पूर्व मेयरदेखि वडाध्यक्षसम्मको ‘अकुत सम्पत्ति’ छानविन गर्न माग, पूर्व मेयर, उपमेयर, ठूला कर्मचारीदेखि वडाध्यक्षसम्मको नामै तोकियो, वडाध्यक्षको भने छानीछानी नाम उच्चारण (१९ तस्वीर भिडियोसहित)
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङलाई ज्ञापनपत्र बुझाइएको छ ।
धरान उपमहानगरपालिका परिसरमा पुगेर सचेत धराने समूह र स्वतन्त्र नागरिक समाजले पूर्व मेयर, उपमेयरदेखि वडाध्यक्षसम्मको नामै किटेर उनीहरुको सम्पत्ति छानविन गर्नुपर्ने माग राखेको हो । स्वतन्त्र नागरिक समाजका उपाध्यक्ष समिर तामाङले उनीहरुले जोडेको सम्पत्ति हेर्दा अस्वभाविक लागेकोले त्यस्तो माग गरिएको बताए । ‘पहिला पहिला भुक्के चप्पलमा हिँड्ने उनीहरुको अहिले आएर जताततै सम्पत्ति देखिन्छ, कसरी थुप्रियो’, उनले भने, ‘यसको छानविनको माग गर्दै ज्ञापनपत्र बुझाएका हौं ।’
धरान–१८ स्थित ग्रिनटीमा भेला भएका उनीहरुले नारा–जुलुससहित उपमहानगरपालिका परिसरमा पुगेर मेयर साम्पाङलाई ज्ञापनपत्र बुझाएका थिए । धराने जनता एक होऔं, विकासमा भाँजो हाल्नेलाई बहिष्कार गरौं, भ्रष्टाचारी मुर्दावाद, जनता सचेत भइसके, पूर्व मेयर, उपमेयरदेखि वडाध्यक्षसम्मको अकुत सम्पत्ति छानविन गर, एडिबी परियोजनाको छानविन गर, जनताको श्रमअभियानमा तगारो हाल्ने होसियार, श्रमक्रान्ति जिन्दावाद, भ्रष्ट, दलाल होसियारलगायतका नारा लगाउँदै उनीहरु उपमहानगरपालिका परिसरमा पुगेका थिए ।
उनीहरुले पूर्व मेयरहरु मनोजकुमार मेन्याङ्बो, तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, धरान–१७ र १८ का वडाध्यक्ष मनोज भट्टराई र प्रविन राईको सम्पत्ति छानविन गर्न माग गर्दै ज्ञापनपत्र समेत बुझाएका थिए । यस्तै, धरान–१५ र १९ का वडाध्यक्ष नरेश इवारम र पूर्ण लिम्बू, कर्मचारीहरु खगेन्द्र खतिवडा, गणेश खतिवडा, रञ्जीत शाह, सुरज श्रेष्ठलगायतको पनि सम्पत्ति छानविन हुनुपर्ने माग ज्ञापनपत्रमा राखिएको छ । उनीहरुले वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले पटक–पटक कार्यपालिका बैठक अवरुद्ध गरेर धराने जनताको भावनामाथि खेलवाड गरिरहेको बताएका छन् । यदि वडाध्यक्षहरु नसुध्रिए वडावडामा अभियान चलाउने समाजका उपाध्यक्ष तामाङले चेतावनी समेत दिए ।
मेयरले चुनावको प्रतिबद्धता दोहोरयाए
मेयर साम्पाङले धराने जनतामाझ चुनावताका गरेको प्रतिबद्धता फेरि दोहोरयाएका छन् । हर्क साम्पाङले एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको प्रमाणित भए मलाई भानुचोकमा रेलिङमा बाँधेर जुत्ताले हिर्काउनु, कालो मोसो दल्दिनु, त्यसको तीनदिनमा म रिजाइन गर्छु, धरान छोड्छु, एक हप्तामा धरान छोड्छु, जिन्दगीमा सात पुस्ता कहिल्यै, कोही आउँदैन मेरो साखा–सन्तान । तस्वीरहरुः हाम्रो कोशी आवाज



















