विराटनगरः नेपाल अर्बुद रोग बिजेता समाजको आयोजना तथा कोशी प्रदेश प्रहरी श्रीमती संघको सहकार्यमा १ दिने पाठेघर तथा स्तन क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कोशी प्रदेश प्रहरी श्रीमती संघकी कोषाध्यक्ष श्रीमती सिर्जना नेपाल दाहालको प्रमुख आतिथ्यतमा प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा सम्पन्न भएको कार्यक्रममा विशेषगरी महिला प्रहरी कर्मचारीहरु, तथा प्रहरी परिवारका सदस्यहरु र कोशी प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरुका साथै अन्य प्रहरी कर्मचारीहरु गरी १५० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल क्यान्सर सरभाइबर सोसाईटीको अध्यक्ष प्रतिमा खनाल, विराट मेडिकल कलेज टिचिङ हस्पिटलका डा. अस्मिता रायमाझी, विराट मेडिकल कलेज टिचिङ हस्पिटलका डा. ज्योति ओझा र नेपाल क्यान्सर सरभाइबर सोसाइटीको बोर्ड सदस्य पूजा कुँवरले आ–आफ्नो अनुभवसहित प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी श्रीमती संघको तर्फबाट नेपाल अर्बुद रोग बिजेता समाजलाई सहयोग स्वरुप नगद रु १० हजार सहयोग प्रदान गर्दै श्रीमती संघकी कोषाध्यक्ष श्रीमती सिर्जना नेपाल दाहालले नेपाल प्रहरी कर्मचारीहरु तथा आश्रित परिवारजनहरुले महिलाहरुमा हुने क्यान्सर रोगसम्बन्धी ज्ञान हासिल एवं विशेषज्ञ चिकित्सकहरुबाट राय, सुझाब प्राप्त गरी लाभान्वित भएको र सचेतना कार्यक्रममा सहकार्य गर्न पाउँदा मनोबल बढेको महसुस भएको बताए ।
