धरानः धरानका विभिन्न राजनीतिक दलका युवा संगठनमा आवद्ध युवाहरुले मेयर हर्क साम्पाङलाई ८ वटा प्रश्न गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
आज एमाले निकट राष्ट्रिय युवा संघ, नेपाली काङ्ग्रेस आवद्ध तरुण दल, माओवादी आवद्ध वाइसीएल, संघीय लिम्बुवान आवद्ध लिम्बुवान युवा मञ्च र जसपा आवद्ध समाजवादी युवा सङ्गठनले मेयर साम्पाङलाई ज्ञापनपत्र बुझाएको हो ।
नगर प्रमुख ज्यू
धरान उपमहानगरपालिकाको कार्यालय
धरान, सुनसरी
विषय: ध्यानाकर्षण गराइकोबारे ।
लोकतान्त्रिक अधिकारका लागि राजनीतिक दलहरुले गरेको लामो संघर्षमा लाखौँ युवाहरुले रगत पसिना बगाएका छन् । संयौं युवाहरुले आफ्नो ज्यानको आहुती दिएका छन् । युवाहरुको त्याग र .बलिदानीले प्राप्त लोकतन्त्रको जगमा सम्पन्न निर्वाचन र जनताको मतले नगरप्रमुख बन्नु भएको छ । विचार र राजनीति फरक हुनसक्छ तर तपाई, हामी सबैको अभिभावक हो र हामीले सदैव पदको मर्यादालाई स्विकार गरेका छौं । उपमहानगरको प्रमुखको यो पदप्रति सधैं उच्च सम्मान रहने अवगत गराउदछौं ।
नगर प्रमुखबाट पछिल्लो समय सार्वजनिक भएका अभिव्यक्ति, व्यवहार र गतिविधिका कारण नेपालकै सुन्दर सहर धरान बारे नकारात्मक टिप्पणीहरु सुनिन थालिएको छ । युवाहरुलाई गुण्डाको संज्ञा दिने, दलका झोले र झ्यास्झुस् भन्ने, गुँइठे जस्ता गलत शब्द प्रयोग गर्ने, थुक्ने जस्ता क्रियाकलापप्रति सम्पूर्ण धराने युवाहरुको गम्भिर ध्यानाकर्षण भएको छ । नगरका अभिभावकका रुपमा तपाँइका यस्ता गतिविधि सभ्य समाजका लागि अशोभनिय छ । यस्ता गलत हर्कत तत्काल सच्याउन आग्रह गर्दछौं ।
एकवर्षे कार्यकालको समिक्षा धराने जनताले गर्ने नै छन् । राम्रा कामको समर्थन र गलत कामको आलोचना हुनु स्वभाविक छ । युवाहरुलाई सकारात्मक कामतर्फ अग्रसर गराउनु पर्ने व्यक्तिले युवाहरुलाई गुण्डाको उपमा दिने, झोले जस्ता तुच्छ शब्दावली प्रयोगले युवाहरुलाई उत्तेजित बनाउँदछ । यस्ता अमर्यादित शब्द तत्काल फिर्ता लिँदै सार्वजनिक रुपमा माफी माग्न अपिल गर्दछौँ ।
साथै, निम्न विषयहरुको निरुपणका लागि अपिल गर्दछौं ।
१. खानेपानी समस्या समाधानका लागि तपाईले गरिरहनु भएका कामहरु सकारात्मक छन् । तर, कोकाहा, सर्दु, खर्दु, पकुवा लगायतका खानेपानी परियोजनाका लागि कार्यपालिकाका निर्णयहरु र कानुनी प्रकृया, सहमति र समग्र परियोजनाको आधारहरु के के हुन् ?
२. धरान खानेपानी व्यवस्थापन बोर्डमा तपाई नगर प्रमुखको हैसियतमा सदस्य हुनुहुन्छ बोर्डले हालसम्म गरेका कामहरुको बैधानिकता के हो ? । बैठक नबसी बोर्डले हालसम्म गरेका करोडौं खर्च कसरी गरिरहेको छ ? खानेपानीका विभिन्न परिजनाहरुका सन्दर्भमा कस्ता कस्ता निर्णयहरु भएका छन् ? र बोर्डको आयव्यय विवरण सार्वजनिक गर्ने काम अहिलेसम्म किन भएन ? बोर्डको अध्यक्ष अहिलेसम्म किन चयन गर्न सकिएन ?
३. कोकाहा र पकुवाको पानी ल्याउन चालिएको अभियान सकारात्मक छ । तर, पाइप खरिदका नाममा देश विदेशबाट प्राप्त भएको रकम र दाताहरुको नाम अहिलेसम्म सार्वजनिक किन हुन नसकेको होला ? ।
४. धरानको खानेपानीको लागि दाताहरुले दिने सहयोग रकम बाणिज्य बैंकको खातामा जम्मा गर्ने कार्यपालिका बैठकबाट नगर प्रमुखको हैसियतले तपाँईकै प्रस्तावमा पारित गरि खाता नम्बर समेत सार्वजनिक गरिएको थियो । तर, संस्थागत बैंक खातामा रकम जम्मा नगरी व्यक्तिगत रुपमा रकम ग्रहण गर्नु र विवरण समेत सार्वजनिक नगर्नु भ्रष्टाचार होकि होइन ? अरुलाई पारदर्शीताको पाठ सिकाउनेले आफै चाँही पारदर्शी हुनु पर्ने कि नपर्ने ? ।
५. कार्यपालिकाको बैठक नियमित हुन नसक्नुको मूल कारण के हो र को को हो ?
६. वडाका अध्यक्षहरु पनि तपाँइजस्तै निर्वाचित भएर आएका जनताका प्रतिनिधिहरु हुन् । वडा अध्यक्षहरुलाई अख्तियारको दुरुपयोग गर्दै पत्र काटेर निर्देशन दिने तपाँइको सचिवालयका सदस्यलाई के कारबाही गर्नु भयो ? या तपाइको निर्देशनमै भएको हो भने गलत काम गराएकामा तपाइले कहिले माफि माग्नुभयो ?
७. धरान र इटहरीको सिमा विवाद पूर्ववर्ती नगर प्रमुखहरु भएकै समयदेखिको हो । सिमा विवाद चाँडै किनारा लागाउनु पर्छ । तर, यो काम अघि कार्यपालिकाका सबै सदस्यहरुलाई कहिले जानकारी गराउनु भएको थियो ? यसअघि पनि सिमा विवाद भएको र त्यसबेला दुई उपमहानगरबीच भएको समझदारीको ख्याल किन गर्नुभएन ? धरान उपमहानगरपालिका तर्फबाट दलहरु, पूर्व जनप्रतिनिधिहरु, बुद्धिजीवी र छिमेकी उपमहानगरका समकक्षिसंग कहिले छलफल गर्नुभयो ?
८. नियमित कार्यपालिकाको बैठक अवरोध हुनु, धरानको विकासका समग्र प्रकृयामा अवरोध आउनु, धरानका बारेमा नकारात्मक सन्देश प्रवाह हुनुमा म प्रमुखको हैसियतमा मेरो पनि दोष छ भन्ने सोँच मनमा आउँछकी आउदैन होला ?
नगर प्रमुख ज्यू,
यो हाम्रो मात्रै जिज्ञासा होइन आम धराने जनताको जिज्ञासा हो । यो स्वयम तपाइको पनि जिज्ञासा हो । सस्तो लोकप्रियता र क्षणिक आत्मरतिले कसैलाई पनि दिर्घकालिन हित गर्दैन । हामी अनुरोध गर्न चाहान्छौ जनताबीच द्धन्द्ध चर्काउने, एकापसमा लडाउने र भिडाउने षड्यन्त्र नगर्न आग्रह गर्दछौं ।
अन्तमा, दम्भ र घमण्ड त्याग्दै आफुलाई संयमित बनाउँन आग्रह गर्दछौं । सच्चा र जिम्मेवार जनप्रतिनिधिका रुपमा धराने जनताका अभिभावक बन्न अनुरोध गर्दछौं । अन्यथा तानाशाह र निरंकुशतन्त्रलाई तह लगाउन सक्ने क्षमता भएका युवाहरुले मै सरकार, मै कानुन जस्तो व्यवहार गर्ने नगर प्रमुखलाई ठिक ठाँउमा ल्याउन कुनै कसुर बाँकी राख्ने छैन भन्ने अपिल गर्दछौं ।
हार्दिक शुभेच्छा सहित ।
……………………
बिक्रम तामाङ
उपाध्यक्ष
नेपाल तरुण दल
धरान उपमहानगर समिति …………………….
भवानी भक्त दाहाल
अध्यक्ष
राष्ट्रिय युवा संघ नेपाल
धरान उपमहानगर कमिटी ………………….
दिपक घिसिङ
अध्यक्ष
वाइ सि एल नेपाल
धरान उपमहानगर किमिटी
……………………..
रमेश राई
अध्यक्ष
लिम्बूवान युवा मञ्च
धरान उपमहानगर कमिटी
……………..
रन्जीत राई
अध्यक्ष
समाजवादी युवा संगठन
धरान उपमहानगर कमिटी
