Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा वडाध्यक्ष आएनन्, धरान-४ को मात्रै ७१ लाख गुम्दै, वडाध्यक्ष गुहार माग्दै पुगे

हाम्रो कोशी आवाज
बैशाख ४ २०८०, सोमबार
धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा वडाध्यक्ष आएनन्, धरान-४ को मात्रै ७१ लाख गुम्दै, वडाध्यक्ष गुहार माग्दै पुगे

धरान: धरान कार्यपालिकाको फेरि पनि स्थगित भएको छ ।
मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्रबिक्रम वेघा र तीनजना वडाध्यक्ष मात्रै उपस्थित भएपछि कार्यपालिका बैठक स्थगित भएको हो ।
गत चैतमै भएको कार्यपालिका बैठक एजेण्डामा प्रवेश नगरीकन स्थगित भएको थियो । सोमबार बोलाइएको बैठकमा धरान उपमहानगरपालिकाअन्तर्गत २० जना वडाध्यक्ष र ८ कार्यपालिका सदस्यमा मेयर, उपमेयर ३ वडाध्यक्षहरूको मात्रै उपस्थिति भएपछि गणपुरक संख्या अपुगको कारण स्थगित भएको हो ।
वडाध्यक्षहरु उपस्थित नहुने पहिल्यै जानकारी पाएपछि धरान–४ का वडाध्यक्ष भने गुहार माग्दै कार्यपालिका बैठक कक्षमा पुगेका छन् । धरान–४ का वडाध्यक्ष धनबहादुर राई बजेट फ्रिज हुने सम्भावना बढेर गएको देखेपछि उनी गुहार माग्दै त्यहाँ पुगेका हुन् ।
धरान–४ को खानेपानीका लागि को मात्रै संघ र प्रदेश सरकारबाट ७१ लाख रुपैयाँ आएको थियो । मेयर हर्कराज राई साम्पाङले कार्यपालिका बैठकले पास गर्ने भनेपछि उनी यसपटक कार्यपालिका बैठक बस्नेमा निश्चिन्त थिए । तर यसअघि नै कार्यपालिका बैठक नबस्ने सुइँको पाएपछि उनी रन्थनिँदै कार्यपालिका बैठक कक्षमा पुगेका हुन् । ‘धरान–४ जस्तो विकट वडाका लागि ७१ लाख ख्यालठट्टा होइन, मेयर सा’बले कार्यपालिका बैठकबाट पास गरौं न भन्नुभएको थियो, बैठक बस्न नसक्दा बजेट फ्रिज हुन सम्भावना बढेर गएको छ’, उनले भने, ‘बजेट कार्यान्वयन गर्ने समय दुई महिनाको छ, बजेट गुम्ने देखेपछि म बाध्य भएर त्यहाँ गुहार माग्न पुगेको हुँ ।’
गत चैतमा मेयर साम्पाङका स्वकीय सचिव सुदर्शन लिम्बूले वडाध्यक्षहरूलाई पठाएको पत्रको विषयमा वडाध्यक्षहरूले कुरा उठाएको थिए । सो विषयमै उनीहरुले हालसम्म अडान राख्दै आएका छन् । उनीहरुले सो सँगै पाँच बुँदे माग सम्बोधन गर्न माग समेत गर्दै आएका थिए । वडाध्यक्षलाई स्पष्टीकरण सोधिएको, स्वकीय सचिवलाई कारवाही हुनुपर्ने, कार्यपालिका बैठक तुरुन्त बोलाइनुपर्ने, संघ र प्रदेशसँग योजना मागको सिफारिस गर्नुपर्नेलगायतका पाँच बुँदे माग राखी वडाध्यक्षहरु चट्टानी अडानमै रहेका छन् ।
यी माग सम्बोधन नभएसम्म बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरू उपस्थित हुन नसक्ने धरान–१७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) ले अग्रिम सूचना दिएका थिए । बैठकमा मेयर हर्कराज राई, उपमेयर अइन्द्रविक्रम बेघा, धरान–६ का वडाध्यक्ष भुपेन्द्रप्रसाद भट्टराई, धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई र धरान–४ का वडाध्यक्ष धनबहादुर राई उपस्थित थिए ।
मेयर साम्पाङले भने आफ्नो फेसबुक पेजमार्फत् भोलि २ बजे नै फेरि कार्यपालिका बैठक डाकिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति: बैशाख ४ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend