदाको रोचक अनुभव सुनाए।
बिद्यार्थीहरुले उत्साहका साथ ध्यान दिएर साहका कुरा सुने। आफ्नो अनुभव सुनाए पछि साहले केही जिज्ञासा भए बिद्यार्थीहरुलाई सोध्न आग्रह गरे।बि.एच.एम. दोश्रो सेमेस्टरकी छात्रा सोनि गहतराजले साहलाई प्रश्न गरिन–“ तपाईलाई सानोमा यहि क्षेत्रमा लाग्छु भन्ने सोच थियो कि अन्य क्षेत्रमा? अनि यो क्षेत्रमा लाग्न कसले प्रेरणा दियो“? दोश्रो सेमेस्टरमै पढ्ने अर्का छात्रा हिमानी पोख्रेलले पनि साहलाई सफलताको अनुभव सुनाउन अनुरोध गरिन। सोनि र हिमानिको प्रश्न सुने पछि साहले आफ्नो सङ्घर्षका दिन सुनाउन सुरु गरे। सिरहाको कर्जन्हामा जन्मेका साहले एस.एल.सि. दिनु अघि सम्म घरमा खानको लागि नै धौ धौ पर्ने कुरा सुनाउदा बिद्यार्थीहरु केहिबेर भावुक पनि भए। सन २००० मा एस.एल.सि. दिएका साह परीक्षा सकिए लगत्तै कामको खोजिमा भारत गएका थिए। उनले भारतको एउटा फाईभ स्टार होटलमा भाडा माझ्ने काम सुरु गरे।
त्यसबेला आफ्नो तलब मासिक ९०० रुपैया रहेको उनले सुनाए। एस.एल.सि. को रिजल्ट आउदा आफू ३ बिषयमा फेल भएको थाहा पाए पछि साहले दोहोर्याएर परीक्षा नदिने निर्णय गरे र कामलाई नै निरन्तरता दिए। होटलमा काम गर्दाकै बखत उनले एक दिन ब्रीफकेस बोकेर आउदै गरेको एउटा मान्छेलाई देखेपछी त्यो मान्छे को हो भनेर बुझ्दै जादा होटलको मास्टर सेफ भएको पत्ता लागाए।उनले उक्त मास्टर सेफको तलब मासिक १६ हजार रुपैया भएको थाहा पाए ।त्यसपछि म पनि यस्तै मास्टर सेफ बनेरै छाड्छु भनेर कमिट्मेन्ट गरेको रोचक प्रसङ्ग उनले बिद्यार्थीहरुलाई सुनाए। “दृढ अठोटका साथ काम गर्यो भने के हुदैन र“–उनी भन्छन। अङ्ग्रेजी बिषय सहित ३ बिषयमा एस.एल.सि.फेल भएका साहले होटल म्यानेजमेन्ट कोर्स पूरा गरि आई.एल.टि.एस.को परीक्षा पास गरेर सन २०१० मा बेलायत गए। यसरी आफ्नो जीवनको टर्निङ पोइन्ट सुरु भएको रोचक प्रसङ्ग साहले सुनाए।
अन्तरक्रीया सकिए पछि उनले बिद्यार्थीहरुले तयार गरेको किराँती मौलिक खाना खाएको कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठले जानकारी दिए। किराँती खाना मीठो भएको र यसलाई अझै बिकास गर्दै लैजानु पर्नेमा साहले जोड दिए।राजधानी बाहिर भएर पनि होटल म्यानेजमेन्ट कलेज सन्चालन गरि पर्सनल हाइजिन देखि लिएर हरेक कुरामा यो स्तरको स्मार्ट बिद्यार्थीहरु बनाउन सफल भएको भन्दै मास्टर सेफ साहले कलेजको तारिफ गरे। बिबिसी मास्टर सेफ बाट प्रत्यक्ष रुपमा उहाका अनुभव र सफलताको सुत्र सुन्न पाउँदा बि.एच.एम.का बिद्यार्थीहरु अझ बढी उत्प्रेरित र लाभान्वित भएको क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले जानकारी दिए। बिबिसी मास्टर सेफ युके को रिम्याच बिजेता हुनु अघि बिबिसी मास्टर सेफ युके –२०२० को उनी उप–बिजेता भएका थिए। पाककलाको माध्यमबाट नेपाली मौलिक खानालाई बिश्वमाझ चिनाउन साहले विशेष योगदान पुर्याएका छन।
