Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गर्मीमा फ्रिजको चिसो पानी पिउदा स्वास्थ्यलाई कतिको उपयोगी

हाम्रो कोशी आवाज
बैशाख १४ २०८०, बिहिबार
गर्मीमा फ्रिजको चिसो पानी पिउदा स्वास्थ्यलाई कतिको उपयोगी

धरान: बाहिर घामबाट घरमा फर्किएपछि फ्रिजको चिसो पानी पिउन कसलाई मन नपर्ला ? गर्मीसँगै थकाइले प्यास लागिरहेको अवस्थामा चिसो पानीले घाँटी भिजाउनुको मज्जा नै बेग्लै हुन्छ ।

तर चिसो पानी पिउँदा स्वास्थ्यलाई हानि गर्छ कि गर्दैन भन्नेमा भने धेरैको ध्यान पुगेको हुँदैन । यसै सन्दर्भलाई लिएर भएका विभिन्न अध्ययन अनुसन्धानले भने घामबाट धापिएर आउने बित्तिकै चिसो पानी खाँदा स्वास्थ्यलाई असर पर्न सक्ने देखाएका छन् ।

त्यसो भए चिसो पानी खान हुँदैन त

पोषणविद् योगिता सापकोटाले सधैं चिसो पानी खाने स्वस्थ व्यक्तिलाई खासै फरक नपर्ने भएपछि बिरामीमा नकारात्मक प्रभाव पार्ने बताउँछिन् । यस्तै, मेडिकलन्युज टुडेमा प्रकाशित लेखमा भनिएको छ, ‘आयुर्वेदिक विज्ञान अनुसार चिसो पानी पिउँदा शरीरमा तापक्रम असन्तुलन हुन्छ, जसले गर्दा थप ऊर्जा शरीरलाई चाहिन्छ । यसले पाचनप्रक्रिया सुस्त हुन्छ ।’

चिसो पानीको तुलनामा तातो वा मनतातो पानीले खानेकुरा पचाउन सहज हुने लेखमा उल्लेख छ । चिसो पानीले एकाल्सीया (खानानलीमा हुने समस्या) हुने व्यक्तिलाई हानि गर्ने जर्नल अफ न्युरोग्यास्ट्रोइन्ट्रोलोजी एण्ड मोटोलिटिमा प्रकाशित लेखमा उल्लेख छ ।

पाचनमा प्रभाव

पोषणविद् सापकोटाका अनुसार केही अध्ययनले शरीरले कुनै पनि पदार्थलाई आफ्नो तापक्रममा ल्याउने तर अति कम तापक्रमको खानेकुरालाई पनि शरीरले तापक्रम अनुसार ढाल्न थाल्छ । जसले प्रक्रियालाई सुस्त बनाउँछ र अपचको समस्या निम्त्याउँछ ।

घाँटी दुख्ने समस्या

चिसो पानी पिउँदा घाँटी दुख्ने र आवाज परिवर्तन हुने आम समस्या नै हो । सधैं चिसो पानी पिउनेलाई भन्दा कहिलेकाहीं पिउनेलाई घाँटी दुख्ने समस्या बढी हुने सापकोटा बताउँछिन् ।

हृदय गतिमा प्रभाव

एक्कासि घामबाट धापिएर आएर चिसो पानी खाँदा शरीरको मुटुको धड्कन पनि कम गर्न सक्ने एक अध्ययनले देखाएको छ । फ्रिजको चिसो पानी बढी पिउनाले दशौं क्रेनियल नर्भ (भ्यागस नर्भ) उत्तेजित हुन्छ र कम तापक्रमको पानीको असर सिधै भ्यागस नर्भमा पर्छ । जसकारण मुटुको धड्कन घट्ने हुन्छ ।

टाउकोमा समस्या

चिसो पानी वा आइस पानी पिउँदा मेरुदण्डका संवेदनशील स्नायुहरूलाई चिसो पार्न सक्ने सापकोटा बताउँछिन् । जसले टाउको दुख्ने, अनुहार र कपालको मांसपेशी अचानक संकुचित गर्न सक्ने उनी बताउँछिन् । ‘तर पनि यसको अध्ययनको ठोस निचोड भने निस्किसकेको छैन,’ उनी भन्छिन् ।

दाँतमा समस्या

फ्रिजको चिसो पानीले दाँतमा असर गर्न सक्ने दन्त चिकित्सक डा. मनिषा खर्बुजा बताउँछिन् । ‘चिसो खानेकुरा वा सफ्ट ड्रिंक्स पिउँदा दाँतको इनामेल नष्ट हुन सक्छ, उनी भन्छिन्, ‘दाँतको इनामेल पहिले नै खिइसकेको अवस्थामा धेरै चिसो पानीले डेन्टिनका छिद्र हुँदै पल्पमा भएका स्नायुलाई उत्तेजित पारेर दाँत दुख्ने वा सिरिङसिरिङ भएको महसुस हुन सक्छ ।’ यद्यपि कहिलेकाहीं फ्रिजको चिसो पानी पिउँदा त्यति फरक नपर्ने उनी बताउँछिन् । मनिषा थापा

 

प्रकाशित मिति: बैशाख १४ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend